तनहुँको खैरेनीटारमा आजबाट शुक्लागण्डकी महोत्सव-२०७९ सञ्चालन
भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आजबाट शुक्लागण्डकी महोत्सव २०७९ सञ्चालन हुँदै छ । फागुन २९ गतेसम्म खैरेनीटार बजारमा सञ्चालन हुने महोत्सवको आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन शुक्लागण्डकी महोत्सव कला, सिप र संस्कृतिको संरक्षण’ भन्ने नाराको साथ महोत्सव गर्न लागिएको हो ।
महोत्सवबारे जानकारी गराउने उद्देश्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव निर्देशक समुन्द्रराम श्रेष्ठले महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवर्द्धनमा जोड दिदै स्थानीय कलाकारहरुलाई पहिलो प्राथमिकतामा राखेर महोत्सव सञ्चालन गर्न लागिको बताए । उनले भने, ‘यस पटक ठेक्काको महोत्सव नभई आयोजकले नै संचालन गर्ने भएकाले सबैको सकारात्मक सहयोगमा महोत्सव सञ्चालन हुने र यसको आवश्यक तयारी पुरा गरिएको छ ।’
महोत्सवमा विभिन्न आकर्षक कार्यक्रमहरु थपिएको र गत बर्षरुमा गरिएको कार्यक्रमहरुलाई नयाँढङ्गले प्रस्तुत गर्ने तयारी भएको निर्देशक श्रेष्ठले बताए ।
उनका अनुसार महोत्सवमा राष्ट्रियस्तरका खुला नृत्य प्रतियोगीता, लोक गायन प्रतियोगिता, कौराहा नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, विभिन्न जातजातिको झाँकी प्रदर्शन, पालिकास्तरीय भलिबल प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता गरिने भएको छ ।
त्यस्तै, दगाम भुजिकोट डाँडाको अवलोकन, मिलेनियम ट्रेकमा पदयात्रा, तीनखोले देवी, अकला मन्दिर, ढोरबाराही मन्दिर, मुलबाराही मन्दिरको दर्शन एव अवलोकन, भिमादस्थित भागरमा रहेको सिद्ध गुफा, धन्दुर गुफाको अवलोकन र रक गार्डेनको भ्रमण गराइने भएको छ ।
महोत्सव सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरिएको छ । महोत्सव अवधिमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमलप्रसाद रिमालले सबैको सकारात्मक सहयोगले महोत्सव सफल हुने भन्दै सोही अनुसार साथ र सहयोगको अपेक्षा गरिएको बताए ।
महोत्सवबाट भएको आम्दानीले सामाजिक क्षेत्रमा लगाइने आयोजकले जनाएको छ महोत्सव अवलोकनका लागि साधारण टिकट रु. ७०, विद्यार्थीहरुलाई रु. ५० र कन्सर्टका लागि रु. ३०० रुपैयाँ तोकिएको छ । महोत्सवमा स्थानीय व्यापारीहरुलाई स्टलमा २५ प्रतिशत छुट दिइने र कृषि तथा घरेलु उत्पादन लाई निःशुल्क स्टल उपलब्ध गराउने आयोजकले बताएको छ ।