मर्स्याङ्दी कोरिडोरका १४ पालिका एकै ठाउँमा, एकीकृत विकासका लागि साझा कार्यक्रम गरिने

तनहुँ । जलविद्युतका लागि महत्त्वपूर्ण मर्स्याङ्दी जलाधार क्षेत्रको एकीकृत विकास गर्न स्थानीय सरकारहरू एकै ठाउँमा जुटेका छन् । गोरखा, लमजुङ, तनहुँ र मनाङका १४ स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकले एकीकृत विकासका लागि साझा धारणा सार्वजनिक गरेका हुन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित खानीगाउँमा बसेको बैठकले ५ बुँदे निर्णय गरी सम्बन्धित निकायमा दबाबको घोषणा गरेका छन् । ‘पालिकाले गर्न सक्ने काम यतै गर्छौं । नसकेका काममा संघ र प्रदेशसँग अनुरोध गर्ने भन्ने छ । खासगरी शिक्षा र कोरिडोर क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि हाम्रो ध्यान केन्द्रित भएको छ,’ बैठकका अध्यक्ष तथा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले भने, ‘प्राविधिक शिक्षामार्फत गाउँको बसाइँलाई फलदायी बनाउने र उत्पादनमा आधारित कार्यक्रम लागू गर्ने हाम्रो साझा विषय हो ।’

बैठकले भदौभित्रै सुन्दर बजारमा शैक्षिक गोष्ठी आयोजना गर्ने, वर्षाका कारण भएको धनजनको क्षतिको तत्काल राहत उपलब्ध गराउने, भदौमा काठमाडौँमा पूर्वप्रधानमन्त्री र मन्त्री, सांसद, स्थानीय जनप्रतिनिधि, विज्ञहरूको उपस्थितिमा स्कुल अफ म्यानेजमेण्टको बैठक बस्ने निर्णय गरिएको त्रिपाठीले जानकारी दिए ।

यसअघिको बैठकले सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण कोइरालाको अध्यक्षतामा शिक्षा उपसमिति गठन गरेकोमा समितिले कोरिडोर क्षेत्रका विद्यालयको अवस्था र स्थायित्वका लागि आवश्यक सुझाव सहितको प्रतिवेदन पेस गरेको छ । यस्तै, करिडोरका पालिकाहरूबिचको सहकार्यलाई मजवुद बनाउँदै लैजाने निर्णय गरिएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सुनाए । ‘धेरै पालिकाहरू मिलेर कुन क्षेत्रमा लगानी गर्न सकिन्छ र कसरी एकीकृत विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित छ,’ उनले भने, ‘यसबाट अन्तरपालिका असल अभ्यासको आदानप्रदान र कमजोरी सुधार्न पनि सहयोग पुगेको छ ।’

खासगरी फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स र दमकल सञ्चालन, उद्योग स्थापना र सञ्चालन जस्ता क्षेत्रमा पालिकाहरूले एकीकृत रूपमा काम गर्न सकिने छलफलका सहभागीहरूले सुझाएका छन् । समितिमा १४ पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत सदस्य छन् । गोरखाको पालुङटार, गोरखा नगरपालिका र शहिद लखन गाउँपालिका, तनहुँको भानु नगरपालिका, बन्दिपुर र आँबुखैरेनी गाउँपालिका, लमजुङको राइनास, सुन्दरबजार र बेंशीसहर नगरपालिका तथा दोर्दी र मर्स्याङ्दी गाउँपालिका, मनाङको नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिका सदस्य छन् । समितिको अर्को बैठक कात्तिकको ९, १० र ११ गते चामेमा बस्ने निर्णय भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker