व्यासको दोभानले जित्यो जिल्लास्तरीय लिगको उपाधि
भञ्ज्याङ न्यूज

तनहुँको भिमाद नगरपालिका स्थित भिमाद रङ्गशालामा सञ्चालन गरिएको जिल्लास्तरीय लिग फुटलबल प्रतियोगिताको उपाधि व्यास नगरपालिकाको दोभान युवा क्लवले प्राप्त गर्न सफल भएको छ ।
तनहुँ जिल्ला फुटबल संघ -एन्फा) को आयोजना र भिमाद युवा क्लवको समन्वयमा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा बन्दिपुरको अजम्बरी युवा क्लवलाई पराजित गर्दै दोभानले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
प्रतियोगिताको पहिलो हाफमा अजम्बरीले एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा दोभानले एक गोल फर्काएपछि निर्धारित समय एक/एक गोलमा सिमित भएको थियो । निर्धारित समयमा दुबैको बराबरी गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा दोभानले ४-१ ले अजम्बरीलाई पराजित गरेको हो ।
प्रतियोगिताको सेमिफाइनलमा भिमाद युवा क्लवलाई पराजित गर्दै दोभान फाइनलमा पुगेको थियो भने खैरेनीटार युवा क्लवलाई हराउँदै अजम्बरी फाइनलमा आइपुगेको थियो ।
उपाधिसँगै दोभानले नगद एक लाख र उपविजेता अजम्बरीले नगद ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा जिल्लाका दश समूहको सहभागिता रहेको थियो ।
यस्तै, विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकासका लागि सरकारले ठूलो लगानी गरेको बताए । खेल क्षेत्रकै कारण नेपाल अन्तर्राष्ट्रिय स्तरमा चिनिन सफल भएको र युवाहरुलाई खेल क्षेत्रमा आकषिर्त गर्नुपर्नेमा जोड दिएका थिए ।










