बन्दिपुर गाउँपालिका-४ डुम्रे बजारस्थित व्यापारिक केन्द्र सञ्चालन भएन
भञ्ज्याङ समाचारदाता (डुम्रे)
पशुपन्छी तथा कृषि बजार व्यवस्थापनका लागि बन्दिपुर गाउँपालिका-४ डुम्रे बजारस्थित निर्माण गरिएको व्यापारिक बजार केन्द्र सञ्चालनमा आउन सकेको छैन । डुम्रे भन्सार नयाँ शहर आयोजनाले व्यपारिक बजार केन्द्र निर्माण गरेर गाउँपालिकालाई बुझाएको झण्डै डेढ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो । अव्यवस्थितरुपमा पशुपन्छी र कृषि बजार सञ्चालन हुँदा बजार क्षेत्रमा दुर्गन्ध बढ्नाका साथै अशोभनीय देखिएकाले त्यसका लागि छुट्टै व्यवस्थित बजार बनाउन लागेको हो । आयोजनाले विसं ०७४ जेठ १० गते सम्झौता गरी विसं ०७६ जेठ ७ मा सो केन्द्रको निर्माण सम्पन्न गरेको थियो । विसं ०७६ असोज ९ गते सो केन्द्र गाउँपालिकालाई हस्तान्तरण गरिसकेको आयोजनाका इन्जिनीयर मनोज पन्थले जानकारी दिनुभयो ।
शुरुका दुइतीन महिना भाडा नलिने र त्यसपछि भाडादर कायम गरेर भए पनि व्यवसाय सञ्चालनका लागि गाउँपालिकाले पहल थाल्नुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो । रु एक करोड १६ लाख १० हजार ५६९ लागतमा तरकारी बजारका लागि ११ र मासु बजारका लागि पाँचवटा सटर निर्माण गरिएको उहाँले बताउनुभयो ।
करीब पाँच रोपनी सार्वजनिक क्षेत्रफलमा पशु र तरकारी पसललाई व्यवस्थित गर्नका लागि बजार केन्द्र निर्माण गरिएको हो । किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण सहज गराउने उद्देश्यले भवन निर्माण गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । सोही स्थानमा बन्दिपुर गाउँपालिकाले समेत रु ३२ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि सटरहरु बनाएको छ ।
संघीय सरकारको रु तीन करोडको लागतमा सो स्थानमा चिस्यान केन्द्र निर्माण गर्नका लागि पहिलो वर्ष रु एक करोड विनियोजन भइसकेको अध्यक्ष थापाले बताउनुभयो । हाल निर्माण गरिएको बजार केन्द्र एकान्त स्थान भएकाले व्यापार नहुने डरले पनि व्यवसायीहरु त्यहाँ जानका लागि चासो नदेखाएको हुन सक्ने गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग विस्तार गर्ने अभियानपछि मात्रै उक्त स्थानमा व्यापारीहरु जान सक्ने अवस्था देखिएको बताइएको छ । रासस










