वडा अध्यक्षले सचिव कुटे, सचिवले कमिसन मागेको आरोप

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले सोमबार बिहान सोही वडाका सचिव नवीन भुषाललाई कार्यकक्षमा कुटपिट गरेका छन् ।
कुटपिटबाट घाइते सचिव भुषाललाई बन्दीपुर अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचार र परिक्षणको लागि सोमबारै चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । वडा अध्यक्ष गुरुङलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतका अनुसार उक्त घटना कमिसनको कारण सिर्जना भएको बुझिएको छ । गत साता सम्पन्न वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको बिल पास गरी भुक्तानीको लागि पहल गर्ने क्रममा सचिव भुषालले वडा अध्यक्ष गुरुङसंग कमिसन मागेपछि आक्रोसित बनेका वडा अध्यक्ष गुरुङले सचिव भुषाललाई झापड हानेको खुलेको छ ।
सोही प्रतियोगिताको भुक्तानी लिने प्रक्रियाकालागि आईतवार वडा अध्यक्ष गुरुङ र सचिव भुषालसंगै एउटै मोटरसाइकलमा गाउँपालिका आएका थिए। गाउँ पालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायतसंग छलफल पश्चात् पुनः दुबैजनासंगै वडा कार्यालय फर्किए । उक्त विषयमा दुबै जना पुनः मंगलबार गाउँपालिका जाने सल्लाह भएको स्रोतले बताएको छ ।
वडा अध्यक्षले सोमबार बिहान वडा कार्यालय खुलेपछि उक्त भुक्तानीको फाईलमा हस्ताक्षर गर्न सचिवलाई अनुरोध गर्दा सचिवले मलाई कति कमिसन आउँछ ? भन्ने प्रश्न गरेको वडाअध्यक्ष गुरुङले बताए । सचिवले कमिसन आउने भए सही गर्छु नत्र गर्दिन भनेपछि आफुलाई रिस उठेपछि एक झापड हानेको गुरुङले बताएका छन् । उक्त विषयमा जानकारी लिनको लागि सचिव भुषालसँग भने सम्पर्क हुन सकेको छैन ।
यसैबीच तनहुँ जिल्लामा क्रियाशील निजामती कर्मचारीका विभिन्न संगठनले सचिवलाई कुटपिट गर्ने वडा अध्यक्ष गुरुङलाई कारवाहीको माग गरेका छन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भगवान त्रिपाठी, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तिर्थ थापा र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले संयुक्त विज्ञप्ति प्रकाशित गरी कुटपिटमा संलग्न वडा अध्यक्ष गुरुङलाई कारवाहीको माग गरेका छन् ।
यस्तै, यस सम्बन्धमा अध्यक्ष गुरूङसंग सम्पर्क गर्दा तीन झापड गालामा हानेको तर दुई पटक लागेको बताए । अतिनैँ भएपछि हात छोडेको हुँ उनले भने । अध्यक्ष गुरूङका अनुसार केही दिन अगाडि तेस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिता भएको थियो। उक्त प्रतियोगिता बारेमा वडा सचिव भुसाललाई जानकारी गराएको थिएँ, उनी बिदामा थिए । पछि बिदाबाट फर्केपछि कुरा गर्दा यो बिल पास हुँदैन, बिल पास गर्न मलाई कति कमिसन आउँछ भन्ने जवाफ फर्काएको उनले बताए । तपाईंलाई कति आयो भन्दै वडाध्यक्षलाइ भनेको, पहिलो र दोस्रो कप गर्दा पास हुँदै आएको बिल अहिले अल्झाउने, पास हुँदैन भन्ने जस्ता कुरा गरेको अध्यक्ष गुरूङले बताए ।
पालिकाका अध्यक्ष, उपाध्यक्ष सबै सहभागी भइ भब्य रूपमा सम्पन्न भएको कार्यक्रमबारे मलाई थाहा छैन भन्ने गरेको भन्दै उनले राम्रो मुखले भन्दा नमानेपछि बाध्य भएर हात छोडेको बताए । उधारोमा कार्यक्रम चलाएपछि तिर्ने ठाउँमा तिर्न समयमै बिल पास हुनपर्याेनी उनले भने । अध्यक्ष गुरूङ एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker