भानुमा गाईभैँसीको थुनेलो परीक्षण

भानु : तनहुँको भानु नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले व्यावसायिक किसानका गाईभैँसीको दूधको नमूना संकलन गरी परीक्षण गरेको छ । शाखाले पशुहरूमा हुने थुनेलो रोग रोकथामका लागि परीक्षण गरी किसानलाई औषधि तथा उपचार सामग्री निःशुल्क उपलब्ध गराएको हो ।
नगरपालिकाले आयोजना गरेको शिविरमा ५६ किसानका ९६ वटा गाईभैँसीको दूधको नमूना संकलन गरी परीक्षण गरिएको पशु सेवा प्राविधिक अमित ढुङ्गानाले बताए । उनले भने, ‘५६ गाई र ४० भैँसीको दूधको नमूना परीक्षण गर्दा १३ किसानको २३ गाई र १२ भैँसीमा थुनेलो संक्रमण देखिएको छ ।’
भानु–८ बगालेफाँटमा रहेको प्रगति दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानका पशुको दूधको थुनेलो परीक्षण गरिएको ढुङ्गानाले बताए । उनका अनुसार संक्रमण देखिएका पशुलाई उपचारका लागि बेटाडिन, मास्ट मलम, गिलसिरिन र गाईभैँसीको थुन उपचारमा सहयोग सामग्री, मिनिरल, भिटामिनलगायत सामग्री वितरण गरिएको छ ।
थुनेलो देखिएका पशुलाई औषधिसहितको सामग्री वितरणअघि उपचार तथा प्रयोग विधिसहित थुनेलो रोगका लक्षण, यसबाट हुने असर, रोग लाग्न नदिने उपायका बारेमा प्रशिक्षण पनि दिइएको थियो । भानु–८ र ९ का पशुपालन फार्म सञ्चालक किसानलाई शाखाका प्रमुख डा सुशील ऐरी, पशु सेवा प्राविधिक महेन्द्र अधिकारीले सहजीकरण र उपचार सामग्री वितरण गरेका थिए ।
पछिल्लो समय गाईभैँसीमा यो रोगको संक्रमण बढिरहेको पाइएकाले यसको नियन्त्रण र रोकथामका लागि नमूना संकलन गरी परीक्षण गरिएको हो । रोगका कारण दूध उत्पदनमा कमी हुने र पशुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले किसानको लगानी जोखिममा पर्ने गरेको छ ।
दुहुनो गाईभैँसीको सरसफाइमा किसानको लापरबाही गर्नु, ज्ञानको कमीलगायत कारणले थुनमा संक्रमण भई थुनेलो लाग्ने पशु चिकित्सक बताउँछन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker