तनहुँमा सुन्तला खेतीबाट करोडौंको कारोबार

तनहुँ : कुनै समय घरआँगनको शोभा बढाउन, परिवारलाई खान र आफन्तलाई कोसेली दिन मात्र लगाइने सुन्तला अहिले तनहुँका किसानका लागि आम्दानीको भरपर्दो स्रोत बनेको छ । व्यावसायिक खेती विस्तारसँगै सुन्तला किसानको आम्दानी बढेको छ भने जिल्लामा यसको उत्पादन र कारोबारसमेत उकालो लागेको छ ।
सुन्तलाको माग र मूल्य बढेपछि पहिले आफन्त तथा पाहुनालाई सित्तैमा चखाउने चलनसमेत घट्दै गएको छ। किसानले बगैँचामै ठेकेदारलाई सुन्तला बिक्री गर्न थालेका छन् । व्यावसायिक खेतीबाट केही किसान लखपति र करोडपति बन्न सफल भएका छन् ।
जिल्लामा सुन्तला बिक्रीबाट सबैभन्दा बढी आम्दानी गर्ने किसानमध्ये म्याग्दे गाउँपालिका–२ उमाचोकका दाजुभाइ विश्वबहादुर अधिकारी र निर्मल अधिकारी अग्रपङ्क्तिमा देखिन्छन् । साविक जिल्ला विकास समितिका दुई पटक सभापति भएका विश्वबहादुर अहिले राजनीतिबाट टाढिएर सुन्तला खेतीमा सक्रिय छन् ।
भाइ निर्मलसँग मिलेर उनिहरूले ८५ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । उक्त बगैँचाबाट वार्षिक करिब एक करोड रुपैयाँ बराबरको आम्दानी हुने गरेको छ ।
उमाचोक सुन्तला ब्लक क्षेत्रका पूर्वअध्यक्षसमेत रहेका निर्मलका अनुसार अहिले गाउँका अधिकांश बगैँचाको सुन्तला ठेकेदारले खरिद गरिसकेका छन्। ‘चखाउनका लागि कसैले राख्दैनन्, सुनजस्तै महँगो भएकाले सबैलाई बिक्री गरेर आम्दानी गर्ने ध्यान छ’, उनले भने, ‘ठेकेदार बगैँचामै आएर सुन्तला टिप्ने भएकाले खान मन लागे अब बजारमै किन्न जानुपर्छ ।’
उमाचोककै नमुना कृषक शुकनारायण श्रेष्ठले गत वर्ष सुन्तला बिक्रीबाट ८० लाख रुपैयाँ आम्दानी गरे । उनले भने, ‘पहिला सौख र कोसेलीका लागि मात्र बोट हुर्काइन्थ्यो, अहिले त बोटमा सुन्तला होइन, सुन फले जस्तो लाग्छ ।’
देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं कृषक भीमबहादुर रानाले पनि गत वर्ष सुन्तला बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गरे । उनले भने, ‘सुन र सुन्तला मेरा लागि उस्तै हुन्, बोटमा सुन्तला होइन, सुन फले जस्तो अनुभूति हुन्छ ।’
किसानको बढ्दो आकर्षणसँगै जिल्लामा सुन्तला खेतीको क्षेत्रफल र उत्पादनले पनि गति लिएको छ। कृषि विकास कार्यालय तनहुँका अनुसार जिल्लाभर एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । कार्यालयका सूचना अधिकारी किरण परियारका अनुसार गत आर्थिक वर्षमा जिल्लामा ११ हजार ८२२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। उक्त उत्पादन बिक्रीबाट ४२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सुन्तला खेतीलाई थप व्यावसायिक र दिगो बनाउन कृषि विकास कार्यालयले पुराना बगैँचाको सुदृढीकरणसँगै नयाँ क्षेत्र विस्तारका कार्यक्रम अघि बढाएको छ । पुराना तथा उत्पादन घट्दै गएका बोटको काँटछाँट, बगैँचा सरसफाइ, मलखाद व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण र नयाँ बिरुवा रोपणका लागि चालु आर्थिक वर्षमा ५४ लाख रुपियाँ बजेट विनियोजन गरिएको सूचना अधिकारी परियारले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८२/८३ मा यसै शीर्षकमा ३७ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको थियो । बगैँचाको उचित स्याहार र रोग तथा कीरा नियन्त्रणको अभावमा उत्पादन घट्न नदिन कार्यालयले किसानलाई प्राविधिक सेवा र आवश्यक परामर्शसमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।










