तनहुँको ६५ हजार हेक्टर बढी जमिनमा सिंचाइ पुर्याइने
भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल ६५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एकाउन्न हजार ६१४ हेक्टरमा खेती गरिँदै आएको छ ।
विभिन्न सिँचाइ योजना सम्पन्न गरी जिल्लामा हाल पाँच हजार ७७२ हेक्टर क्षेत्रफल जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्याइएको जिल्लास्थित सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।
खेतीयोग्य रहेका पैसी हजार बढी हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ का भइरहेको कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागार्इंले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश र संघीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष १४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन् ।
स्रोत सुनिश्चितता भई ठेक्का प्रक्रियाबाट काम भइरहेका योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण प्रभावित हुने गरेको चापागाइले बताए । ‘भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ’, उनले भने, ‘अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पुर्याइ स्थानीयवासीको जीवनस्तर माथि उकास्ने लक्ष्य रहेको छ ।’
चापागाइका अनुसार ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा जिल्लाका चार योजना अलपत्र बनेको छ । व्यास-५ को साँघे पतेनी, बन्दीपुर-३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ-५ को अठारबिसे र व्यास-५ को याम्दी खोला चापटार लिफ्ट सिँचाइ योजना रहेका उहाँले जानकारी दिनुभयो । उनले भने, ‘गत वर्ष बजेट विनियोजन भए पनि चालु आवमा बजेट विनियोजन नहुँदा निर्माण प्रभावित भएको छ ।’
कार्यालयका अनुसार मुख्य योजनाका रुपमा दुइ परियोजना रहेका छन् । व्यास-१० को नारेश्वर ताल जलाशय योजनाका लागि रु एक करोड ९४ लाखमा ठेक्का सम्झौता भएको छ । साथै शुक्लागण्डकी-९ मा पहाड खोला बस्ती संरक्षण कार्यका लागि रु एक करोड ८९ लाख बजेट विनियोजन भएको छ ।










