आयुर्वेदमा भनिएको छ, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन

आयुर्वेदमा भनिएको छ कि, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन । नियमित अभ्यास र वैराग्यद्वारा योगको सम्पूर्ण लाभ लिन सकिन्छ । हाम्रा ऋषिमुनीले शरीरलाई नै ब्रम्हाण्डको सुक्ष्म नमुना मानेका थिए । यसको व्यापकतालाई बुझ्न अनि अनुभूत गर्नका लागि शरीरको भित्र रहेको शक्तिको केन्द्रलाई जान्नुपर्छ । ऋषिमुनीहरुले यस शक्तिको केन्द्रलाई ‘चक्र’ भनेका छन् ।

आयुर्वेद अनुसार शरीरमा आठ चक्र हुन्छ । यो हाम्रो शरीरसँग सम्बन्धित हो । यद्यपि यसलाई हामीले आफ्ना इन्द्रियबाट महसुष गर्न सक्दैनौं । आयुर्वेदमा योग, प्राणायाम र साधानाको मद्दतले यी चक्र जागृत गराउने बताइएको छ।

योगका अनेक लाभ

आज दिन-दिनै अस्पताल बनिरहेका छन् । अत्याधुनिक चिकित्सा उपकरणको विकास भइरहेका छन् । स्वास्थ्यकर्मीहरु उत्पादन भइरहेका छन् । नयाँ नयाँ औषधिको खोज र विकास भइरहेका छन् । किनभने प्रतिदिन अस्पतालको चक्कर लगाउने बढ्दैछ । औषधिको खपत बढ्दैछ ।

रोग लागेपछि त्यसको निदान र उपचार जरुरी छ । त्यसैले रोग लागिसकेको अवस्थामा अस्पताल धाउनु, औषधि खानु नै छ । यद्यपि रोगमुक्त जीवन विताउनका लागि के गर्ने ?

यसका लागि हाम्रा पूर्खाहरुले विभिन्न खोज अध्ययन र अभ्यास गरेका छन् । निरोगी एवं रोगमुक्त भएर खुसी र आनन्दित जीवन विताउने उपायहरु पत्ता लगाएका छन् । र, आफ्ना सन्ततीलाई त्यसैको अनुसरण गर्न प्रेरित गर्दै आएका छन् । योग, ध्यान, प्राणायाम यसकै दृष्टान्त हुन् ।

सही तरिकाले जिउने विधि

योग भनेको सही तरिकाले जिउने विज्ञान हो । अतः यसलाई हामीले आफ्नो जीवनमा सामेल गर्नुपर्नेछ । यो हाम्रो जीवनसँग जोडिएको भौतिक, मानसिक, भावनात्मक, आत्मिक र आध्यात्मिक सबै क्षेत्रमा काम गर्छ ।

यसैगरी योगको अर्थ हो, जोडिनु । मन र शरीर जोडिनु । मन र प्रकृति जोडिनु । मन र चराचर जगत जोडिनु । आध्यात्मिक हिसाबले योगको अर्थ हो सार्वभौमिक चेतना र व्यक्तिगत चेतना आपसमा जोडिनु हो । व्यवहारिक कोणबाट योग भनेको शरीर, मन र भावनालाई सन्तुलित गर्ने एवं तालमेल मिलाउने एक साधन हो । योगको यो एकता आसन, प्राणायाम, मुद्रा बँध, षट्कर्म र यानको अभ्यासबाट प्राप्त हुन्छ । त्यसैले योग एक जिउने तरिका हो र आफैमा परम उदेश्य पनि ।

योगले शारीरिक लाभ मिल्छ । त्यसपछि मानसिक र भावनात्मक स्तरमा यसबाट लाभ मिल्छ ।

गीतामा श्रीकृष्णले एक ठाउँमा भनेका छन्, ‘योगः कर्मसु कौशलम् ।’ अर्थात कर्ममा कुशलता नै योग हो । यद्यपि योगको अर्थ यो भन्दा वृहत र व्यापक छ । खासगरी पतञ्जलीले योगसूत्रमा यसको सटिक परिभाषा दिएका छन् । उनको परिभाषा यस्तो छ, ‘योगश्च्ित्तवृत्तिनिरोध ।’ अर्थात चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु योग हो । योगले आफुभित्र रहेका रोगलाई निरोध गर्न सक्छ ।

त्यसैगरी अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलतातर्फ, जीवनबाट ब्रम्हातर्फ, सीमितताबाट असिमिततातर्फको आध्यात्मिक यात्रालाई योग भनिएका छन् ।

योग भनेको शरीरलाई तन्काउनु, मर्काउनु, उफ्रिनु होइन । अर्थात शारीरिक व्यायाम मात्र पनि योग होइन । योगमा आसन, प्राणायाम र ध्यान जस्ता विधिहरु हुन्छन् । यी विधीहरुबाट हामीले मन, श्वास र शरीरको विभिन्न अंगबीच समान्जस्य बनाउन सक्छौं ।

योगको प्रकार

  • योगको मूख्य चार प्रकार छन्- राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।
  • यसैगरी योगको आठ अंग छन् । यसैले पतन्जलीले यसलाई अष्टांग योग भनेका हुन् । यसबारे योगसूत्रमा पतन्जलीले उल्लेख गरेका छन् । यस आठ अंगमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि छन् ।
  • यमको अर्थ हो, अहिंसा, सत्य, अस्तेय, ब्रम्हाचर्य तथा अपरिग्रह । यम अर्थात जसको अनुष्ठानबाट मन वा इन्दि्रय अशुभबाट हटाएर शुभमा संलग्न हुन्छ ।
  • नियमको अर्थ हो, अनुशासित जीवनयापन । अर्थात सौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणिधान ।
  • आसनको अर्थ हो, स्थिर तथा सुखपूर्वक बस्ने क्रिया ।
  • प्राणायामको अर्थ श्वास प्रश्वासको गति अनुभूत गर्ने र नियन्त्रण गर्ने अभ्यास । नाडी साधन र त्यसको जागरणका लागि गरिने श्वास र प्रश्वासको नियमन नै प्राणायम हो ।
  • पत्याहारको अर्थ इन्द्रियलाई वशमा राख्नु हो ।
  • धारणाको अर्थ मनलाई एकाग्रत्ति गरेर कुनै विषयमा ध्यान केन्दि्रत गर्नु हो ।
  • ध्यानको अर्थ विचारसून्य अवस्थामा रहनु हो ।
  • समाधिको अर्थ मोक्ष प्राप्त गर्नु हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker