बन्दीपुरमा संस्थागत विद्यालयको शुल्क र छात्रवृत्तिमा कडाइ गरिने

बन्दीपुर : बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयहरूसँग छलफल गर्दै शुल्क निर्धारण र छात्रवृत्ति वितरण प्रक्रियालाई व्यवस्थित बनाउने निर्णय गरेको छ । गाउँपालिका र संस्थागत विद्यालयबीच सोमबार बसेको बैठकले विभिन्न निर्णयहरू गरेको हो ।
शिक्षा शाखाका प्रमुख भीमप्रसाद लामिछानेका अनुसार सबै संस्थागत विद्यालयले तत्काल आफूहरूले लिने शुल्क संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्डअनुसार अभिभावक भेलाबाट अनुमोदन गराउनुपर्ने निर्णय गरिएको छ । यसअघि मनपरी शुल्क लिएको गुनासो आएपछि यस्तो निर्णय गरिएको उनले बताए ।
यस्तै, सबै विद्यालयले संस्थागत विद्यालय छात्रवृत्ति वितरण निर्देशिकाअनुसार सूचना प्रकाशन गरी आवेदन आह्वान गर्नुपर्नेछ। प्राप्त आवेदनका आधारमा तोकिएको प्रक्रिया अनुसार परीक्षा सञ्चालन गरी तोकिएको क्षेत्रका विद्यार्थीलाई अनिवार्य रूपमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ ।
बैठकले छात्रवृत्ति सम्बन्धी संख्या यकिन गरी गाउँपालिका मार्फत आज सूचना प्रकाशन गर्ने समेत निर्णय गरेको छ ।










