भानु नगरपालिकाका कर्मचारीमाथि कार्यालयमै कुटपिट, कारबाही नगरे आन्दोलनको चेतावनी

भानु : भानु नगरपालिका–९ मा कार्यरत सवइञ्जिनियर हर्कबहादुर सिंजापतीमाथि कार्यालय समयमै कुटपिट र दुव्र्यवहार भएको छ । सोही वडाका बुद्ध श्रेष्ठले सिंजापतीमाथि कुटपिट गरेका हुन् ।
सिंजापती लगायतका कर्मचारीहरु कार्यालयमा सेवा प्रवाह गरिरहेकै अवस्थामा बिहीबार दिउँसो मादक पदार्थ सेवन गरी आएका श्रेष्ठले अपशब्द, अश्लिल बोली, हातपात, कुटपिट गर्नुका साथै अभद्र व्यवहार गरेका नगरपालिकाका कर्मचारीहरुले जनाएका छन् ।
उक्त घटनाको नगरपालिकामा कार्यरत कर्मचारीहरुले विरोध गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल निजामती कर्मचारी युनियन भानु नगर समितिले विज्ञप्ती प्रकाशित गरि उक्त घटनाको विरोध गरेको छ ।
कार्यालय समयमा भएको यस घटनाले सम्पुर्ण भानु नगरपालिकामा कार्यरत कर्मचारीहरुको मनोवल गिराउनुका साथै सेवाग्राहीमा समेत असुरक्षा र त्रासको भावना सृजना भएको भन्दै विज्ञप्ती उक्त व्यक्तिलाई अबिलम्ब पक्राउ गरी कानुनी कारवाहीको लागि माग गरेका छन् ।
कर्मचारीको असुरक्षा साथै मनोवल गिराउने कार्यको कानुनी कारवाही नभएमा भानु नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले सेवाप्रवाह बन्द गरी आन्दोलनको घोषणा गर्ने नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुशील पण्डित र नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष शिवराज मिश्रले विज्ञप्तीमार्फत् जानकारी गराएका छन् ।










