बजेट अभावले मुग्लिन–नारायणगढ सडक खण्डमा पुल निर्माण प्रभावित

निर्माणाधीन अवस्थामा रहेका–नारायणगढ सडकखण्डका पुलका लागि बजेट अभाव भएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले पुल निर्माणका लागि आवश्यक पर्ने बजेट अर्थमन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताउनुभयो । मुग्लिन नारायणगढ सडकलाई तीन वर्षअघि फराकिलो बनाएसँगै पुल पनि फराकिलो बनाउने काम सुरु भएको दुई वर्ष पनि बितिसक्यो ।

सो सडकखण्डमा १९ वटा पुल छन् । तीमध्ये चार वटा पुल निर्माणको काम सडकसँगै सकिसकेको छ । बाँकी १५ वटा पुल निर्माणका लागि विसं २०७६ चैतमा ३३ महिनामा निर्माण सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।

सम्झौताको अवधि २०७९ मङ्सिरसम्म रहेको छ । सबै पुलहरुको भौतिक प्रगति औसतमा भन्दा ५० प्रतिशत भएको इञ्जिनीयर आचार्यले बताउनुभयो । आठ वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अब ती पुललाई सडकसँग जोड्नमात्र बाँकी छ । सडकसँग जोड्नका लागि घर टहरा भत्काउनुपर्ने हुन्छ । इञ्जिनीयर आचार्यले घरटहरा भत्काउन र मुआब्जा वितरणका लागि बजेट अभाव भएको बताउनुभयो ।

उहाँका अनुसार पुल सञ्चालनका लागि सो खण्डका २० भन्दा बढी घरटहरा भत्काउनुपर्छ । मुआब्जा वितरणका लागि करिब रु एक करोड १० लाख आवश्यक पर्ने अनुमान गरी अर्थमन्त्रालयमा पत्र पठाइएको उहाँको भनाइ छ । मुग्लिन नारायणगढ सडकमा ठेक्का लागिसकेका १५ वटा पुलमध्ये तीन वटा पुलको काम अझै सुरु भएको छैन् । दुई वटा पुल निर्माण भौगोलिक हिसाबले कठिन देखिएको आचार्यले बताउनुभयो । मुग्लिन नजिक रहेका तुईन खोला र चिसेन्जी खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्था जटिल रहेको र कसरी गर्ने भन्नेबारे अध्ययन जारी रहेको उहाँको भनाइ छ ।

उहाँले निर्माण कम्पनीलाई रकम दिनका लागि पनि बजेट अभाव भएको बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म रु १५ करोड मात्रै बजेट प्राप्त भएको उल्लेख गर्दै उहाँले आवश्यक बजेट नआउँदा पुल निर्माणमा ढिलाइ भएको दाबी गर्नुभयो । मुग्लिन नजिकैको खहरे खोलाबाट रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर सम्झौता गरिएको थियो ।

प्याकेज–१ का पुल निर्माणका लागि रु ६७ करोड ९९ लाख ५९ हजार तथा प्याकेज–२ का पुल निर्माणका लागि रु ५९ करोड ५ लाख ५९ हजारमा ठेक्का सम्झौता गरिएको थियो । हाल मुग्लिन नारायणगढ सडकमा पुराना पुलहरुको चौडाइ ५.५ मिटरदेखि ६ मिटर छ । अब बन्ने पुलहरुको चौडाइ ९ मिटरदेखि ११ मिटरसम्म हुने इञ्जिनीयर आचार्यले जानकारी दिनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker