देशलाई निकास र विकास दिन आवश्यक छ : नेता पौडेल
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई निकास र विकास दिने गरी काम गर्न आवश्यक रहेको बताएका छन् । कांग्रेसको व्यास नगर कार्य समितिले आइतबार दमौलीमा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सरकार बनेको तीन महिना हुन लाग्दा समेत सरकारले पूर्णता नपाउँदा देशलाई निकास र विकास दिन नसकिएको बताए ।
पार्टी अधिवेशन ढिलो सुरु भएकोले अप्ठ्यरोमा परेको हुँदा निर्वाचन आयोग, अदालत र जनतालाई हामीले कार्यको शुरुवात गरिसक्यौ भन्ने छाप पर्ने गरी काम गर्नुपर्नेमा अवस्था आइपरेको बताए । उनले न्याय निपक्षता र पारदर्शीको मूल्याङ्कन सही किसिमले गरिनुपर्ने बताए ।
‘सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी कांग्रेस हो, तर के साँच्चै कांग्रेस आफैँमा लोकतन्त्रवादी छ त भन्ने प्रश्न चिहृन खडा भएको छ’, उनले भने, ‘कांग्रेसको नेतृत्व गर्ने मान्छेले लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नुपर्दछ, पार्टीभित्र लोकतन्त्रको आफूले सदैव वकालत गर्दै आएको छु ।’
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले नेपालको पहिचान बैद्धिक सनातन हिन्दु धर्म मूल्य र मर्म भएकोले यसलाई पार््टीले अंगिकार गरि महाधिवेशनमा मूल एजेण्डाको रुपमा लैजानुपर्ने बताए ।
केन्द्रीय सदस्य गोविन्द भट्टराइले केपी ओली उदण्ड र गैरजिम्मेवार भएकाले दुइ तिहाइको सरकार कम्युनिष्ट एकता टुटेको बताए । कार्यक्रममा जिल्ला सभापति बैकुण्ठ न्यौपाने लगायतले सुदृढ कांग्रेस बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा व्यास नगर सभापतिमा निर्वाचित सूर्यचन्द्र हड्खले लगायत निर्वाचितलाई बधाई दिईएको थियो ।
यस्तै, नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका दावेदार पौडेल तीनदेखि गृह जिल्ला तनहुँमा छन् । महाधिवेशन अन्तर्गत तनहुँका १० वटै पालिकामा निर्वाचन सम्पन्न भएपछि वरिष्ठ नेता पौडेल शुक्रबारदेखि जिल्लाका विभिन्न ठाउँमा कार्यकर्ता भेटघाटमा दौडधुप गरेका छन् ।
शुक्रबार गृह जिल्ला आएका पौडेल सोही दिन नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी भएका थिए । शनिबार भानु नगर समितिको पदस्थापन कार्यक्रम र बन्दिपुरमा कार्यकर्ता भेटघाटमा सहभागी भएका पौडेल आइतबार व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।










