४४ किलोमिटर दुरीको चौथो व्यास अल्ट्रा म्याराथन माघ १६ गते, तयारी तीब्र

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिकाले चौटो व्यास अल्ट्रा म्याराथन २०७७ को तयारी तीब्र पारेको छ । नगरपालिकाले शहीद दिवसको अवसरमा माघ १६ गते हुने म्याराथनका लागि नगरपालिकाले तयारी शुरु गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । नगरपालिकाको वडा नं. ५ को मानुङकोटबाट व्यास वडा नं. ८ पुलिमराङस्थित शहीद उद्यानसम्मको चौथो खुला अल्ट्रा म्याराथनका लागि नगरपालिकाका उपप्रमुख मीरा जोशीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरी आवश्यक तयारी अगाडि बढाइएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
शहीदहरुको सम्झनाका साथै मगरको गाउँ मानुङ र गुरुङको गाउँ पुलिमराङलाई जोड्नका लागि अल्ट्रा म्याराथनले सहयोग पुग्ने नगरप्रमुख न्यौपानेले बताए । उनले भने, ‘खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको म्याराथन प्रभावकारी भएको छ ।’ नगरप्रमुख न्यौपानेले म्याराथनकै कारण आज मानुङ विश्वमाझ परिचित हुन सफल भएको समेत बताएका छन् ।
विहान साढे ७ बजे मानुङकोटबाट शुरु हुने म्याराथन व्यास नगरपालिका-८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे-चापाघाट-अनसन चौतारी-सफासडक-भोर्लेटार चोक हुँदै बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीवेशी-बगुवा रिस्ती-बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।
यस्तै, ४४ किलोमिटर दुरीको यसपाली प्रतियोगितामा कर बाहेक प्रथमका लागि ८५ हजार ७७ रुपैयाँ, द्धितीयका लागि ६५ हजार ७७ रुपैयाँ तथा तेश्रोका लागि ५५ हजार ७७ रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी सान्त्वना हुनेका पाँच जनाका लागि जनही १६ हजार ७७ रुपैयाँ पुरस्कार तोकिएको छ । पुरस्कार रकमको कर नगरपालिका आफैंले बेहोर्ने जानकारी दिइएको छ। विगतमा झैं यसपाली पनि देशैभरबाट प्रतियोगी आउने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक एवं नगर उपप्रमुख मिरा जोशीले बताइन् ।
प्रतियोगिताका लागि विभिन्न नौ उपसमिति गठन गरिएका छन् । विगतको प्रतियोगिताले यस रुटलाई चिनाउन मद्दत गरेको भन्दै नगर प्रमुख न्यौपानेले यसपाली पनि व्यास नगरपालिकाका यस रुटमा पर्ने क्षेत्रको चिनारीका लागि प्रतियोगिताले भूमिका खेल्ने विश्वास व्यक्त गरे । यसैगरी महिलाहरुका लागि पनि नगरपालिकाले दौड गर्ने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी ऐतिहासिक तनहुँसुरसम्मको हाफ अल्ट्रा म्याराथन प्रतियोगिता पनि गरिने र देशैभरबाट महिला धावकको सहभागीतामा प्रतियोगिता हुने नगर उपप्रमुख जोशीले बताइन् ।










