तनहुँको दुम्सीपाखाका दराइहरु !

पाम सुनुवार

पहेलो तथा निलो पाटुकी, सुनको हार र चाँदीका गहना शिरमा शिरफूल, नाकमा ढुङ्ग्री लगाएका एकहुल महिलाहरु बाटैमा भेटिए । उनीहरु मध्ये धेरैले रातो र केहीले कालो ब्लाउज लगाएका थिए । महिलाहरुको हुलमा नै केही पुरुषहरुले भने सेतो कछाड, माथि भोटो, कम्मरमा खुर्पेटो, खुकरी र सिरमा भादगाउँले टोपी लगाएका देखिन्थे ।

यो दृश्य तनहुँस्थित दुम्सी पाखाको हो । उनीहरु अरु कोही नभएर आदिवासी जनजातिमा सूचिकृत दराइहरु हुन् । पछिल्लो समयमा दराइ समुदायको आफनो जातीय पोशाक र पहिचान लोप हुन लागेपछि गाउँमा कोही नौलो मान्छे पुगे भने यसरी आफनो भेषभूषामा सजिएर स्वागत गर्ने परम्परा बसालेका छन् दुम्सीपाखाका दराइहरुले ।

‘आदिवासी जनजाति दराइको संस्कार संस्कृति तथा पहिचान फरक भएतापनि अति हिन्दूकरण र विश्वव्यापिकरणले यी सबै लोप हुन लागेकाले पहिचान पुनःस्थापित गर्न यस्तो अभियान सुरु गरेका हौ,’ दराइ समाज उत्थान संघका केन्द्रीय सहसचिब यम बहादुर दराइले बताए । उनले भने, ‘दराइहरुको संख्या थोरै छ । हामी अल्पसंख्यक हौ । दराइहरु चितवन, गोरखा, धादिङ, पाल्पा, नवलपरासी र बदिर्यामा बसोबास गर्दछन् ।’

याम बहादुरको भनाइमा सही थप्दै तनहुँ दुम्सीपाखाकै स्थानीय शान्ति दराइ आफनो नेप्टो नाक, प्रचलित भेषभुषा, भाषा नै पहिचानको बिषय भएको बताउँछिन् । उनले भनिन्, ‘सबै पहिचानजनित संस्कारहरु हराउँदै गएका कारण आफ्नो भेषभुषा संंस्कार संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर अघि बढेका छौं ।’

तनहुँकै दराइ अगुवा बीर बहादुर दराइको बिचारमा दराइहरुमा सामाजिक तथा साँस्कृतिक अतिक्रमण मात्र होइन रोजगारी लगायतका समस्या पनि चार्को रुपमा देखिएको छ । तनहुँ जिल्लाको दमौली वरीपरिका समथल भुभागमा बसोबास गर्ने र नदीको वरिपरि बस्ने दराइ जातिहरुको परम्परागत पेसा पनि लोप भएको छ । उनले भने, ‘माछा मार्ने दराइहरुको पुर्ख्यौली पेसा र सीप हो । दराइको बस्ती नदी किनारा र खोला छेउमा रहनुको कारण पनि यही हो । तर आज भोली यसको अभ्यास नै हराएको छ ।’ २०६८ को जनगणना अनुसार दराइको जनसंख्या १७ हजार ८७९ रहेको छ । आफ्नो मौलिक पहिचानमा आधारित भेषभुषा, भाषा तथा संस्कृति बोकेका आदिवासी दराइहरुको थातथलो तनहुँमा रहेको अभियन्ता याम बहादुरको दाबी छ ।

आदिवासी दराइको आफ्नै परम्परागत पैतृक भूभाग, भूमि भए पनि अहिले अतिक्रमणमा परेको छ । युगौदेखि प्राकृतिक स्रोत जल, जमिन र जंगलसंग निकट भएर बिशिष्ट प्रकारका ज्ञान र सीपको प्रयोग गर्ने अवसरबाट उनीहरु सधै बन्चितमा परेका छन् । यो समुदायले प्रयोग गरिरहेको बन राष्ट्रियकरण भएका छन् । उनीहरुले हुर्काएको बन कतै सामुदायिक बनका नाममा अरुले नै राज गरेका छन् । याम बहादुरका अनुसार वनका स्रोतको प्रयोग गर्न कै लागि पनि अरुसंग अनुमति लिनुपर्ने बाध्यता छ । जलजन्य स्रोतमा पनि स्थानीय तहले निषेध गरेको छ । निकुञ्ज क्षेत्रको नदीमा माछा मार्न नपाइने भएकाले दराइ युवाहरु माछा मार्ने काम पनि गर्दैनन् । यसकारण दराइ समाजमा बेरोजगारीको ठूलो समस्या छ । ‘सबै बेरोजगार छन रोजगारी छैन । सिमान्तकृत र अति पिछडिएको जातिको रुपमा छौ’, दराइ समाजका सहसचिव याम बहादुर भन्छन्, ‘दराइ जातिको उत्थानको लागि आर्थिक रुपमा सांस्कृतिक, धार्मिक रुपमा कार्यक्रमको माँग गरेका छौ ।’

त्यसो त दराइहरुको परम्परागत पेेसा मासिदै गएको भएपनि केही सीपहरु संरक्षणमा रहेको दराइ अगुवाहरुको भनाई छ । अगुवाहरु भन्छन्, ‘केही सिपहरु अहिले पनि निरन्तरता दिइरहेका छौ । किनभने त्यसको समयअनुसारको माग बढदै गएको छ ।’ ‘दराइ गुन्द्री नौलो खालको छ । अरुलाई उपाहार दिँदा पनि काम लाग्ने र मर्दापर्दा पनि संस्कृतिसंग पनि सम्बन्धित भएको कारण केही कुराहरु जोगिरहेको पनि छ । छोडिसकेको चाडपर्वहरु पनि हामीले जोगाउनुपर्छ भनेर २०४७ सालपछि यस्तो अभियान चलाएकोले केही कुराहरु जोगिएको छ’, सचिव याम बहादुर बताउँछन । दराइहरु प्रकृति पुजक हुन् । सामन्यत आदिवासीहरुको आध्यात्मिक विश्वास नै आदिवासीहरुको धार्मिक मान्यता हो । आदिवासी दराइ समाजमा पनि यस्तै मान्यता रहेको स्थानीय आसा दराइ बताउँछिन् । तर दराइ संस्कार बौद्ध धर्मसंगै मिल्दोजुल्दो छ ।

‘विवाहमा पण्डित वा पुरेत लगाउने चलन छैन । बालबालिकाको न्वारनमा पनि ज्वाइबाट चोखिने प्रचलन छ । कसैको मृत्यु भएको खण्डमा ज्वाँइबाटै चोखिने काम हुन्छ’, उनले भनिन्, ‘दराइको पण्डित, पुरेत, लामा वा कुनै पनि गुरु हुँदैनन् । सबै काम ज्वाई चेला वा कुटुम्बबाट सम्पन्न हुन्छ ।’

आसा भन्छिनु, ‘विवाह पनि दराइकै बीचमा हुन्छ । दराइ भित्रको पनि थर फरक बिच विहेबारी चल्छ फुपुमामा चेला बीच विबाह हुँदैन । फरक थर भएका दराइसंग मात्र विवाह गर्नुपर्छ । विवाह गर्दा मामानै चाहिन्छ । दर्राई गीतलाई सहरै भनिन्छ । यो गीत चाही हाम्रो लागि महत्वपूर्ण छ । सहरै गीतमा नै मृत्यु तथा उत्सवका गीतहरु छन् ।’
इन्डिजिनियस फिचर सेवाबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker