तउवा संघको अध्यक्षमा श्रेष्ठ विजयी, प्रत्यासी मिश्रले दिए बधाई, सबैको भावना समेटेर अघि बढ्ने श्रेष्ठको प्रतिवद्धता
भञ्ज्याङ न्यूज

तनहुँ उद्योग वाणिज्य संघको शनिबार सम्पन्न १६औं महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठको पक्षमा ८०६ छ मत खसेपछि उनि विजयी भएका हुन् ।
अध्यक्षका अर्का प्रत्यासी बैकुण्ठनाथ मिश्रको पक्षमा ६६५ मत खसेपछि श्रेष्ठ १४१ बढी मत ल्याएर विजयी भएका हुन् । १ हजार ४९४ मत खसेकोमा २३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
संघको अन्य पदमा र्सवसम्मत भएपनि अध्यक्ष पदमा र्सवसम्मत नभएपछि निर्वाचन भएको थियो । संघको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल र्सवसम्मत चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, संघको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगत तर्फकृष्ण सुनार र्सवसम्मत चयन भएका छन् ।
अध्यक्षका प्रत्यासी मिश्रले दिए श्रेष्ठलाई बधाई
तनहुँ उद्योग वाणिज्य संघको १६औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित पबिन्द्रकुमार श्रेष्ठलाई प्रत्यासी बैकुण्ठनाथ मिश्रले बधाई दिएका छन् । निर्वाचनको परिणाम र्सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई बधाई दिंदै परिणामलाई सहर्षस्वीकार्ने बताएका छन् ।
मतपरिणाम र्सार्वजनिक र बधाई कार्यक्रममा सहभागी बनेका मिश्रले मन्तव्य व्यक्त गर्दै श्रेष्ठलाई भेटेर बधाई तथा शुभकामना दिएका हुन् ।
बधाई मन्तव्य दिंदै मिश्रले भने, ‘म आज अत्यन्त गौरवान्वित भएको छु । आज उहाँ मात्र सफल हुनुभएको छैन । आज सम्पूर्ण राजनीतिक पार्टीहरु एक ढिक्का भएर उहाँलाई सहयोग गर्नुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु । सबै पूर्व अध्यक्षले उहाँलाई साथ दिनुभएकोमा धन्यवाद ।’
मिश्रले श्रेष्ठको कार्यकाल अत्यन्त सौहार्द, सुखद् बनोस् भन्दै बाहिरबाट जे जस्तो सल्लाह र सुझाव दिएर सघाउने प्रतिवद्धता जनाए । ‘चुनावमा कोही मेरा र कोही उहाँका पक्षमा हुन सक्छन् । सबैलाई समान व्यवहार गरेर अघि बढ्न म आग्रह गर्दछु,’ मिश्रले भनेका छन् ।
सबैको भावना समेटेर अघि बढ्छु : श्रेष्ठ
तनहुँ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठले सबैको भावना समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचित भएलगत्तै परिणाम र्सार्वजनिक गर्न आयोजित सभामा बोल्दै उनले भने, ‘आजको जीत हामी सबैको जीत भएको छ । कसैको पनि हार भएको छैन । म सबैको भावना समेटेर अघि बढ्नेछु ।’
‘१४औं महाधिवेशनमा आफू सफल हुन नसके पनि यसपाली आफूलाई अगाध स्नेह र मायाका साथ जिताउनु भएको छ’, श्रेष्ठले भने, ‘म यहाँहरुको अमूल्य मतको ऋणी भएको छु । अबका संघका गतिविधि सबै व्यवसायीको आत्मसम्मान उच्चो बनाउन लाग्नेछु ।’










