नयाँ वर्षको अवसरमा बन्दिपुर र दमौलीमा विविध सांस्कृतिक कार्यक्रम
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुरमा अंग्रेजी नयाँ वर्षका अवसरमा खाना महोत्सवका साथै सांगीतिक कार्यक्रम गरिने भएको छ । बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ र उद्योग वाणिज्य संघले संयुक्त रुपमा दुइ दिने सडक खाना महोत्सव सञ्चालन गर्न लागिएको हो ।
पर्यटकीय नगरी बन्दिपुरमा आज र भोली हुने सडक खाना महोत्सवको तयारी पुरा भएको क्षेत्रीय होटल संघ बन्दिपुर इकाईका अध्यक्ष विपीन प्रधानले बताए ।
महोत्सवमा बन्दिपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको कक्ष राखिने भएको छ । महोत्सवले बन्दिपुरको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष प्रधानले बताए । महोत्सवले बन्दिपुर आउने पर्यटक बढाउने अपेक्षा राखिएको छ, दुइ दिने महोत्सवमा मात्र कम्तिमा सात हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको उनले बताए ।
कोभिड-१९ को मारमा परेका होटल व्यवसायीलाई सडक खाना महोत्सवले केही राहत पुग्ने आशा गरिएको होटल व्यवसायी वैश गुरुङले बताए । ‘कोभिड त्रासका कारण बन्दिपुरको पर्यटन व्यवसाय प्रभावित बन्दै आएको छ’, उनले भने, ‘अहिले सबैले खोप लगाइसकेका कारण नयाँ वर्षा बन्दिपुरमा आन्तरिक पर्यटक बढी भित्रिनेमा आशावादी छौं ।’
यस्तै, नयाँ वर्षकै अवसरमा लायन्स क्लब अफ तनहुँ दमौलीले आज शुक्रबार साँझबाट सांगीतिक कार्यक्रम गर्न लागेको छ । क्लबकै सक्रियतामा स्थापना गरिएको कपडा बैंकलाई दिगो बनाउन रकम संकलन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष राजु रानाले बताए । नयाँ वर्ष मनाउन पोखरा वा अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि दमौलीमै कार्यक्रम गर्न लागिएको उनले बताए।
क्लबका सदस्यबाट संकलन गरिएको चार लाख रुपैयाँको लगानीमा गत वर्षकपडा बैंक स्थापना गरिएको थियो । हाल कपडा बैंकमा कपडा अभाव भएकाले विपन्न समुदायलाई कपडा वितरण गर्न समस्या परेको छ । कपडा बैंकलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न रकम अभाव भएकाले सांगीतिक कार्यक्रममार्फ रकम संकलन गर्ने योजना बनाएको उनले बताए ।
‘हुनेले दान गर्नुहोस्, नहुनेले ढुक्क साथ लैजानुहोस’ भन्ने मूल मन्त्रसहित स्थापना गरिएको बैंकका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ । कपडा बैंकमा प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्तालगायत राखिएको छ ।
त्यस्तै, नयाँ वर्षकै अवसरमा व्यास नगरपालिका-१ स्थित नवयुवा क्लवले हाइस्कूलटारमा सांस्कृतिक मेला शुरु भएको छ । पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवको विहीबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । मेलामा चर्चित कलाकारको प्रस्तुती, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, रमाइलो मेला, स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शनी, वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।