आँवुखैरेनीको धार्मिक पर्यटकीयस्थल आँधीमूल जाने सडक कालोपत्र

भञ्ज्याङ समाचारदाता/दमौली

आँबुखैरेनी गाउँपालिका-१ स्थित पर्यटकीयस्थल आँधीमूल जाने सडक कालोपत्र गरिएको छ । गाउँपालिकाकै प्रमुख पर्यटकीय धार्मिकस्थलका रुपमा रहेको आँधीमूलसम्म जाने सडक कालोपत्र गरिएको हो । पृथ्वीराजमार्गको एक हजार ७०० देखि साढे दुइ किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल ९०० मिटर दूरीमा कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाका इञ्जिनीयर पङ्कज चितौरे मगरले जानकारी दिए ।

गाउँपालिका र संघीय सरकारको रु एक करोड ३४ लाखको लागतमा कालोपत्र सम्पन्न भएको उहाँले बताउनुभयो । गत वर्षेखि उक्त सडक कालोपत्रका लागि काम सुरु भएको थियो । नुवाकोटस्थित मेगा डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालीले सडक कालोपत्रको ठेक्का पाएको थियो ।

त्यहाँबाट आँधीमूलसम्मको बाँकी सडक कालोपत्रका लागि पनि ठेक्का लागेर काम भइरहेको इञ्जिनीयर मगरले बताए । उनले भने, ‘बाँकी रहेको ठाउँमा पनि कालोपत्रका लागि ठेक्का लागेर काम सुरु भइसकेको छ, यही वर्षभत्र सडक कालोपत्र सम्पन्न हुन्छ ।’

गणेशकुण्ड विएम सिजल जेभीसँग कालोपत्र, ढलान र नाला निर्माणका लागि गत वैशाख १ गते सम्झौता भएको थियो। सम्झौता भएको एक वर्षभित्र काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । रु तीन करोड आठ लाख २० हजार ३८० मा सडक कालोपत्रका लागि सम्झौता भएको छ ।

यसअघि कच्ची सडक हुँदा पनि आँधीमूलमा पर्यटकको भीड रहने गरेकामा सडक कालोपत्र भएपछि त्यो संख्या अझै बढ्ने विश्वास गरिएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक कालोपत्र सम्पन्न भएपछि आँधीमूलसम्म पुग्न पर्यटकलाई सहज हुने बताए ।

आँधीमूल पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ ।

आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने सोच राखिएको गाउँपालिकाले जनाएको छ । यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालिकाले गत वर्ष तारबार लगाउनुका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरेको छ ।

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुइ पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

कञ्चन पानी रहेको पोखरीमा पौडिरहने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजकिरिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विर्सजन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जंगल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउनेक्रम बढ्दै गएको छ । गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker