विकासको नाममा विनाश नगरिदिन बन्दिपुरका पर्यटन व्यवसायीको माग

नारायण खड्का/बन्दिपुर

बन्दिपुरका विभिन्न संघ संस्थाले गाउँपालिकाले पूर्वाधार निर्माणका काम गर्दा प्राकृतिक तथा पर्यटकीय सौन्दर्यता बिगार्ने गरी काम गरेको भन्दै आपत्ति जनाएका छन् । थानीमाई-मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल) निर्माणका क्रममा प्राकृतिक तथा पर्यटकीय सौन्दर्यतालाई खलल् पुग्ने गरी काम भएको भन्दै विभिन्न संघ संस्थाहरुले गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै विकासका नाममा प्राकृतिक सम्पदामा आँच नपुर्‍याउन सचेत गराएका हुन् ।

बन्दिपुरका थानीमाई संरक्षण समिति, पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ लगायतका संघ संस्था तथा स्थानीय बासिन्दाहरुले बन्दिपुरको भानु माध्यमिक विद्यालय भवनबाट उत्तरतर्फको बाटोदेखि थानीमाई हुँदै पश्चिमतर्फ रहेका ढुंगा फुटाइएको प्रति आपत्ति जनाएका छन् ।
स्थानीय संघ संस्था तथा बासिन्दाले बन्दिपुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाउनुका साथै त्यहाँ भएका गतिविधिका विषयमा जानकारी गर्राई विकासका नाममा विनास नगर्न आग्रह गरिएको पर्यटन विकास समिति बन्दिपुरका अध्यक्ष किशान प्रधानले बताए ।

अध्यक्ष प्रधानले भने, ‘भानु माध्यमिक विद्यालयको उत्तरतर्फको बाटोदेखि थानीमाई हुँदै पश्चिमतर्फ जथाभाविरुपमा ढुंगा फुटाइएकोले सो कार्यले यहाँको भौगोलिक बिखण्डन आउने र यस आसपासका मोहोरीया, डाँडागाउँ, डेब्चेगाउँ, गुर्दुमपानी, भानु मावि, पिपलथोक, पौवागाउँ लगायतका गाउँबस्ति पहिरोको जोखिममा पर्ने देखिएको छ ।’

‘बन्दिपुर आउने पर्यटक थानीमाईको डाँडा उक्लने र उक्त उकालो चढ्दा बाटोको छेऊछाऊमा रहेका ढुंगामा बिश्राम गरी बन्दिपुर बजारका साथै हिमश्रृंखला, सूर्योदय र सूर्यअस्तका दृष्यावलोकन गर्ने भ्यू प्वाइन्टका रुपमा रहेका केही ढुंगा फुटाइएका छन्’, अध्यक्ष प्रधानले भने, ‘यस उकालोमा रहेका ढुंगा प्राकृतिक भ्यू टावरका रुपमा छन् । यहाँका केही ढुंगा भाइब्रेटर प्रयोग गरी फुटाउँदा ढुंगा हल्लिएर पहिरो जाने खतरा समेत बढेको हुँदा यसको संरक्षण गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले थानीमाई-मणिमुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल) निर्माण कार्य अगाडि बढाएको छ। यो पर्खाल निर्माणका लागि आवश्यक पर्ने ढुंगा व्यवस्थापनका लागि निर्माणकर्मीले थानीमाई उकालोको ढुंगा फुटाइदिंएको थानीमाई संरक्षण समिति बन्दिपुरका अध्यक्ष पुष्कर प्रधानले बताए ।

‘गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि मिनी ग्रेटवाल बनाउनु राम्रो काम हो, यसको हामीले विरोध गरेका छैनौं’, अध्यक्ष प्रधानले भने, ‘गाउँपालिकाले हामी स्थानीय बासिन्दासंग कुनै पनि समन्वय नगरी मनलाग्दि ढंगाले प्राकृतिक तथा पर्यटकीय सौर्न्दर्यतालाई नै कुरुप बनाउने गरी ढुंगा फुटाइको प्रति हाम्रो आपत्ति हो ।’

यस्तै, उद्योग वाणिज्य संघ बन्दिपुर बजार इकाईका अध्यक्ष घनश्याम उपाध्यायले गाउँपालिकाले कुनै पनि काम गर्दा स्थानीयसंग समन्वय गरी अगाडि बढ्नुपर्ने भएपनि त्यो हुन नसकेको गुनासो गरेका छन् । उनले भने, ‘गाउँपालिकाले हाम्रो कुरा सुन्ने गरेको त छ तर, कार्यान्वयन गर्न तर्फ ध्यान दिएको छैन् ।’

‘गाउँपालिकाले बन्दिपुरमा आउने पर्यटकको बसाइ लम्ब्याउन तथा यहाँका पर्यटन व्यवसायीहरुको आर्थिक पाटोलाई मजबुत बनाउने उद्देश्यका साथ विभिन्न आकर्षक पर्यटकीय पूर्वाधारका योजना अगाडि ल्याएको छ । यसको हाम्रो साथ सहयोग छ, हामीले कुनै विरोध गरेका छैनौं’, अध्यक्ष उपाध्यायले भने, ‘बन्दिपुरको पहिचान बोकेका ऐतिहासिक, प्राकृतिक सम्पदा क्षेत्रमा काम गर्दा स्थानीयसंग समन्वय गरी अगाडि बढ्नुपर्छ ।

यहाँका प्राकृतिक, ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदाहरु संरक्षण गर्नु हाम्रो दायित्व भएकाले विकासका नाममा विनास होइन संरक्षण गर्दै विकासका काम अगाडि बढाउनुपर्छ भन्दै हामीले आवाज उठाएका हौं ।’
यस्तै, गाउँपालिकाले स्थानीय बासिन्दा तथा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसंग सोमबार छलफल गरेको छ । सहभागिहरुले थानीमाई उकालोको ढुंगा फुटाइएको विषयमा आपत्ति जनाउँदै क-कस्को कारणले उक्त कार्य भयो दोषी पत्तालगाई कारवाही गर्न माग गरेका थिए ।

छलफलका क्रममा गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले थानीमाई-मणिमुकुन्देश्वरी पर्खाल निर्माण कार्य जारी रहेको र मापदण्ड भित्र रहेर काम गर्न निर्माण व्यवसायीलाई निर्देशन गरिएपनि निर्माण व्यवसायीबाट केही लापरवाही भएको स्वीकार्यका छन् । अध्यक्ष थापाले पर्खाल निर्माण सम्झौता गर्दा तोकिएको मापदण्ड भन्दा बाहिर गएर केही काम भएको र उक्त कार्यका लागि गाउँपालिका तथा सम्बन्धित अन्य व्यक्तिसंग कुनै समन्वय नभएको स्पष्ट पारेका थिए ।
‘बन्दिपुरको पर्यटन प्रवर्द्धनका लागि नै गाउँपालिकाद्वारा पूर्वाधार निर्माण कार्य भइरहेको छ, यी निर्माणाधिन पूर्वाधार समयमै सम्पन्न गर्नु हामी सबैको दायित्व हो’, अध्यक्ष थापाले भने, ‘निर्माणकर्मीको लापरवाहीले थानीमाई उकालीमा केही प्राकृतिक ढुंगामा क्षति पुर्‍याइएको हुँदा त्यसको छानबिन गरी निर्माण व्यवसायीलाई कारवाहीको दायारामा ल्याउँछौं ।’

गाउँपालिका र स्थानीय सरोकारवालाहरु बीच भएको छलफल पश्चात थानीमाई उकालीमा भएको क्षतिको अध्ययन गर्न छानबिन समिति बनाउने सहमति भएको छ । क्षतिको मूल्याङ्कन गरी निर्माण व्यवसायीलाई क्षतिपूर्ति तिराउने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker