प्रहरीले किटानी जाहेरी लिन नमानेपछि पीडित पक्ष आन्दोलित
भञ्ज्याङ समाचारदाता/दमौली

प्रहरी कार्यालय लमजुङले किटानी जाहेरी लिन नमानेपछि पीडित पक्ष आन्दोलित छन् । गत मंगलबार तनहुँको भानु नगरपालिका-९ बाइसजा“गरघर भइ लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबारस्थित फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको मस्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर मृत्यु भएको थियो ।
सोही घटनामाथी छानबिन र दोषी पहिचान गरी कारवाहीको माग गर्दै आएका आफन्तले प्रहरीमा जाहेरी दिन जाँदा प्रहरीले अनेक बाहाना गरी दर्ता नलिएको भन्दै आफन्त र स्थानीयले बिहीबार दिउँसो ४ बजेदेखि सडक अवरुद्ध गरेका छन् ।
‘बिहान करिव ९ बजेतिर हामी प्रहरीकोमा किटानी जाहेरी दिन गएका थियौं’, भानु-८ का सिताराम बजगाईले भने, ‘प्रहरीले कहिले कुन कहिले कुन कागजात पुगेन भनि अनेक बाहाना बनाएर जाहेरी लिन मानेन ।’
यस्तै, कानुनी प्रक्रियमा जानु भन्दापनि पैसामै मिलाउने कोशिष गरिएको उनले बताए । कानुनी प्रक्रियाबाट घटनाको छानबिन र दोषीलाई कारवाही नभइन्जेल आन्दोलित रहने स्थानीयले बताएका छन् ।
छात्रवासमा बसेका श्रेष्ठको आफन्तलाई जानकारी नै नदिइ छात्रवास बाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नै नगरी शव लगेको, विद्यालयका संस्थापक बाबुराम पौडेल, मृतक श्रेष्ठसँगै पौडी खेल्न गएका विद्यालयका शिक्षक र अर्का विद्यार्थीमाथि छानबिन हुनुपर्ने माग गर्दै स्थानीयवासीको विरोध प्रदर्शन गर्दै आएका छन् ।
भानु-३ तुरतुरेदेखि भानु-१० कालिमाटीसम्म स्थानीयले बाटो आवरुद्ध गरेका छन् । बैकल्पिक बाटोको माध्यमबाट केही सवारीसाधनहरु कटाइएको तनहुँ प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।










