तनहुँमा स्थानीय तह निर्वाचनको सरगर्मी बढ्यो, दलहरु चुनावी गतिविधिमा व्यस्थ

कृष्ण न्यौपाने

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा चुनावी सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलले उम्मेदवार सिफारिसको कामलाई अगाडि बढाएपछि चुनावी सरगर्मी ह्वात्तै बढेको हो । मुख्य तीन ठूला राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको कामलाई अगाडि बढाएका छन् ।

चार नगरपालिका र छ गाउँपालिका रहेको तनहुँमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) उम्मेदवार छनोटमा लागिपरेको छ । नेकपा एमाले तनहुँले चैत ३० गतेभित्रै स्थानीय तहका उम्मेदवारको सिफारिस गर्ने निर्णय गरेको छ । वडा कमिटी र पालिका कमिटीबाट सिफारिस भई आउने उम्मेदवारको नामावली चैत ३० गतेभित्र प्रदेश कमिटीलाई सिफारिस गरिने एमाले तनहुँका उपसचिव एवं प्रचार विभाग प्रमुख प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।

एमालेले वडा कमिटी र स्थानीय पालिका कमिटीलाई भने चैत २५ गतेभित्र उम्मेदवार सिफारिस गरेर जिल्ला कमिटीमा पठाउन निर्देशन दिएको छ । “सम्बन्धित कमिटीबाट सिफारिस भई प्राप्त नाममध्ये जिल्ला कमिटीले थप अध्ययन गरेर चैत ३० गतेभित्र प्रदेश कमिटीलाई नाम सिफारिस गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो ।

वडाध्यक्षलाई सम्बन्धित वडा कमिटीको सिफारिसमा जिल्ला कमिटीले नै उम्मेदवारको निर्णय गर्ने र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारी स्थानीय पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने बताइएको छ । घिरिङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट पाँच जना आकाङ्क्षी रहेका छन् । उक्त गाउँपालिकाको अध्यक्षमा एमालेबाट वर्तमान अध्यक्ष रनबहादुर रानासहित गण्डकी प्रदेश कमिटीका सदस्यद्वय विष्णुभक्त सिग्देल र होमबहादुर थापा, गाउँपालिका कमिटीका अध्यक्ष विष्णुप्रसाद ढकाल र जिल्ला कमिटी सदस्य इन्द्र थापा आकाङ्क्षी रहनुभएको छ ।

भानु नगरपालिकाका प्रमुख पदमा नेकपा एमालेबाट सात जना आकाङ्क्षी देखिएका छन् । प्रमुखको आकाङ्क्षीमा सुनिल पाण्डे, सीताराम बजगार्इं, हरिबहादुर पाण्डे, कलाकुमारी ढकाल, शङ्कर रानाभाट, कृष्णराज ढकाल र श्याम थापा रहनुभएको छ । त्यस्तै प्रमुखमा रुपा लामा, देवु विष्ट, भगवती देउजा र गीता अधिकारी आकाङ्क्षी हुनुहुन्छ ।

नेपाली कांग्रेसले तनहुँका सबै पालिकाबाट आकाङ्क्षीको नामावली सङ्कलन गरेको छ । चार नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका साथै वडाध्यक्ष र वडा सदस्यका आकाङ्क्षीको नामावली सङ्कलन गरिएको कांग्रेस तनहुँले जनाएको छ । कांग्रेसका सबै पालिकास्तरीय समितिले आकाङ्क्षीको नाम सङ्कलन गरेका छन् । त्यसका लागि आफूले चाहेको पदमा उम्मेदवारी दर्ता गरिएको छ । उम्मेदवारी दर्ताका लागि शुल्क पनि तोकिएको छ ।

व्यास नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसभित्र १५ जनाले आकाङ्क्षा व्यक्त गरेका छन् । वर्तमान प्रमुख वैकुण्ठ न्यौपानेदेखि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेसम्मले प्रमुखका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । पूर्वसभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, पूर्वसचिव विश्व बाँस्तोला, अशोककुमार श्रेष्ठ, समुन्द्र गोदार, डम्बरबहादुर अधिकारी, शेषरमण न्यौपाने, हरिदत्त पौडेल, शङ्कर पौडेल, विद्या खनाल, वृषराज श्रेष्ठ र दीपकराज जोशीले प्रमुखका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

व्यास नगरपालिकाको प्रमुख पद दाबी गर्दै नेपाली कांग्रेसको नगर समितिमा आवेदन दर्ता गराउँदै हालका नगरप्रमुख बैकुण्ठ न्यौपाने । तस्विर : भञ्ज्याङ

यसैगरी उपप्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ । हालका उपप्रमुख मिरा जोशीसहित नारायणी अधिकारी, कल्पना पोख्रेल, इन्दिरा दरै, नोमा थापा, मुन्नि शाही ठकुरी र वीणा कैनीको उम्मेदवारी परेको छ ।

त्यस्तै म्याग्दे गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट सात जनाले दाबी गरेका छन् । कांग्रेस म्याग्देका सचिव गौरवराज रानाका अनुसार अध्यक्षका लागि वर्तमान अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, रामकृष्ण विक, रामभक्त घिमिरे, जीतराज राना, पवित्रा घिमिरे र हुतमणि अधिकारीले आकाङ्क्षा व्यक्त गर्नुभएको छ । यसैगरी उपाध्यक्ष पदका लागि लक्ष्मी वाग्ले, कुमारी राना, जानकी थापा र शुभद्रा घिमिरेले आकाङ्क्षा व्यक्त गर्नुभएको छ ।

शुक्लागण्डकी नगरपालिकाको प्रमुखका लागि कांग्रेसबाट १० जनाले आकाङ्क्षा व्यक्त गरेका छन् । हालका प्रमुख किसान गुरुङसँगै व्यवसायी कृष्णराज पण्डित, प्राध्यापक डा कृष्णप्रसाद गौतम, महेश्वर भट्टराई, भक्तबहादुर श्रेष्ठ, सन्तोष घिमिरे, खेमराज अधिकारी, श्रीराम सुवेदी, हरि वाग्ले र माधव भट्टराईले प्रमुखको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उपप्रमुखमा तारा अधिकारी, चन्द्रकला भट्टराई, टीकामाया पौडेल, पम्फा थापा, प्रकाश विक, कृष्णप्रसाद रेग्मी, रेशमलाल पौडेल र बीना खनालले उम्मेदवारी दर्ता गराएको कांग्रेस शुक्लागण्डकीका सहसचिव भीष्म श्रेष्ठले जानकारी दिनुभयो ।

भानु नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसका १५ जनाले आकाङ्क्षा देखाएका छन् । हालका प्रमुख उदयराज गौलीले पुनःप्रमुखका लागि इच्छा देखाउनुभएको छैन । उपप्रमुख आशा थापाले प्रमुखका लागि इच्छा व्यक्त गर्नुभएको छ । क्षेत्रीय सभापति श्याम मौराती, पूर्वसचिव लक्ष्मी आचार्य, चिनु पोख्रेल, आनन्दराज त्रिपाठी, टेकबहादुर गुरुङ, राजन श्रेष्ठ, विश्वेश्वर खनाल, विपिन्द्र अधिकारी, कमल पण्डित, सहदेव अधिकारी, गोविन्दराज सिलवाल, उत्तमप्रसाद लोहनी, छत्रराज भण्डारी र अर्जुन अधिकारीले प्रमुख दाबी गर्नुभएको छ ।

उपमेयरका लागि रामकुमार श्रेष्ठ, उर्मिला पन्त केसी, विष्णु भण्डारी, दुर्गा भण्डारी, सविता उप्रेती र सङ्गीता जिसीले दाबी गर्नुभएको छ । भिमाद नगरपालिकाको प्रमुखका लागि कांग्रेसभित्र सात जना आकाङ्क्षी देखिनुभएको छ । प्रमुखका लागि नगर सभापतिदेखि क्षेत्रीय सभापतिसम्मले इच्छा व्यक्त गर्नुभएको छ । भिमाद नगरसभापति अरविन श्रेष्ठ, क्षेत्रीय सभापति चूडामणि खनाल, जिल्ला सहसचिव मिलन आले, इन्दिरा खनाल, गोपालप्रसाद पराजुली, श्यामसुन्दर जोशी र रामकृष्ण रानाले इच्छा प्रस्तुत गर्नुभएको छ ।

उपप्रमुखका लागि आठ जनाको दाबीच छ । उपप्रमुखका लागि रेशम गैह्रे, इन्द्रकुमारी सिग्देल, याममाया थापा, टुकामणि सिग्देल, निरञ्जना खनाल, रोमाया थापा, केवलसिं ठकुरी र देवी सुवेदीको दाबी छ । कांग्रेस भिमाद सभापति अरविन श्रेष्ठले प्रमुख÷उपप्रखुका आकाङ्क्षीबीच छलफल जारी रहेको बताउनुभयो । भिमाद निवासी कांग्रेस जिल्ला सभापति जीतप्रकाश आलेले भने प्रमुखका लागि दाबी गर्नुभएको छैन । कांग्रेसका अन्य तहका सबै सभापतिले प्रमुख/अध्यक्षमा दाबी गरिरहँदा उहाँले भने प्रमुखका लागि दाबी नगर्नुभएको हो ।

ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि १३ जनाले इच्छा व्यक्त गरेका छन् । कांग्रेसको राम्रो पकड रहेको यो पालिकामा अध्यक्ष बन्नका लागि १३ जनाले दावा गरेका हुन् । अध्यक्षका लागि संविधानसभा सदस्य झुलबहादुर आलेले पनि इच्छा व्यक्त गर्नुभएको छ । यस्तै हालका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ पनि पुनःदोहोरिन चाहनुभएको छ । तरुण नेता जीवनचन्द ठकुरीले पनि अब युवाले नेतृत्व पाउनुपर्ने भन्दै अध्यक्षका लागि इच्छा व्यक्त गर्नुभएको छ ।

यस्तै मोहन गिरी, पर्शुराम गिरी, इन्द्र आले, तिलबहादुर थापा, दुर्गाबहादुर राना, श्रीराम आले, लालबहादुर थापा, मथुराकृष्ण श्रेष्ठ, महेन्द्र अधिकारी र अशोक गिरीले पनि अध्यक्षको चाहना गर्नुभएको छ । उपाध्यक्षका लागि हालकी उपाध्यक्ष गिनुमाया थापा, सविना राना, पार्वती गिरी, लक्ष्मी मल्ल र इन्द्र आलेले चाहना राखेका राख्नुभएको छ ।

नेकपा माओवादी केन्द्रले पनि स्थानीय तह निर्वाचनको तयारी थालेको छ । माओवादी केन्द्र व्यास नगरसमितिले एक हजार १११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवार छनोटका लागि चैत ३० गतेभित्र सम्बन्धित वडाबाट तीन÷तीन जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गर्न निर्देशन दिइएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker