बन्दीपुरमा निःशुल्क स्वास्थ्य शिविर, ६०१ ले लिए उपचार सेवा
भञ्ज्याङन्यूज

तनहुँको बन्दीपुर-४ स्थित बन्दीपुर अस्पतालमा दुइ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा ४१८ महिला र १८३ पुरुष गरी ६०१ जनाले स्वास्थ्य सेवा लिइएको बताइएको छ ।
बन्दीपुर गाउँपालिकाको कार्यालय, बन्दीपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरको संयुक्त आयोजनामा विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा मृगौला जाँच, थाइराइड परीक्षण, नाक कान घाँटी, इएनटी जाँच तथा मुटुको भिडियो एक्स-रे, इसीजी सेवा, भिडियो एक्स-रे, युएससी सेवा, हाडजोर्नी लगायतका रोगको परीक्षण, क्यान्सर सम्बन्धी सचेतना तथा त्यस सम्बन्धी रोगको निःशुल्क औषधि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले बताए ।

बन्दीपुरबासिले यस अघि विभिन्न रोगको जाँच गर्नका लागि काठमाडौं, पोखरा तथा चितवन धाउनुपर्ने बाध्यता रहेकामा अब भने गाउँपालिकाले विभिन्न रोग सम्बन्धी जाँच हरेक महिना बन्दीपुर अस्पतालमै शिविर सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बतौ ।
गाउँपालिकाले बन्दीपुर अस्पताल लगायत विभिन्न वडाका स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रमा समय समयमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको छ । विभिन्न रोगहरूको पहिचान गरी उक्त रोगको निदानको लागि गाउँपालिकाले विभिन्न अस्पतालहरूमा समेत उपचारको लागि सहजीकरण गरेको गाउँपालिका अध्यक्ष थापाले बताए।










