बन्दिपुरका माओवादी केन्द्रका उम्मेदवार थापा र गुरुङ भन्छन् : नागरिकका आधारभूत आवश्यकताका साथै अधुरा काम पुरा गर्छौ (प्रतिवद्धतापत्र सहित)

भञ्ज्याङ समाचारदाता/दमौली

जनताको आधारभूत आवश्यकता सहित ८ बुँदे प्रतिवद्धता जनाउँदै नेकपा माओवादी केन्द्रबाट पूर्णसिंह थापा र करुणा गुरुङले पुनः बन्दिपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष पद दाबा गरी उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा होमिएका छन् ।

गत बैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय बन्दिपुरमा उम्मेद्वारी दर्ता गराएसंगै उनीहरु अहिले मत माग्दै मतदाताको घरदैलोमा पुगेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट थापा र गुरुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा बिजयी भएका थिए । आफ्नो अघिल्लो कार्यकालमा थालनी गरेका अधुरा काम सम्पन्न गर्नलाई पुनः सोही पदमा पार्टीले जिम्मेवारी दिएर पठाएको अध्यक्षका उम्मेदवार पूर्णसिंह थापाले बताए ।

‘पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी र पूर्वाधार, संमृद्ध बन्दिपुर गाउँपालिका निर्माणको मुल आधार’, भन्ने नारा सहित आफु यतिबेल मतदाताको घरदैलोमा पुगेको उनले बताए । बन्दिपुर एक पर्यटकीय नगरी भएकाले पर्यटनको मध्यमबाट बन्दिपुर र बन्दिपुरबासीलाई संमृद्ध बनाउनका लागि पर्यटन क्षेत्रको बिकासलाई आफ्नो प्रतिवद्धता पत्रमा प्राथमिकता दिएका छन् । योसंगै स्वास्थ्य, उद्योग तथा व्यापार, कृषि/पशु, युवा, रोजगार, खेलकुद, शिक्षा, सडक भौतिक पूर्वाधार, सामाजिक सुरक्षा तथा सामाजिक न्यायका क्षेत्रलाई समेत प्राथमिकता दिइएर चुनावी मैदानमा उत्रिएको उपाध्यक्षकी उम्मेदवार करुणा गुरुङले बताइन् ।

गाउँपालिकाकी उपाअध्यक्षकी उम्मेद्वार गुरुङले भनिन्, ‘ज्येष्ठ नागरिक, दीर्घरोगी र गरिबीको रेखामूनी रहेका हरेक जनतालाई स्वास्थ्य उपचारको व्यवस्था गर्ने हामीले प्रतिवद्धतामा उल्लेख गरेका छौं । स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै बन्दिपुर अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी सर्वसाधारणको उपचारमा आमुल सुधार गर्ने हामीले योजना बनाएका छौं ।’

गर्भवतीलाई निःशुल्क स्वास्थ्य जाँच, एम्बुलेन्स र उपयुक्त पोषणको व्यवस्था, गरिबीको रेखामुनि रहेकालाई निःशुल्क स्वास्थ्य बिमा, डाइलासिस बिरामीलाई यातायातको सुविधा, आधारभूत स्वास्थ्य केन्द्रमा वर्थिङ्ग सेन्टरको व्यवस्था लगायतको सेवा गाउँपालिकालेनै सहज रुपमा प्रदान गर्ने योजना बनाइएको उपाध्यक्षकी उम्मेदवार गुरुङले बताइन् ।

यस्तै विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गर्दै गाउँपालिकामा पर्यटक भित्र्याई गाउँबासिलाई आर्थिकसंग जोड्ने योजना बनाएको अध्यक्षका उम्मेदवार थापाले बताए । थापा र गुरुङका अनुसार अघिल्लो कार्यकालमा निर्माण थालनी गरिएको मिनि ग्रेटवललाई पुनः गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष भएर आएपछि पूर्णता दिइनेछ । यस्तै, डिपिआर मात्र गरी छाडिएको शिशाको पुल, टि्र हाउस, बन्दिपुरमा अतिथि गृह, विमलनगरमा रहेको सिद्ध गुफामा फूलबारी सहितको पार्क निर्माणका साथै सिद्धगुफालाई स्तरोन्नती गरिने लगायतका कार्यहरु गर्ने प्रतिवद्धता जनाएका छन् ।

पर्यटनलाई खेलसंगै जोड्दै बन्दिपुरमा जीपलाइन, स्काइसाइक्लिङ्गको पूर्वाधार निर्माण गर्ने योजना रहेको थापाले बताए । उनले भने, ‘बन्दिपुरलाई डिजिटल म्यापबाट हेर्ने व्यवस्था मिलाउँदै सबै होमस्टेलाई डिजिटलाईजड् गर्ने र नमूना होमस्टेमा अतिथि सत्कार गृह पनि निर्माण गरिने छ । बन्दिपुरमा प्राकृतिक भ्यू पोइन्ट पनि निर्माण गरिने छ । धरमपानीको उपयुक्त स्थान चयान गरी तराइ, पहाड र हिमाललाई एकै साथ देख्न सकिने गरी प्राकृतिक भ्यू टावर निर्माण गरिनेछ ।’

यस्तै, डुम्रे बजार क्षेत्रमा व्यापार व्यवसाय गरेका सम्पूर्ण समुदायलाई समेटेर व्यवसायिक कार्यदल बनाई समस्याहरुको समाधान गर्ने, बन्दिपुरको दक्षिण वेशीको क्षेत्रमा घरेलु उद्योग औद्योगिक क्षेत्र निर्माण गर्ने, भुँडाटार, घरेलु उद्योग क्षेत्रमा तत्काल काम अगाडि बढाउने, गाउँपालिकाका प्रत्यक वडामा सुपथ सहकारी पसल सञ्चालन गर्ने र होटल व्यवसायलाई व्यवस्थित गरिने लगायतका प्रतिवद्धता अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले जनाएका छन् ।

ग्रामीण क्षेत्र भएको हुँदा कृषि र पशुलाई प्राथमिकता दिंदै कृषकलाई उत्पादनमा आधारित अुनदान कार्यक्रम ल्याउने गाउँपालिकाका उपाध्यक्ष पदकी उम्मेदवार गुरुङले बताइन् । उनले भनिन्, ‘कम परिश्रम र सहभागितामा धेरै उत्पादन होस् भनि चक्लाबन्दी अभियानलाई पनि प्राथमिकतामा राखिएको छ ।’

‘कृषकहरुलाई कृषि पेशामा आकर्षित गर्न विभिन्न अनुदान तथा तालिमहरु पनि ल्याउनेछौं’, उनले भनिन्, ‘कुन क्षेत्रमा कुन उपजको उत्पादन हुन्छ त्यही अुनसारको पकेट क्षेत्र बनाई अनुदानको पनि व्यवस्था गर्ने छौं । कृषकलाई आवश्यक औजार पनि न्यायीक ढङ्गले उपलब्ध गराउनेछौं । दुध उत्पादनमा दिंदै आइएको अनुदानलाई पाँच वर्षभत्र प्रति लिटर ५ रुपैयाँ पुर्‍याउने लक्ष्य पनि छ ।’

यस्तै, बैदेशिक रोजगारीमा भौतारिरहेका युवाहरुलाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने अध्यक्षका उम्मेद्वार थापाले बताए । उनले भने, ‘युवाहरुलाई गाउँमै स्वारोगार बनाउने कोशिस छ तर विदेश जान चाहनुहुने युवाहरलाई पनि सीपमूलक तालिमको व्यवस्था गर्ने छौं । साथै गाउँमा विभिन्न युवा क्लव र आमा समूहलाई व्यवसायिक तालिम उपलब्ध गराउने छौं ।’

गाउँपालिकामै गुणस्तरीय शिक्षा उपलब्ध गराइ मावि तहका विद्यालयमा अनिवार्य छात्रावासको व्यवस्था र आवश्यक विद्यालयमा स्कूल बसको पनि व्यवस्था गर्ने उनले बताए । यस्तै, एसइइ उत्तीर्ण विद्यार्थीलाई पढ्दै कमाउँदै योजना लागु गर्ने उनले बताए ।

यस्तै, गाउँपालिका भित्रका सडक खण्डलाई कालोपत्रे गर्ने र फराकिलो बनाउने प्रतिवद्धता जनाएका छन् । गाउँपालिकामा एक घर एक धारा अभियान सञ्चालन गरी शुद्ध खानेपानीको व्यवस्था गर्ने उपाध्यक्षका उम्मेदवार गुरुङले बताइन् । खरको छानामुक्त, बिजुलीको काठको पोल मुक्त पालिका, बसपार्कलाई व्यवस्थित गरिने, सामाजिक सुरक्षा भत्ता वडामा पुर्‍याउने लगायतका प्रतिवद्धता उनीहरुले जनाएका छन् ।

आफुले सुरु गरेर पुरा गर्न नसकेको विकास निर्माणका काम पुरा गर्नलाई नै पुनः अध्यक्षमा उम्मेद्वारी दिएको थापाले बताए ‘पाँच वर्षसम्म गाउँपालिकामा के आवश्यकता छ, के गर्दा गाउँपालिका र यहाँका बासिन्दाले संमृद्धि हासिल गर्छन् भनेर राम्ररी बुझियो’, उनले भने, ‘त्यही अनुभव सहित काम गर्न हामीलाई नै सजिलो हुन्छ भनि पुनः त्यही पदमा पार्टीले जिम्मेवारी दिइएको छ । अबको पाँच वर्षमा ति सबै अधुरा काम र गर्न इच्छा हुँदाहुँदै पनि नभ्याएका कामहरु अगाडि बढाउँछौं ।’

उम्मेदवारद्वय थापा र गुरुङको प्रतिवद्धताको पूर्णपाठ :

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker