तनहुँमा आठ हजार पशुमा कृत्रिम गर्भाधान

तनहुँमा एक वर्षको अवधिमा करिब आठ हजार पशुमा कृत्रिम गर्भाधान गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०७९/८० मा जिल्लामा सात हजार नौ सय १६ पशुमा कृत्रिम गर्भाधान गरेको हो ।

केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार उक्त अवधिमा चार हजार तीन सय ५८ गाई, तीन हजार तीन सय ८८ भैँसी र एक सय ७० बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । गर्भाधान गरिएकामध्ये गाईमा ५५, भैँसीमा ५० र बाख्रामा ४० प्रतिशत सफल भएको डा श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा कूल नौ ठाउँमा कृत्रिम गर्भाधान केन्द्र रहेका छन् । विगत वर्षभन्दा आव २०७९/८० मा कृत्रिम गर्भाधान १५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको डा श्रेष्ठको भनाइ छ ।

सरकारले नश्ल सुधार कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । पशुमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननका माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा श्रेष्ठले बताउनुभयो ।

कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्नेछन् । साथै जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरु आयात गर्नुपर्दैैन । नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको छ ।

कार्यालयले सोही अवधिमा विभिन्न रोगबाट प्रभावित ११ हजार दुई सय ६० पशुलाई खोप लगाएको छ । डा श्रेष्ठका अनुसार १० हजार पाँच सय पशुलाई ‘लम्पी स्किन’विरुद्ध र सात सय ६० कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ ।

जिल्लामा पछिल्लो समय पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । विदेशबाट फर्किएका युवा पशुपालनमा जोडिएका छन् । विदेशमा गर्ने दुःख स्वदेशमा गर्दा यहीँ मनग्य आम्दानी हुने कृषकको भनाइ छ ।

भेटेरीनरी अस्पताल तथा जिल्लाका स्थानीय तहले अनुदानका कार्यलाई प्राथमिकता दिएपछि कृषक यसतर्फ आकर्षित छन् । सोह्र वर्ष वैदेशिक रोजगारीमा रहनुभएका म्याग्दे गाउँपालिका–४ सिस्नेरी निवासी बमबहादुर थापाले स्वदेश फर्किएर बङ्गुरपालन गरिरहनुभएको छ । कुवेत छँदा आम्दानीको स्रोत राम्रै रहे पनि नेपालमै गएर केही गर्ने हुटहुटी बोकेर थापा बङ्गुरपालनमा लाग्नुभएको हो ।

नेपालमा रोजगारीको सम्भावना नदेखिएपछि कुवेत पुग्नुभएका थापाले स्वदेशमै फर्किएर बङ्गुरपालन सुरु गर्नुभएको हो । विदेशमा राम्रो कमाई हुँदाहुँदै पनि नेपालमा आएर परिवारसँगै केही गरौँ भन्ने भावनासहित थापाले लाङघाली कृषि फार्म दर्ता गरी बङ्गुरपालनलाई अगाडि बढाउनुभएको छ ।

म्याग्दे गाउँपालिका–६ का अमृत थापा र गुरुप्रसाद पौडेलले रु छ करोड लगानी गरेर पोल्टी फार्म सञ्चालनमा ल्याउनुभएको छ । जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालित पोल्टी फार्ममा हालसम्म रु छ करोड लगानी भएको छ ।

पोल्टी फार्ममा हाल १९ हजार लेयर्स कुखुरा रहेका छन् । फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन हुँदै आएको छ । फार्मका सञ्चालक थापाका अनुसार त्यहाँ नौ जनाको परिवारले रोजगारी पाएका छन् ।

व्यवसाय सञ्चालनका क्रममा मासिक रु ३५ लाख खर्च हुँदै आएको छ । उन्नाइस हजार कुखुरालाई दैनिक रु एक लाख २० हजार दानामा खर्च हुँदै आएको छ । उक्त पोल्टी फार्म ५३ रोपनी जग्गामा फैलिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker