तनहुँका छ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथग्रहण र पदस्थापना
भञ्ज्याङ समाचारदाता/दमौली
स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट तनहुँका पाँच पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले शपथग्रहण गरेका छन् । तनहुँको मुख्य निर्वाचन कार्यालयमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाले पालिकामा निर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई विहीबार शपथग्रहण गराएका हुन् ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले न्यायाधीश ढुङ्गाना समक्ष शपथग्रहण गरेका हुन् ।
स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष तथा नगरपालिकाका प्रमुखले न्यायाधीश समक्ष शपथग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । यस्तै उपाध्यक्ष तथा उपप्रमुखहरुले सम्बन्धित पालिकाको अध्यक्ष र प्रमुखसँग शपथग्रहण गर्ने कानूनी प्रावधान छ । शपथग्रहण पश्चात मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले समृद्ध पालिका बनाउने अभियानमा लाग्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।
स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ३० गते भएको मतदानबाट तनहुँका ८ वटा पालिकाको मतपरिणाम र्सार्वजनिक भइसकेको छ । अन्तिम मतपरिणाम सार्वजनिक भएसंगै देवघाट, आँवुखैरेनी, म्याग्दे, घिरिङ, ऋषिङ गाउँपालिका र भिमाद नगरपालिकाका अध्यक्ष/प्रमुखहरुले सपथग्रहणसंगै पदस्थापना समेत गरेका छन् । पदस्थापनासंगै प्रमुख तथा अध्यक्षहरुले उपप्रमुख तथा उपाध्यक्ष, वडाध्यक्ष, सदस्यहरुलाई शपथग्रहण गर्राई पदस्थापना गराएका छन् ।
यस्तै, सपथग्रहणसंगै जनप्रतिनिधिहरुले निर्वाचनको समयमा मतदातासंग गरेको प्रतिवद्धता अनुसार काम गर्ने बताएका छन् । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले भने, ‘निर्वाचनको समयमा मतदातासंग आफुले गरेको प्रतिवद्धता र मतदानाका अपेक्षानुसार काम गर्ने योजना बनाएको छु ।’
‘जनताका समस्या समाधानलाई मुख्य प्राथमिकतामा राख्दै जनताको जीवनसंग जोडने, जनतालाई समृद्ध बनाउने खालका काम तथा योजनालाई प्राथमिकताका साथ अगाडि बढाउँछु’, उनले भने, ‘अघिल्ला जनप्रतिनिधिले सुरु गरेको तर अधुरा रहेका योजनाहरुलाई निरन्तरता दिंदै जनताको मनोभावना र आवश्यकाता पहिचान गरी काम गर्ने छु ।’
स्थानीय तह निर्वाचन अन्तर्गत बिहीबारसम्म तनहुँका आठ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका आठ पालिकामध्ये नेकपा एमालेले चार, नेपाली कांग्रेसले तीन र नेकपा माओवादी केन्द्रले एक पालिका जितेका छन् । भानु र व्यास नगरपालिकाको मतगणना भने जारी रहेको छ ।
नेकपा एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष, भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुख र बन्दिपुर गाउँपालिकाको अध्यक्ष जितेको छ । नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष, बन्दिपुर गाउँपालिकाको उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकाको प्रमुख जितेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, देवघाट गाउँपालिकाको उपाध्यक्ष र शुक्लागण्डकीको उपप्रमुख जितेको छ ।
निर्वाचित जनप्रतिनिधिहरुले अब जनताको आधारभूत आवश्यकातासंगै स्थनीयस्तरमै युवा रोजगार, सीप र व्यवसायी मुलक शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा उत्पादित उपजको बजारीकरण लगायतका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने व्यास-४ का प्रताप गुरुङ बताउँछन् ।
उनले भने, ‘जनताका आधारभूत आवश्यकातासंगै जिविकोपार्जन, उत्पादन वृद्धिका कार्यक्रमका साथै पालिका र मुलुककै अर्थ तन्त्रलाई माथि उठाउने हिसावले काम गर्नुपर्छ ।’ यस्तै, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले नवनिर्वाचित जनप्रतिनिधिले जनताको आर्थिक समृद्धिलाई उकास्ने र स्थानीयस्तरमा रोजगारीको वातावरण सृजना गर्ने, कृषि, पशुपालनको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
वैशाख ३० गते भएको मतदानबाट तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल, देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, उपाध्यक्षमा भुवनसिं गुरुङ, बन्दिपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा र उपाध्यक्षमा पञ्चमाया गुरुङ निर्वाचित भएका छन् ।
शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कृष्णराज पण्डित, उपप्रमुखमा खुमबहादुर विक, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा, भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे निर्वाचित भएका छन् ।
व्यास नगरपालिकाको वडा नं. ८ को रिस्ती फेदीको मतदान केन्द्रमा वैशाख ३० गते भएको निर्वाचन कार्य रद्ध भई जेठ ४ गते पुनः मतदान गरिएको थियो । पुनः मतदान पश्चात बुधबार रातीबाट मतगणना कार्य चलिरहेको छ । व्यास नगरपालिकाको मतपरिणामलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रतिष्ठा र पूर्व सहमाहमन्त्री गोविन्दराज जोशीको शक्ति परीक्षणका रुपमा हेरिएको छ ।