पाँचौँ शुक्लागण्डकी महोत्सव–२०८२ : आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई चलायमान बनाउँदै

दुलेगौंडा : शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा पाँचौँ शुक्लागण्डकी महोत्सव–२०८२ यतिबेला उत्साहजनक रूपमा जारी रहेको छ। तनहुँको बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा सञ्चालन भइरहेको महोत्सवले स्थानीय स्तरमा आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई चलायमान बनाएको छ।
आइतबार आयोजित सांगीतिक कार्यक्रममा कलाकार श्याम राना, होमेश भण्डारी, सुमन थापा र स्बाल सञ्जालको प्रस्तुतीले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो। उनीहरूको प्रस्तुतीसँगै महोत्सव परिसरमा उपस्थित दर्शकहरू उत्साहपूर्वक नाचेका थिए।
“आर्थिक, सामाजिक तथा खेलकुद विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव- कला, सीप र संस्कृतिको संरक्षण” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको यो महोत्सव चैत १७ गतेसम्म जारी रहने आयोजकले जनाएको छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुती, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको पदयात्रा लगायतका विविध कार्यक्रम समावेश गरिएको छ। साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता जस्ता गतिविधिहरूले महोत्सवलाई थप आकर्षक बनाएको प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए।
यस वर्ष महोत्सवमा युवापुस्तालाई लक्षित गर्दै टिकटक तथा रिल्स प्रतियोगिता समेत समावेश गरिएको छ, जसले नयाँ पुस्ताको सक्रिय सहभागिता बढाएको आयोजकको भनाइ छ।
सोमबारको कार्यक्रममा कलाकार राजन कार्की, कृष्ण गुरुङ, सरस्वती लामिछाने, शिव शर्मा लगायतका कलाकारहरूको प्रस्तुती रहने कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेमबहादुर श्रेष्ठले जानकारी दिए। त्यस्तै, सोमबार साँझ भियोमाको लाइभ कन्सर्ट आयोजना गरिने कन्सर्ट व्यवस्थापन उपसमिति संयोजक सुमन सापकोटाले बताए।
महिला उद्यमी विकास समिति तथा सम्पूर्ण वडा व्यवस्थापन समितिको सह–आयोजनामा भइरहेको महोत्सवमा घरेलु तथा कृषि उत्पादन, व्यवसायिक स्टल, रेष्टुरेन्ट, सामाजिक संस्था, सूचना केन्द्र, स्वास्थ्य शिविर लगायतका गरी कुल १ सय ७५ स्टल राखिएका छन्।
महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलता विकास तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।










