प्राणीहरुको प्राकृतिक बासस्थानमा चुनौती
डा. प्रशान्त ध्वज अधिकारी

घरको आँगनमा बिसुन सुकाउँदा झुम्मिने चराचुरुंगीहरु र घरकै दैलोनिर गुड बनाएको गौथली समेत मानिसहरुले बिसुन सुकाउन छोडेर हो कि, के हो ?, आजकाल गाउ-घरमा समेत देखिन छोडेका छन् । भूपी पाण्डेको गीत “छोटो छ जिन्दगी, फोटो खिचेर राख”, अब आउने पुस्ताले ति चराचुरुंगीहरुलाई सायद फोटोमै होला हेर्ने, र चिन्ने पनि ।
त्यसैगरी, घरकै आँगनमा खेलेका साना बालबालिकालाई चितुवाले आहारा बनाउन गायब गर्ने थाहा भयको भय, ति आमाले पनि आपनो सन्तानका अनगिन्ति चिनो “फोटो” पहिल्यै बनायर राख्थिन होला । हुन् त यो गित जिबन धान्न विदेश उड्दै गर्दा, उड्ने ब्यक्तिले आफन्तलाई आपनो चिनो “फोटो” राख्न आग्रह गरीएको जस्तो लाग्छ । किनकी ऊ परिवारबाट टाढा हुदै जाँदा, उसको फर्काइ अनिश्चित छ, सकुशल वा बाकसमा ? तर, यि तिनै सन्दर्भहरु डार्बिनको सिदान्त “प्राणीहरुको बाँच्नको लागी संघर्ष” वरिपरी नै केन्द्रित छ । यो लेख ति बालबालिकाहरुप्रति समर्पित छ, जस्ले संसार राम्रोसंग देख्न नपाई आफ्नै आँगनबाटै बिलिन हुन् पुगे ।
आजकाल गाउँ-घर र वनजंगलमा पाइने प्राणीहरुको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । प्राकृतिक विपत्ति, बासस्थानको कमी, आहाराको अभावजस्ता कारणले जंगली जनावरहरु र मानब बिच द्वन्द्व बढ्दै गई, कहिले काँही अप्रिय घटना दोरीरहेको पनि छ । यसका साथै मौसम परिवर्तन, बढ्दो खडेरी र घट्दो वर्षासँगै आयको वातावरणीय परिबर्तनले पनि प्राणीहरुको चक्रिय बिकासमा थप उल्झन उत्पन्न गरायको छ । जस्ले गर्दा मानवीय बस्ति कसरी जंगली जनावरबाट जोगाउने भन्ने आज ठुलो समस्या बन्न पुगेको छ । हुनत यस्ता घटना न्यूनीकरण गर्न व्यापक अध्ययन, अनुसन्धान गर्नुपर्ने हुन्छ ।
प्राकृतिक बासस्थानको समस्याबाट युरोपेली मुलुकहरू पनि आक्रान्त छन । जुन कुरा हालै युरोपेली वातावरण संरक्षण निकाय (इइए)ले सार्वजनिक गरेको प्रतिवेदनमा पनि देख्न सकिन्छ । केही समय अघि हाम्रै छिमेकि देश चिनमा पनि जंगली हात्तीहरुले प्राकृतिक बासस्थानलाई छोडेर गय । यात्राको क्रममा जंगल, घाँसे मैदान, ग्रामीण क्षेत्र तथा शहरी क्षेत्र पार गर्दै गर्दा, यिनीहरुले कैयौ भौतिक संरचना भत्काए भने ठूलो क्षेत्रफलमा लगाइएका मकैसहितका बाली खाएका छन् । यति लामो यात्रा तय गर्ने गरे पनि सम्भावित कारण के हो ? यसको खोजीनिति अझै जारी छ ।
हामीकोमा चाहिँ जंगली जनावरबाट हुने भौतिक क्षति मात्र हैन, मानवीय क्षतिको बढ्दो ग्राफले स्थिति भयाभह बनायको छ। घटना घटिसक्यो, तर भबिस्यमा यस्ता घट्ना नदोरियोस भन्ने हेतुले हामीले अल्पकालिन र दीर्घकालिन कदमहरु चाल्नुपर्ने हुन्छ । यस्ता कदमहरुको अलावा हामीबाट छुटेका वा हेलचक्राई भयका स-साना तथ्यहरु, जस्लाई हामीले पुनःजीवित वा लयमा राख्न सके मात्र पनि वनजंगलमा पाइने प्राणीहरुको प्राकृतिक बासस्थानको चक्र सहज रुपमा अघि बढाउँन सकिन्छ ।
आजकाल हाम्रा जंगल बनमाराको (काँढे झाडी जस्तो) अतिक्रमणमा परेको छ । यसले गर्दा घाँसे मैदान बिनास हुँदै गैरहेको छ । गाउँ-बेशी गर्दा हेरी आएको ब्यास-११, अर्चलचौरमा रहेको पुर्खाहरुले बनायको एक पोखरी आजकाल सुकिसकेको छ । हुन् त आजकाल मान्छे पनि छैनन, गाई-बस्तुहरु पनि छैनन । आँफैले देखेको हरा-भरा पोखरी र त्यसको वरिपरी लगभग बाह्रै महिना हुने हरिया घाँसे मैदानको अनुभूति अझै ताजै छ ।
पोखरीको पश्चिम दिशामा ठुला-ठुला आँप, बर-पिपलको रुखहरु (बगैचा) र त्यसको ठुलो क्षेत्रफलमा हरिया घाँस रहनुमा पोखरीको पानीको महत्वपूर्ण भूमिका थियो। ति ठुला रुखहरु पुर्खाको छनौटमा पर्नु सायद पोखरीको पानीलाई बाष्पिकरण हुनबाट जोगाउनु थियो । ताकि पानीबाट निर्माण भयको ओसिलो जमिन सजिलै घाँसे मैदानमा परिणत हुन् सकोस । यस पोखरीले साकाहारी जनावरको आहारा र प्यास मेटाउने काम हिजोको दिनमा केहि हदसम्म सहज गथ्र्यो ।
हुन् त पानी जमेको ठाँऊ वनजंगलमा हुनु, अरु जलचरलाई पनि आफ्नो बासस्थान पाउनु सरह हो । केही नभएपनि उक्त पानीमा भ्यागुता अबस्य भेटिन्छन, जस्ले सानो अंशमा भयपनी मांशाहारीको आहारा बढाउने काम गर्छ । साकाहारी जनावर बढ्नु भनेको, मांशाहारी जनावरको आहारा सहज उपलब्ध हुनु हो । यस्ता धेरै पोखरीहरु अचेल वनजंगलमा मृत अबस्थामा पुगिसकेका छन ।
अर्कोतिर वनजंगल हुँदै लामो यात्रा तय गर्ने सानातिना मुलका खोल्सीहरु खानेपानीको लागि प्रयोग गरिएको छ । उक्त यात्रा बीचबाट रोकिदा खोल्सीका वरीपरी नत हरिया घाँस उम्रन सके, नत जनावरलाई पानी खान सक्ने साना-तिना डोबिल्का वर्षातको २-३ महिनालाई छोडेर, अरु बेलामा बाँकी नै रहे । हिजो दशैको समयमा हिड्ने गोरेटो बाटोलाई फांड्ने चलनले पनि लामो बाटोको दाँया-बाँया केही समयको लागि भयपनी घाँस-चरन वा खुला क्षेत्रको उपलब्ध थियो । तर, त्यो चलन आजकाल छोडीसकेकाले गोरेटो बाटोलाई बनमारा वा अरु झाडीले ढाकिसकेको छ । बनजंगलमा न सहज पानी उपलब्ध छ, न चरण क्षेत्र ।
हामी आफै कल्पना गरौ, यो अबस्थामा के मृगले सन्तान हुर्काउन सक्ला ?, के बदेलको वा अन्य जनावरको संख्या बढन सक्ला ? हिजो देखिएका चराचुरुंगीहरु आज छैनन । गिद्ध त झन् कहाँ गयो, कहाँ । दुर्लभ पंक्षीजन्य प्रजातिहरू प्रतिकुल वासस्थानका कारण आफ्नै आँखाले लोपोन्मुख देख्नु भनेको मांशाहारी जनावरको आहारा सहज उपलब्ध छैन भन्ने पूर्व जानकारी दिनु हो । तसर्थ, प्राकृतिक वासस्थानको प्रतिकुल अवस्थाले नै होला, चितुवा बस्ति पसेको र हामीले मानवीय क्षति बेहोर्नु परेको ।
प्राकृतिक बासस्थानको विनासलाई रोक्ने र यसको संरक्षण गरी जैविक बिबिधितालाई ख्याल गर्दै समग्र प्राणीहरुको चक्रिय विकासलाई अघि बढाउन समुदायको ठूलो भूमिका हुन्छ । तर्सथ, पर्यावरणलाई कम क्षति हुने गरी काम अघि लग्ने दायित्व पनि हामी सबैको हो । अझ स्थानीय सरकारद्वारा यस्ता गतिविधिमा उचित निग्रानी राख्नुपर्ने हुन्छ । हाम्रै बस्ति नजिक ब्यास-११, फराकचौरमा ढुंगाखानी मार्फत रोजगारी सिर्जना र स्थानिय सरकारलाई आम्दानी भैरहेको छ ।
तर हामीको ध्यान नपुग्दा तलको तटीय खेतहरु अब छिटै बगरमा परिणत हुने अबस्था आइसकेको छ । अब ढुंगा निस्कनन भनेर छोडेका खाल्टालाई, त्यही छोडिएका माटोको गेग्रानले पुर्न सक्ने स्थिति थियो, तर त्यो गरीयन । तसर्थ, स्थानीय सरकारले ढुंगाखानी संचालकलाई यस्ता मामिलामा जिम्मेवारबोध बनाउनु पर्दछ । किनकी, सबै अवस्था अझै गम्भीर भईसकेको छैन। अर्कोतिर, बनमा रहेको नांगो भागमा सकिन्छ भने स्थानीय सरकार मार्फत उपयुक्त ठाउँहरुमा नयाँ पोखरी थप्दै जाँउ, नभए पुरानालाई भयपनि ब्युताउ । चाडवाडको बेलामा बाटो फांडने पुरानो चलनलाई पुनः सुचारु गरौ । यी हामीसंग रहेको जनशक्तिलाई स्थानीय सरकार मार्फत शुरुमा परिचालन गरे मात्र पनि पुग्छ ।
हामीसंग बार्है महिना बग्ने खोला, नदीनाला छन, अनि बिजुली बत्ति (उर्जा) पनि हाल सहज उपलब्ध छ । यो अबस्थामा हामीले घरको तल उक्लन प्रयोग गर्ने लिस्नोलाई आधार मान्ने हो भने, चुँदी खोला वा अन्य नदीबाट लिफि्टंग लिस्नो प्रबिधि मार्फत बन्दिपुर वा अन्य जनघनत्व भएको डाँडामा समेत खानेपानी पुर्याउन गाह्रो छैन । अबदेखि खानेपानीको स्रोत यिनै खोला, नदिको किनारालाई प्रयोग गरी वनजंगलमा बग्ने सानातिना खोल्सीहरुलाई प्राकृतिक रुपमै बग्न दिउँ । हुनत यो योजना केही मंहगो पर्न जान्छ । तर, विश्वमा खानेपानीको यस्ता स्रोत नभएका मुलुकहरुले, यो भन्दा कैयौ गुणा खर्च गरी समुन्द्रमा रहेको पानीको आयोन्स समेत फिल्टर गरी जोहो गरीरहेका छन ।
अन्त्यमा, आज बिश्वको वैज्ञानिक अनुसन्धान पदार्थहरुको सबभन्दा सानो अंशलाई (एटोमिक स्केलमा) मात्र उपयोग गर्ने प्रविधिमा गैसकेको छ । जस्ले गर्दा पृथ्वीको गर्भमा रहेका पदार्थहरुलाई भबिस्यको लागि जोगाउन सकियोस । जस्तो मानौ कि, फलामको मात्र राखेर इलेक्टि्रक डेभाइस (साधान) बनाइएको छ भने, यसको टिकाउ खिया वा अन्य कारणले लामो समयसम्म नहुन सक्छ । फलामको सट्टा सुन प्रयोग गरे, यसबाट मुक्ति त मिल्ला, तर मंहगो पर्न जान्छ ।
यस्तो अबस्थामा उक्त डेभाइसमा सुनको अणु मात्र राखे कम मुल्यमा डेभाइस तयार हुनसक्छ । तसर्थ, हरेक सानो-सानो पदार्थीय अंशको पनि उपयोग हुन् सक्ने भयकाले, प्रत्येक बस्तुहरुको महत्व छ । त्यसैले माथि उल्लेखित गरिएका घाँसे मैदान, पानी-पोखरी, पंक्षी, भ्यागुता, साना-तिना पानीका डोबिल्का, इत्यादिहरु हेर्दा साना लाग्न सक्छ । तर प्राणीहरुको चक्रिय बिकासमा यिनीहरुको भूमिका पनि कालान्तरमा डेभाइसमा सुनको अणु राखे बराबर हुनेछ । जस्ले प्राणीहरुको प्राकृतिक बासस्थानलाई केही हदसम्म संरक्षण गर्दै जंगली जनावरको आक्रमणमा परी हुने मानवीय क्षतिमा कमी गर्न मद्दत पुग्नेछ ।










