पृथ्वी राजमार्गको जामुने-कोत्रे खण्डमा १३८ संरचना भत्काइदै

भञ्ज्याङ न्यूज

पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक योजनाको पश्चिम खण्ड अन्तर्गत जामुने-कोत्रे खण्डमा १३८ वटा संरचना भत्किने भएका छन् । राजमार्ग अन्तर्गत तनहुँको जामुनेबाट कोत्रेसम्म विभिन्न किसिमका घर, टहरा, पर्खाल लगायतका संरचना हटाउन लागिएको हो ।

उक्त संरचनाको प्रतिस्थापन तथा क्षतिपूर्तिका लागि योजनाले कूल रु दुइ करोड ४५ लाख ३९ हजार ६३३ क्षतिपूर्ति रकम दिन स्वीकृत गरेको छ । सडक विस्तार गर्ने कार्यमा सडक मापदण्डभित्र निर्माण गरिएका ती संरचना भत्किने मुग्लिन-पोखरा सडक योजना -पश्चिम खण्ड)का योजना प्रमुख अमितकुमार श्रेष्ठले बताए ।

एसियाली विकास बैंकको सेफगार्ड पोलिसी स्टेटमेन्टअनुसार योजनाबाट प्रभावित केही व्यक्तिलाई प्रतिस्थापन तथा क्षतिपूर्ति रकम प्रदानका लागि बजेट स्वीकृत गरिएको हो । जिल्लाको म्याग्दे गाउँपालिकास्थित जामुने बेलचौतराबाट कोत्रेसम्म (खैरेनीटार बजारबाहेक)का घर, टहरा, पर्खाल लगायतका संरचना भत्काइनेछ ।

पृथ्वी राजमार्ग अन्तर्गत योजनाले स्तरोन्नति गर्ने सडक जामुनेबाट कोत्रेसम्मको मापदण्ड २५-२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक संरचना हटाइने उनले बताए । आयोजनाबाट प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले त्यस्ता संरचना यकिन गरी प्रतिवेदन पेश गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

क्षतिपूर्ति रकम भुक्तानी दिँदा पहिलो किस्तावापत ५० प्रतिशत सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिदिने व्यवस्था छ । दोस्रो किस्तामा घर, टहरा स्वयंले हटाइसकेपछि मात्रै वडा कार्यालयको सिफारिसका आधारमा सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा गरिदिने सो योजनाले जनाएको छ ।

यदि रु एक लाख वा सोभन्दा कम भएमा एकमुष्ट भुक्तानी दिने व्यवस्था मिलाइएको योजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सम्बन्धित पक्षबाट निर्धारित मितिसम्म पनि हटाउनुपर्ने घर, टहरा नहटाएमा योजना कार्यालय स्वयंले त्यस्ता संरचना हर्टाई सडक विस्तार कार्य अघि बढाउने र उक्त कार्यमा सबै पक्षबाट सहयोग गर्ने गरी निर्णय भएको छ ।

आयोजना कार्यान्वयनमा आइपर्ने गुनासो सुनुवाइका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी छ सदस्यीय समिति गठन गरिएको । सदस्यमा मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड)का आयोजना प्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रतिनिधि, म्याग्दे गाउँपालिकाका प्रतिनिधि, आयोजनाका परामर्शदाता वातावरणविज्ञ एक र सामाजिकविज्ञ एक रहने गरी समिति गठन भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker