तनहुँको दमौलीमा नमूना पशु अस्पताल निर्माण कार्य तीब्र

भञ्ज्याङ न्यूज

नमूना पशु अस्पताल तीव्ररूपमा निर्माण भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणाधिन सो अस्पताल सञ्चालनमा आएपछि चार जिल्लाका पशुपालन किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी सो अस्पताल इको बिर्ल्डस प्रालि चितवनले निर्माणको जिम्मा पाएको छ । गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाख लागतमा भ्याटबाहेक उक्त निर्माण कम्पनीले ठेक्का लिएको हो ।

आगामी पुसभित्र सम्पन्न गर्ने गरी थालिएको उक्त भवनको करिब ४० प्रतिशत काम पूरा भएको सहरी विकास तथा भवन निर्माण संघीय तथा कार्यन्वयन एकाइ कास्कीका साइड इञ्जीनियर शिव सुनारले जानकारी दिनुभयो ।

साढे दुइ तलाको ढलान निर्माण गरिने उक्त भवनको हालसम्म दोस्रो तलाको ढलान सम्पन्न गरिएको छ । करिब छ सय पाँच स्क्वायर मिटर क्षेत्रफलमा दुइ ब्लकमा विभाजन गरी भवन निर्माण भइरहेको छ । बीचमा केही समय सामान अभावका कारण निर्माण रोकिए पनि अहिले रफ्तारमा काम भइरहेको इञ्जीनियर सुनारले बताउनुभयो। हाल भवन निर्माणमा दैनिक १५ जना जनशक्ति परिचालन गरिएको छ ।

भवनको भुइँ तलामा पशुपक्षीका एक्सरे, भिडियो एक्सरे, ल्याब, शव परीक्षणलगायत सेवाकक्ष र प्रविधिक जनशक्ति रहनेछन् भने पहिलो र दोस्रो तलामा प्रशासनिक कार्यालय, प्रयोगशाला, बैठक हल, तालिम हल रहने छ ।

पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले नमूना पशु अस्पतालमा पशुपक्षीको रोग निदान, नियन्त्रण र उपचारका लागि सहज हुने बताउनुभयो । इक्युपमेन्ट, औजार अभावमा पशुपक्षीको हचुवाका भरमा उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो । नमूना पशु अस्पताल तनहुँका लागि मात्रै नभई आसपासका गोरखा, लमजुङ र नवलपरासीका किसानका लागि प्रत्यक्ष फाइदा पुग्ने उहाँले जानकारी दिनुभयो ।

बहुवर्षीय योजना अन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको छ । नेपालको ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माणका लागि प्राथामिकतामा परेका हुन् । पशुधनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई केन्द्रविन्दुमा राखिएको डा श्रेष्ठले बताउनुभयो ।

पशुमा लाग्ने महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले उत्पादन वृद्धि गर्न सकिनेछ । ‘नदेखिने जुका, माटेजस्ता रोगले दूध तथा मासु उत्पादन घटाइरहेका हुन्छन्, हामीलाई थाहा हुँदैन’, उहाँले भन्नुभयो, ‘रोग पहिचान गरी समयमा औषधोपचार गर्न सकिए किसानको आम्दानीमा वृद्धि गर्न सकिनेछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker