तनहुँको आँवुखैरेनीमा अपाङ्गता बालबालिकाका लागि समावेशी विद्यालय सञ्चालन

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी ‘मित्रता समावेशी विद्यालय’ सञ्चालनमा ल्याइएको छ । शिक्षा सबैका लागि भन्ने नारासहित सञ्चालनमा ल्याइएको यो विद्यालय फरक क्षमता भएका बालबालिकालाई एउटै कक्षा कोठामा समावेशी सिकाइ पद्धतिबाट शिक्षा दिने उद्देश्यले स्थापना गरिएको हो ।
विद्यालयका अध्यक्ष केपी अधिकारीका अनुसार हाल विद्यालयमा २५ जना अपाङ्गता भएका बालबालिका भर्ना भइसकेका छन् भने यही महिना सम्ममा ४० जना पु¥याउने लक्ष्य छ । भौतिक पूर्वाधारको सीमाका कारण सम्पर्कमा आएका सबै बालबालिकालाई भर्ना गर्न नसकिएको भए पनि नयाँ भवन निर्माणपछि थप बालबालिकालाई समेट्ने योजना रहेको उनले बताए ।
अध्यक्ष अधिकारीले भने, “यो विद्यालय अपाङ्गता भएका मात्र होइन, जटिल र फरक प्रकृतिका आवश्यकता सहितका बालबालिकाको लागि पनि सिकाइको साझा थलो हो।” विद्यालयमा कार्यरत शिक्षकहरूलाई समावेशी शिक्षासम्बन्धी विशेष तालिम प्रदान गरिने र यसले शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिलाई अनुभव र दक्षता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
विद्यालयले शिक्षासँगै थेरापी सेवा, मनोपरामर्श सेवा र आधारभूत स्वास्थ्य उपचार सेवा पनि एउटै छानामुनि प्रदान गर्नेछ। विशेषगरी न्यून आय भएका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य विद्यालयले लिएको छ । यो संस्था निजी स्वामित्वमा नभई सार्वजनिक–सामुदायिक साझेदारीमा आधारित भएर सञ्चालन हुने बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विद्यालयलाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाउँदै भने, “मित्रता अपाङ्गता समावेशी विद्यालय हाम्रो पालिकाको शिक्षामा समानता र सहअस्तित्वको स्पष्ट प्रतिबिम्ब हो। यो विद्यालयले केवल सिकाइ होइन, जीवन बदल्ने अवसरहरू प्रदान गर्नेछ । हामी यसलाई एसियाकै नमुना समावेशी शिक्षाको केन्द्रको रूपमा विस्तार गर्न चाहन्छौं ।”
विद्यालयले अपाङ्गता भएका बालबालिकालाई अभिभावकसँगै आवासमा राखी, अभिभावकलाई जीविकोपार्जन र सामुदायिक पुनःस्थापनामा समेत जोड दिने योजना रहेको शिक्षा शाखा अधिकृत निर्मला कुँवरले बताइन ।
उनका अनुसार मित्रता समावेशी विद्यालय केवल आँबुखैरेनीका लागि मात्र नभई तनहुँ, गण्डकी प्रदेश तथा सम्पूर्ण नेपालका बहुआपाङ्गता बालबालिकालाई लक्षित गरी स्थापना गरिएको हो। समावेशी शिक्षाको यो पहलले समाजमा सहअस्तित्व, समान अवसर र आत्मनिर्भरताको भावना विकास गर्ने विश्वास लिइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker