व्यास नगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालनमा
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । नगरपालिकालाई सेवाग्राहीमैत्री बनाउने उद्देश्यले नगरपालिकाले बुधबार सहायता कक्ष र टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो ।
नगरपालिकामा आएका सेवाग्राहिहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्य अनुरुप सहायता कक्ष सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । उक्त सहायता कक्ष मार्फत सेवाग्राहिहरुले आवश्यक पर्ने निवेदन र पेश गर्नुपर्ने आवश्यक कागजातहरुको फोटोकपि निःशुल्क रुपमा प्राप्त गर्नेछन ।
यसैगरि सम्पूर्ण नगरवासीले टोल फ्रि नं. १६६०६५५२००६ मार्फत नगरपालिकाबाट प्रदान गरिएका सेवाहरुका बारेमा जानकारी लिन तथा नगर सित सम्बन्धी सम्पूर्ण कामहरुका बारेमा सुझाब दिन सक्नेछन । उक्त सहायता कक्षको बुधबार शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राहिहरुलाई सहज ढंगले सेवा प्रवाह गर्ने उद्देश्य अनुरुप सहायता कक्ष सञ्चालनमा ल्याइएकाले यसको अधिकतम उपयोग गर्न आग्रह गरे ।
सहायता कक्ष र टोल प्रिm नम्बरको शुभारम्भ गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन र नागरिकमैत्री बनाउने उद्देश्य सहित सहायता कक्ष सञ्चालन गरिएको बताए । उनले भने, ‘नगरपालिकामा आउने सेवाग्राहीलाई कुनै झण्झट बेहोर्न नपरोस् र सहज रुपमा सेवा पाउन् भन्ने मुख्य लक्ष्य हो ।’
नागरिक सहायता कक्षबाट सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदन र पेश गर्नुपर्ने आवश्यक कागजातहरुको फोटोकपी निःशुल्क रुपमा उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । उनका अनुसार नगरपालिकाको मुख्य कार्यालय र १४ वटै वडाबाट बुधबारदेखि नै फोटोकपी सुविधा निःशुल्क उपलब्ध गराइएको छ ।
नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कल सेन्टर सञ्चालन गर्ने उल्लेख गरिएको थियो । ‘नगरवासीका समस्या तथा गुनासो सुन्नका लागि चौबिसै घण्टा नै खुल्ला रहने गरी कलसेन्टर सञ्चालनमा ल्याएका हौ’, नागिलाले भने, ‘गुनासो र समस्या सुनेपछि तत्कालै त्यसको समाधानका लागि प्रयत्न गरिनेछ ।’ नगरपालिकाले चालु आर्थिक वर्षमा नै नगरपालिकाको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउन र छिटो छरितो सेवा प्रवाह गर्न सबै वडालाई प्रविधिमैत्री गराउने भएको छ ।










