तमु विद्यार्थीको १२औं राष्ट्रिय महाधिवेशन : भाषा, संस्कृतिको संरक्षण घरबाटै हुनुपर्छ – सञ्चारमन्त्री गुरुङ

दमौली : तमु विद्यार्थीको १२औं राष्ट्रिय महाधिवेशन शनिबारबाट दमौलीमा सुरु भएको छ । महाधिवेशनको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषा र संस्कृतिको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् । उनले भाषा लोप भए संस्कृति पनि लोप हुने भएकाले भाषा, संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।
मन्त्री गुरुङले घरबाटै आफ्नो भाषामा बोल्ने संस्कृतिको विकास गर्नसकेमा भाषाको संरक्षणमा योगदान पुग्ने बताउँदै छोराछोरीसँग बोल्दा आमाबाबुले मातृभाषामा बोल्नुपर्नेमा जोड दिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले गुरुङ जातिको मात्र नभइ हरेक जातजातिको भाषा संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको जोड दिए ।

उनले युवाहरू स्वदेशमै बसेर काम गर्नुपर्ने र त्यसका लागि आत्मनिर्भर बन्ने बाटोतर्फ अगाडि बढ्नुपर्ने धारणा राखे । ‘देशमै बसेर केही गर्न सकिन्छ भन्ने भावना बोकेर अगाडि बढ्न युवालाई मेरो आग्रह छ । त्यसका लागि प्राविधिक शिक्षा पढ्न आवश्यकता छ, जसले आफ्नो खुट्टामा उभिन सघाउ पुग्नेछ’, मन्त्री गुरुङले भने ।
अर्को प्रसङ्गमा उनले नेपालको निजामति, सुरक्षा निकाय, बैंकिङलगायत सबै क्षेत्रमा गुरुङ समुदाय पछाडि परेको र यसमा लाहुरे संस्कृति बाधक रहेको जिकिर गरे । मन्त्री गुरुङले भने, ‘लाहुरे संस्कृतिले राज्यका निकायमा प्रतिनिधित्व कमजोर बन्यो । यस विषयमा गम्भीर भएर सोचौँ र गुरुङ जातिका संघसंस्थाबाट आएका व्यक्ति नेपालको राष्ट्रिय राजनीतिमा आउनुपर्छ । यी संघसंस्था हाम्रा शक्तिकेन्द्र हुन्, यहाँबाट उत्पादन भएका हरेक व्यक्ति नेपालको राजनीतिमा आउन सक्नुपर्छ । तमु विद्यार्थी संगठनमा रहेका युवाले देशको प्रधानमन्त्री, मन्त्री, सचिव बन्ने सपना देख्नुपर्छ ।’

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले भाषा, संस्कृति संरक्षणका लागि एकजुट हुनुपर्ने बताए ।
तमु युवा छोंज धींका महासचिव मनराज गुरुङ, अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रवीण श्रेष्ठ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, अखिल क्रान्तिकारीका उपमहासचिव सुदिन पौडेल लगायतका वक्ताहरुले देशमै भविष्य देख्न गुरुङ युवाहरुलाई आग्रह गरे ।

महाधिवेशन उद्घाटन समारोह अगाडि दमौलीमा जातीय वेषभूषासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले छोंज धींको नयाँ नेतृत्व चयन गर्नेछ । राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले महाधिवेशनमा एक हजार पाँच सय जनाको सहभागिता रहेको बताए ।

तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले विसं २०५२ माघ २६ गते स्थापना भएको संयोजक तमुले बताए । यसअघि विसं २०७९ मा धींको सम्मेलन काठमाडौँमा भएको थियो।

संयोजक तमुले भने, सम्पूर्ण विद्यार्थी संगठनसँग पारस्परिक सहयोग, सद्भाव र मैत्रीपूर्ण साझेदारी कायम राख्नु, जातीय स्वशासन, राजनीतिक, शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक पहुँच एवं न्यायिक समतामूलक समाज निर्माणमा सहकार्य गर्नु, तमु जातिको मुक्ति, तमुवान प्रदेश प्राप्ति गर्न तमु विद्यार्थीबीच भावनात्मक एकता, पारस्परिक सहयोग स्थापना गर्ने संस्थाको प्रमुख उद्देश्य हो ।’

तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यसहित विसं २०५२ साल माघ २६ र २७ गते बुटवलमा प्रथम महाधिवेशन, विसं २०५४ सालमा काठमाडौँमा दोस्रो सम्मेलन, विसं २०५७ मा चितवनमा तेस्रो सम्मेलन, विसं २०६० सालमा धरानमा चौथो सम्मेलन, विसं २०६३ सालमा पोखरामा पाचौं सम्मेलन, विसं २०६६ सालमा पोखरामा छैटौँ सम्मेलन, विसं २०६८ सालमा बुटवलमा सातौँ, विसं २०७० मा काठमाडौँमा आठौं, विसं २०७५ मा काठमाडौँमा नवौँ, विसं २०७९ मा काठमाडौँमा दशौँ सम्मेलन सम्पन्न भएको जनाइएको छ ।











