मानहुँकोट क्षेत्रको विकासका लागि “सहभागितामूलक मानहुँकोट संरक्षण कार्यक्रम”

भञ्ज्याङ समाचारदाता/दमौली

भाइरल डाँडोको रुपमा परिचित मानहुँकोट क्षेत्रको यथोचित विकासका लागि चर्चा चलाउन थालिएको छ । जलवायु मैत्री क्रियाकलापका माध्यमबाट सहभागितामूलक मानहुँकोट संरक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा स्थानीय र सरोकारवाला निकायको सहभागितामा छलफल तथा परामर्श गरिएको छ ।

उर्जा तथा वातावरण नेपालको अगुवाइमा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको मानहुँकोट क्षेत्रको समग्र बिकासका लागि ‘सहभागितामुलक मानहुँ क्षेत्र संरक्षण’ परियोजना सञ्चालन गरी कार्यक्रम अगाडि बढाउने विषयमा छलफल गरिएको हो ।

दमौलीमा शुक्रबार आयोजित एक कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले मानहुँकोट क्षेत्रको विकासका लागि गुरुयोजना तयार गरेको र यहाँको मौलिकता जोगाउँदै विकास काम अगाडि बढाउन नगरपालिका सकरात्मक रहेको बताए ।

‘स्थानीय सरकारको सहभागिताको प्रत्याभूति हुने गरी परियोजना सफल बनाउनु पर्दछ’, उनले भने, ‘मानहुँ क्षेत्रको मौलिकता जोगाउने गरी गुरुयोजना बनाएकाले यसलाई पनि ध्यान दिएर अन्य गतिविधि अगाडि बढाउनु पर्छ । बिगतमा मानहुँ बासीको सहभागीता र सकरात्मकताको अभावले धेरै कार्यक्रम सफल भएनन्, यहाँको विकासका लागि विनियोजित बजेट समेत फ्रिज भएर गएको हुँदा मानहुँ क्षेत्रका विकासका लागि स्थानीयको सकरात्मक सहभागिताको खाँचो छ ।’

यस्तै, मानहुँकोटसम्मको कालोपत्रे सडक निर्माणमा पनि स्थानीयबाट अवरोध सृजना भएको भन्दै नगरप्रमुख न्यौपानेले भने, ‘मानहुँ क्षेत्रको विकासलागि प्राप्त बजेट समेत खर्च हुन सकेको छैन । खानेपानीको समस्या समाधानका लागि काम भइरहेपनि मुलको विवाद आएको हुँदा यो विवादलाई पनि मिलाएर अबको एक वर्षभित्र खानेपानी पुर्‍याउने गरी हामी लागेका छौं । यसका लागि मानहुँकोट क्षेत्रका बासिन्दानै इमान्दार, सकरात्मक र क्रियाशिलताको खाँचो छ ।’

यस्तै, कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले पनि कृषि र पशुपालनालाई बढी प्रथामिकता दिएकाले त्यससम्बन्धी कार्यक्रममा सहकार्य गर्न सहज हुने बताए । ‘परियोजनाले ल्याएको कार्यक्रम र उद्देश्यसंग गाउँपालिका सकरात्मक रहेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘रैथाने संस्कृति, बिउ वीजन संरक्षणका कार्यक्रमहरुमा पनि पालिकाले साझेदारी गर्दै आएको र स्थानीय महत्वका विषयहरु पहिचान गरी मानहुँकोट क्षेत्रलाई नमुना गाउँको रुपमा विकास गर्न सबैको समान सहभागिता गरी अगाडि बढ्नुपर्दछ ।’

मानहुँकोट क्षेत्रको प्रवर्द्धनका लागि परियोजनाले पहिलो चरणमा १८ महिनासम्म काम गर्ने भएको छ । स्थानीय सरकार, विभिन्न विषयगत कार्यालय र स्थानीय संघसंस्थाको समेत साझेदारीमा सञ्चालन हुने उक्त कार्यक्रमको समग्र उद्देश्य मानहुँ क्षेत्रको विविध पक्षको एकीकृत विकास रहेको छ । सो अवधिमा विभिन्न विधामा २१ वटा कार्यक्रम गरी जनसमुदाय र स्थानीय सरकारलाई हस्तान्तरण गरिने उर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्णचन्द्र सुवेदीले बताए ।

वनजंगल, जलश्रोत तथा जैविक विविधताको संरक्षण गर्ने, जलवायूमैत्री कृषि तथा स्थानीय रैथाने कृषिवालीको प्रवर्द्धनका माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने र प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण गरी पर्या-पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार तथा जनशक्ति विकासमा स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्यमा परियोजना केन्द्रित हुने सुवेदीले बताए । पहिलो चरणको कार्यक्रम सम्पन्न गर्न करिब २३ हजार डलर लागत अनुमान गरिएको छ । पहिलो चरणमा उद्देश्य बमोजिका महत्वपूर्ण कार्यक्रम सम्पन्न भएमा मात्र दोस्रो चरणमा परियोजना प्रवेश गर्ने छ ।

परियोजना अन्तर्गत वनजंगल, जलश्रोत तथा जैविक विविधताको संरक्षण गर्ने कार्यक्रम सञ्चालन हुनेछन् । सो क्षेत्रमा क्रियाशिल ३ वटा सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरी ३१६ हेक्टर वन क्षेत्र संरक्षण गरिने सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले सहभागिहरुलाई जानकारी गराएका थिए ।

यस कार्यक्रमबाट मानहुँकोट सामुदायिक वन उपभोक्ता समूह, पोसेली सामुदायिक वन उपभोक्ता समूह र पोशबाराही सामुदायिक वनका ५८६ घरधुरीका २ हजार ७४१ जना उपभोक्ता लाभान्वित हुनेछन् । त्यस्तै वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी कार्यक्रम, पानीको श्रोत संरक्षण तथा पोखरी व्यवस्थापनका कार्यक्रमहरु सञ्चालन हुने गुरुङले बताए ।

जलवायूमैत्री कृषि र स्थानीय रैथाने बालीको प्रवर्द्धनका माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउन जलवायूमैत्री कृषिसम्वन्धी क्षमता अभिवृद्धि तथा वातावरणमैत्री कृषिजन्य उपजको उत्पादन एवं वजारीकरण तालिम प्रदान गरिनेछ । त्यस्तै जैविक मल तथा जैविक किटनाशक औषधी सम्वन्धी आधारभूत तालिम, कृषि उत्पादन सम्वन्धी सामाग्री वितरण समेत गरिने गुरुङले बताए ।

परियोजनाले योगदानका आधारमा २० जना कृषकहरूलाई बीउ, कृषि औजारहरू, गोठ सुधारका लागि आंशिक सहयोग गर्नेछ । साथै वातावरणमैत्री तरकारी उत्पादनका लागि कम्तिमा १ सय जना कृषक संलग्न हुने गरी बीउ, कृषि औजार र टनेल हाउस निर्माणका लागि सहयोग गर्नेछ । फलफूल तथा डाँले घाँस रोपण गरी स्थानीय समुदायको आम्दानी वृद्धि, वातावरण संरक्षण र अन्ततः कार्बन उर्त्र्सजन घटाउने उद्देश्यका साथ फलफूल र डालेघाँस रोपणमा स्थानीयलाई सक्रिय बनाइने छ । कम्तिमा एक सय जना कृषकलाई प्रत्यक्ष लाभान्वित हुनेछन् ।

स्थानीय जातका कुखुरा पालन, मौरी पालन तालिम, कृषक पाठशाला स्थापना तथा सञ्चालन गरी रैथाने बालीको संरक्षण कार्यक्रम सञ्चालन गरिने छ । कृषि ज्ञान केन्द्रसँग समन्वय गरी २५ जना कृषकलाई तालिमसँगै आवश्यक प्रविधि समेत हस्तान्तरण गर्ने योजना परियोजनाको रहेको सम्पदा नेपालका अध्यक्ष गुरुङले बताए ।

प्राकृतिक एवं साँस्कृतिक सम्पदाहरुको संरक्षण गरी पर्या पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार र जनशक्तिको विकासमा स्थानीय समुदायको सहभागिता बढाउन इको ट्रेकिङ ट्रेलको प्रवर्द्धन, अतिथि सत्कार तथा होमस्टे व्यवस्थापन तालिम, संस्कृति एवं वातावरण संरक्षण तथा पर्या पर्यटन सम्बन्धी सचेतना कार्यक्रम, मनकामना पिकनिक स्थल निर्माण, परिचयात्मक भ्रमण कार्यक्रम, मानुङकोट पर्यटन चिनारी पुस्तिका प्रकाशन, मानहुँ अर्गानिक खाना तथा वातावरण मेला आयोजना लगायतका कार्यक्रम परियोजना मार्फत गरिने भएको छ ।

कार्यक्रममा स्थानीयले सिद्ध बाबाको मन्दिर निर्माण, लोप हुँदै गएका मगर जातीका संस्कृति संरक्षण, खानेपानी असुविधा, शिक्षा, पार्किङ र शान्ति सुरक्षाका विषयमा ध्यानकर्षण गराएका थिए । साथै मानहुँमा केही पर्यटकीय पूर्वाधारहरु थप्न सक्ने विषयमा पनि उनीहरुले सुझाएका थिए ।

परियोजनाका लागि आर्थिक एवं प्राविधिक सहयोग तथा अनुगमन जिइएफ एसजिपि (स्मल ग्रयान्स प्रोग्राम)को रहनेछ भने परियोजना कार्यान्वयन र आन्तरिक अनुगमनको काम वातावरण तथा उर्जा नेपालले गर्ने बताइएको छ । साथै व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालयसंग समन्वय तथा साझेदारी गरिने भएको छ ।

परियोजनामा सात सय मानहुँबासी तथा स्थानीय संघसंस्थाको सहभागीता रहनेछ भने स्थानीय समन्वय र पर्यटन गतिविधि सहजीकरणको काम सम्पदा नेपालले गर्ने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker