सन्दर्भ : राष्ट्रिय बाल दिवस र भानु नगरपालिका

ध्रुवराज पौडेल

पृष्ठभूमि :

  • बालबालिकाको दिवस नै राष्ट्रिय बाल दिवस हो । बालबालिका राष्ट्रका सम्पत्ति र भविष्य दुबै हुन् ।
  • बाल दिवसमा बाल अधिकारको कुरा गरिन्छ, बालबालिकालाई खुशी बनाइन्छ,
  • बालबालिकाको भविष्य सुन्दर बनाउने योजना तथा कार्यक्रम तय गरिन्छ र बालकेन्द्रित रचनात्मक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ ।”बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने यस वर्षको ५८ औं बाल दिवसको नारा रहेको छ ।
  • बालबालिकाको सर्वोत्तम हित र समुन्नतिका लागि आवश्यक पर्ने सबै खालका पूर्वाधार र वातावरणको निर्माण गरिएको समाज नै बालमैत्री समाज हो । यसका लागि सबैभन्दा बढी जिम्मेवार बाबुआमा घरपरिवार तथा समुदायको भूमिका हुन्छ ।
  • घरमा बालमैत्री, सिकाइमैत्री र सभ्य वातावरण भएको खण्डमा बालबालिकाको सिकाइ र विकास अपेक्षित मात्रामा हुन सक्छ । बाल विकासका लागि आवश्यक सामग्रीको जोहो गरिदिने, उचित सल्लाह दिने, सहजीकरण र मार्गदर्शन गर्ने अभिभावक हुनु जरुरी छ ।
  • यसका साथै सम्पूर्ण बालबालिकाको अभिभावक भनेको राज्य हो । राज्यले बालबालिकाको सबै हकको सम्मान र प्राप्तिका लागि आवश्यक प्रबन्ध गर्नु गराउनु उसको परम कर्तव्य हो । अत: बालमैत्री समाज निर्माणका लागि घर परिवार र राज्य सबैको सामुहिक दायित्व र जिम्मेवारी हुन्छ ।
  • यसका लागि सबैले समन्वय, सहयोग र सहकार्य गर्नु आवश्यक छ ।
  • बालबालिका सम्बन्धी ऐन २०७५ बमोजिम १८ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई बालबालिका भनिन्छ । यो उमेर समूहका बालबालिकाले कुनै गम्भीर गल्ति वा अपराध गरेपनि बालबालिकाले गरेको भनेर मिनाहा गरिन्छ र ठूलो सजाँय नदिइकन जेलको सट्टा सुधार गृहमा राखिन्छ ।
  • बालबालिका वास्तवमा कुनै पनि देशको सम्पत्ति हुन् जुन देश विकासका लागि मेरुदण्डको रुपमा रहेका छन् । जुन देशले बालबालिकाको क्षेत्रमा बढी लगानी गरेको हुन्छ त्यो देश दिगो विकासको मार्गमा अग्रस्थानमा रहेको कुरा आज पुष्टि भएको छ । आज अमेरिका, अष्ट्रेलिया, जापान, युरोपियन मुलुकहरु विकसित हुनुको एक महत्वपूर्ण कारण भनेको बालबालिकाको भरणपोषण तथा उनीहरुको शिक्षामा पर्याप्त लगानी गर्नु हो ।
    ध्रुबराज पौडेल
  • संयुक्त राष्ट्र संघले बालअधिकार सम्बन्धी महासन्धी १९८९ ( Child Right Convention – CRC) पारित भएको दिन सेप्टेम्बर १४ लाई अन्तराष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिन्छ । नेपाल पनि यस महासन्धीको पक्ष राष्ट्र भएकोले यसका प्रावधानहरुलाई पालना गर्नु गराउनु राज्यको अनिवार्य दायित्व हो ।

बाल अधिकार अन्तर्गत मुख्यत: चार प्रकारका हक पर्दछन् :

बाँच्न पाउने हक (Right to live)
संरक्षण पाउने हक (Right to Protect),
विकास गर्न पाउने हक (Right to Develop)
सहभागिताको हक (Right to Participate)

बालबालिका सम्बन्धमा नेपालले गरेको कानूनी र संस्थागत व्यवस्था

  • नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हक उल्लेख गरिएको छ जसमा विभिन्न १० प्रकारका हकको व्यवस्था गरिएको छ ।
  • नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ जसमा भनिएको छ कि आधारभूत तहको शिक्षा निशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने व्यवस्था
    बालबालिका सम्बन्धि ऐन २०७५ मा बालबालिकाको विभिन्न १३ प्रकारका हकको व्यवस्था गरिएको छ ।
  • बालमैत्री स्थानीय शासन (CFLG) सम्बन्धी व्यवस्था पनि गरिएको छ । यस अनुसार सबै स्थानीय तहहरुलाई बालमैत्री घोषणा गर्नुपर्ने र यसका लागि बालबालिकाका लागि आवश्यक कानूनी, संस्थागत, योजना, कार्यक्रम तथा बजेटबाट बालबालिकालाई सम्बोधन गरिनुपर्ने कानूनी व्यवस्था रहेको छ ।
  • बालबालिकाको सर्वाङ्गिण विकासका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको व्यवस्था गरेको छ ।
    अनाथ, टुहुरा, बेसहारा तथा अभिभावक बिहिन बालबालिकाका लागि नेपाल बाल संगठन अन्तर्गत बाल मन्दिरहरु (विद्यालयहरु) सञ्चालनमा रहेका छन् ।
  • जिल्ला तहमा बाल कल्याण अधिकारीहरु रहने व्यवस्था छ ।
  • न्यायालय तथा स्थानीय तहमा रहने न्यायिक समितिहरुमा बाल इजलास गठन गरी बालबालिकाहरुलाई प्राथमिकताका साथ छिटो छरितो तरिकाले न्याय सम्पादन गर्ने कानूनी व्यवस्था रहेको छ ।
  • स्थानीय तहमा लक्षीत वर्ग अन्तर्गत बालबालिका हेर्ने अलग्गै डेक्स रहने व्यवस्था छ । यसका लागि महिला तथा बालबालिका शाखा रहने प्रावधान समेत रहेको छ ।

बालबालिकाको लागि तय गरिएका राष्ट्रिय नीति, योजना तथा कार्यक्रमहरु:

  • आधारभूत तह (कक्षा १-८) सम्मको शिक्षा नि:शुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने व्यवस्था
    माध्यमिक तहसम्म निशुल्क पाठ्यपुस्तकको व्यवस्था
  • आधारभूत तहसम्मका सबै बालिकाहरु र दलितहरुलाई तथा कक्षा ९-१२ का विपन्न लक्षीत बालबालाकालाई समेत छात्रवृत्तिको व्यवस्था
  • हाल कक्षा ०-६ सम्मका बालबालिकालाई दिवा खाजाको प्रबन्ध
  • कक्षा ६-१२ का सबै बालिकालाई निशल्क सेनिटरी प्याडको प्रबन्ध
  • सबै प्राथमिक तहमा महिला शिक्षकको व्यवस्था
  • बालबालिकाको प्रतिभा प्रस्फूटनका लागि अतिरिक्त क्रियाकलाप तथा सहकार्यकलापको व्यवस्था
  • अपाङ्गता तथा विशेष आवश्यकता भएका बालबालिकाहरुका लागि विशेष शिक्षा स्रोतकक्षाको व्यवस्था तथा सहज रुपमा पठनपाठन गर्न तथा दिनचर्या सहज बनाउनका लागि विभिन्न सामग्रीको निशुल्क वितरणको व्यवस्था (White cane, Hearing aid, Wheel Chair, Baishakhi etc.)

भानु नगरपालिकाका प्रयासहरु:

  • भानुमा विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाहरु ७४२७ जना रहेका छन् । यसमा छात्र ३६५९ र छात्रा ३७६८ रहेका छन् ।लैङ्गिक समता सूचक (GPI) हेर्ने हो भने छात्रको तुलनामा छात्राको संख्या बढी रहेको देखिन्छ ।
  • केन्द्रीय नीति अनुसारका सबै सुविधाहरु उपलब्ध गराइएको छ (छात्रवृत्ति, दिवाखाजा, सेनिटरी प्याड, नि:शुल्क, पापु आदि)
    भौतिक पूर्वाधार तथा बाल पुस्तकालयको व्यवस्था गरिएको छ ।
  • प्राय: सबै विद्यालयहरुमा कम्प्युटर तथा इन्टरनेटको सुविधा पुर्‍याइएको छ ।
    बालबालिकाको मनोरञ्जन तथा सिकाइका लागि स्मार्ट टिभिको वितरण र प्रयोग गरिएको छ ।
  • बाल विकास केन्द्रलाई थप आकर्षक बालमैत्री सिकाइमैत्री र स्रोतपूर्ण बनाउने प्रयास गरिएको छ । यस अन्तर्गत सबै बाल विकास केन्द्रमा विभिन्न १३ प्रकारका सिकाइ सामग्रीहरु, चिप्लेटी, ढिकीच्याँउ, सुर्‍याक र स्टिल दराजको व्यवस्थापन गरिएको छ ।
  • खानेपानी र सरसफाइ अन्तर्गत सबै विद्यालयहरुमा युरोगार्ड तथा फिल्टरको वितरण गरिएको छ ।
  • दिवा खाजा कार्यक्रम कार्यान्वयनमा सहजताका लागि सबै सामुदायिक विद्यालयहरुमा भान्साका सामग्री (भाँडाकुँडा) वितरण गरिएको ।
  • सेनिटरी प्याडको उचित विर्सजनको लागि सबै माविहरुका लागि इलेक्ट्रोनिक डिस्पोजल मेशिन बितरण गरिएको छ ।
  • सबै प्राविहरुका लागि एक एक थान वास वेशिन वितरण गरिएको छ ।
  • चालु आव २०७९।०८० देखि बालमैत्री स्थानीय शासन (CFLG) कार्यक्रम कार्यान्वयन हुँदैछ ।
  • स्वास्थ्य शाखा मार्फत् बालबालिकाहरुका लागि सुनौलो हजार दिन (गर्भावस्था देखि २ वर्षको उमेरसम्म) का लागि विशेष कार्यक्रम सञ्चालन भैरहेको छ ।
  • जुकाको औषधी, भिटामिन ए, आइरन चक्की तथा विभिन्न प्रकारका खोपको प्रबन्ध गरिएको ।

यस वर्षको बालदिवस:

यस पटकको बालदिवस मनाउने सन्दर्भमा हाल भानुमा प्रथम त्रैमासिक परीक्षा सञ्चालन भैरहेको र सबै बालबालिकाहरु त्यसतर्फ केन्द्रित हुनुपरेकोले वृहत बालकेन्द्रित कार्यक्रम तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने अनुकुल वातावरण भएन । तर्सथ एउटा सानो बालकेन्द्रित रचनात्मक कार्यक्रमको आयोजना गरी साँकेतिक रुपमा मात्र यो दिवस मनाउने उद्देश्यले भानु नगर शिक्षा समितिको निर्णय अनुसार श्री सुन्दर प्रावि भानु २ गोठेरीका सबै बालबालिकाहरुलाई स्टेशनरी सामग्री ( स्कूल व्याग, कपि, पेन्सिल तथा ज्यामिति बक्स समेत) वितरण गरी बाल दिवस मनाउदै छौं ।

अत: बाल दिवसको नारालाई सार्थक तुल्याउन सम्पूर्ण सरोकारवाला महानुभावहरुले हाम्रो राष्ट्रिय सम्पत्ति र भविष्यका कर्णधार बालबालिकाहरुका लागि बालमैत्री वातावरणको निर्माण सिकाइमैत्री आकर्षक र सहज वातावरण निर्माण गर्दै बालबालिकाको चौतर्फी विकासको माध्यमबाट सुनौलो भविष्यको मार्गचित्र कोर्ने महान् अभियानमा सहयोग पुर्‍याउनु हुन हामी सबैमा हार्दिक अपील गर्दछौं ।

जय शिक्षा …, जय बालबालिका …., जय भानु ।

लेखक भानु नगरपालिकाका नगर शिक्षा अधिकारी हुन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker