तनहुँमा पशु स्वास्थ्य सेवामा आधुनिक फड्को

ब्लड टेस्ट, भिडिओ एक्स–रे र हड्डी शल्यक्रिया सेवा सुरु, 'मिल्क एटिएम' पनि सञ्चालन गरिने

तनहुँमा पशु स्वास्थ्य सेवा प्रवाहलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले रगत परीक्षण (ब्लड टेस्ट), भिडिओ एक्स–रे तथा हड्डीसम्बन्धी शल्यक्रिया (अर्थोपेडिक सर्जरी) सेवा सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये पशुहरूको ब्लड टेस्ट सेवा उपलब्ध गराउने पहिलो र हालसम्मको एकमात्र कार्यालय तनहुँ रहेको कार्यालयले जनाएको छ ।

कृषि विकास कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँको संयुक्त आयोजनामा बिहीबार आयोजित गत आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा तथा चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक कार्यक्रममा कार्यालय प्रमुख रविनसन अधिकारीले आधुनिक सेवा विस्तारबारे जानकारी दिएका हुन् ।

उनका अनुसार ब्लड टेस्ट सेवामार्फत पशुमा देखिने विभिन्न रोगको छिटो, वैज्ञानिक र विश्वसनीय रूपमा पहिचान गर्न सकिने भएकाले उपचार प्रक्रिया थप प्रभावकारी बनेको छ । यसअघि यस्ता परीक्षणका लागि किसानले अन्य जिल्ला धाउनुपर्ने अवस्था रहेकामा अब जिल्लामै सेवा उपलब्ध हुने भएको छ ।

कार्यालयले पशुहरूको हड्डीसम्बन्धी शल्यक्रिया सेवा पनि सुरु गरेको छ । दुर्घटना वा अन्य कारणले हड्डी भाँचिएका तथा जोर्नीसम्बन्धी समस्या भएका पशुहरूको जिल्लामै शल्यक्रिया गरी उपचार गर्न सकिने व्यवस्था मिलाइएको प्रमुख अधिकारीले बताए ।

यसैगरी आधुनिक भिडिओ एक्स–रे सेवा सञ्चालनमा आएपछि पशुको आन्तरिक अवस्थाको स्पष्ट परीक्षण गरी रोगको सही निदान र उपचार गर्न सहज भएको उनले जानकारी दिए । यी सेवाबाट तनहुँका मात्रै नभई गण्डकी प्रदेशका अन्य जिल्लाका पशुपालक किसानले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा कार्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ योजनासमेत सार्वजनिक गरेको छ। त्यसअन्तर्गत परीक्षणका रूपमा ‘मिल्क एटिएम’ सञ्चालन गरिने भएको छ । दूध सहकारीमार्फत सञ्चालन गरिने यस प्रणालीमा उपभोक्ताले एटिएमबाट नगद झिकेझैँ आवश्यक परिमाणमा दूध खरिद गर्न सक्ने व्यवस्था गरिने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । कार्यक्रम सफल भए आगामी वर्ष अन्य स्थानमा समेत विस्तार गरिने योजना रहेको उनले बताए ।

यस्तै, कार्यक्रममा कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले चालु आर्थिक वर्षका कृषि विकाससम्बन्धी स्वीकृत कार्यक्रम सार्वजनिक गर्दै किसानमुखी, उत्पादनमुखी तथा प्रविधिमा आधारित कृषि प्रणालीलाई प्राथमिकता दिइएको बताए । उनले कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदै किसानको उत्पादन वृद्धि, आम्दानी अभिवृद्धि तथा व्यवसायीकरणमा जोड दिइने उल्लेख गरे ।

कार्यक्रममा गत आर्थिक वर्षका कार्यक्रमको समीक्षा गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, प्रविधिमैत्री र किसानको पहुँचभित्र पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको थियो । सहभागीहरूले आधुनिक पशु स्वास्थ्य सेवा विस्तारले पशुपालन व्यवसायलाई थप सुरक्षित, व्यावसायिक र उत्पादनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker