पृथ्वीराजमार्ग विस्तार : दमौलीको सहिदगेट, डुम्रेका घरटहरा भत्काउन थालियो

भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वीराजमार्ग अन्तर्गत पूर्वी खण्ड (जामुने-आँवुखैरेनी)मा सडक विस्तार कार्यलाई तीब्रता दिइएको छ । सडक चौडा बनाउने कार्य अन्तर्गत सडक विस्तार योजनाले व्यास नगरपालिका-४ भोर्लेटारचोकमा रहेको सहिदगेट मंगलबार बिहान भत्काएको छ ।

मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले बताए । नेकपा (माओवादी) केन्द्रले उक्त सहिदगेटको निर्माण गरेको थियो । सहिदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएका थिए ।

मुग्लिन-पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुइ भागमा ठेक्का सम्झौता गरी काम अगाडि बढाइएको र पूर्वीखण्डमा सडक सिमा भित्र रहेका घर टहरा समेत हटाउन थालिएको छ । बजार क्षेत्रमा छ लेनको र अन्यत्र चार लेनका सडक विस्तार गरिदै छ ।

यस्तै, राजमार्गको पूर्वी खण्ड अन्तर्गत बन्दिपुर गाउँपालिका-१ को डुम्रे बजार क्षेत्रमा सडक सिमा भित्र रहेका व्यक्तिका घर टहरा भत्काउन थालिएको छ ।

रु ५ अर्ब ४२ करोड बजेट विनियोजन

यस्तै, संघीय सरकारले मुग्लिन-पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षका लागि पाँच अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरेका हुन् ।

मुग्लिनबाट पोखरासम्म सडक चार लेनमा विस्तार गर्नका लागि काम भइरहेकामा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले दुइ खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा २५ र जामुनेबाट कोत्रेसम्मको पश्चिम खण्डमा ६.०५ प्रतिशत प्रगति हासिल भएको छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रका लागि परीक्षण सुरु भइसकेको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको योजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।

आँबुखैरेनी गाउँपालिका-१ स्थित बरादीस्थित सडकमा दुइ सय मिटर दूरीमा परीक्षण गरिएको सुवेदीले बताए । उनले भने, ‘यसको जाँच गर्ने काम सुरु भएको छ, यसको मोटाइलगायतका पक्षको जाँचको प्रतिवेदन आएपछि कालोपत्र नै सुरु गर्ने तयारीमा छौँ ।’ वैशाखमै कालोपत्र गर्ने तयारी गरिए पनि प्राविधिक कारणवश ढिलाइ भएको उनले बताए ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

यस्तै, पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक -एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको सडक सीमा दुइतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

यस्तै तनहुँको डुम्रेबाट मनाङको चामेसम्म सडक विस्तारका लागि बजेट विनियोजन गरिएको छ । डुम्रेबाट लमजुङको बेँसीसहर हुँदै मनाङको चामेसम्मको सडक विस्तारका लागि रु ३४ करोड विनियोजन गरिएको अर्थमन्त्री महतले बताएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रेबाट बेँसीसहर हुँदै मनाङ पुग्ने उक्त सडकलाई २५ वर्षपछि दुइ लेनमा विस्तार गर्ने काम भइरहेको छ । यो सडकको दूरी तनहुँको डुम्रेबाट पाउँदीसम्म २४ किलोमिटर, पाउँदी-बेँसीसहर १८ किलोमिटर र बेँसीसहरबाट मनाङ सदरमुकामसम्म ६५ किलोमिटर छ ।

तनहुँको डुम्रेबाट विसं २०२९ मा खन्न सुरु गरिएको सडक बेँसीसहरको ४२ किमीसम्म पुर्‍याउन साढे एक दशक लागेको थियो । विसं २०४६ मा ट्रयाक खुलेकामा विसं २०५२ देखि सिंगल लेनको कालोपत्र गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker