आयुर्वेदमा आकर्षण, कर्मचारी कम हुँदा सेवा प्रवाहमा समस्या

तनहुँको व्यास नगरपालिका–१ निवासी गङ्गाप्रसाद पोख्रेललाई ढाड दुख्ने समस्या थियो । उपचारका लागि धेरैतिर चहार्दा पनि उहाँको समस्या समाधान भएन । जिल्ला आयुर्वेद कार्यालय तनहुँले सञ्चालनमा ल्याएको फिजियोथेरापी सेवाले उहाँको ढाड दुःखाइ निको हुँदै गएको छ ।

“आयुर्वेद कार्यालयमा आउँदा लौरो टेकेर आएको थिएँ, सात÷आठ दिन थेरापी गरेपछि राहत महसुस हुँदै गएको छ,” पोख्रेलले भन्नुभयो । आयुर्वेदिक पद्दतिबाट उपचार गराउँदा स्वास्थ्यमा पनि असर नपर्ने बताउँदै उहाँले थप्नुभयो, “मलाई पनि कसैले यो सेवा लिनु ठिक हुन्छ भन्ने सुझाव दिनुभएको थियो, यो पद्दति त धेरै ठिक लाग्यो, अहिलेको ढाडको दुखाइ कम हुँदै गयो ।”

दमौलीकै सरोज रानाभाटलाई पनि ढाड र गर्धनको समस्या थियो । धेरै ठाउँमा गएर उपचार गराउँदा पनि निको नभएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “काठमाडौँ गए, पोखरा गएँ, एमआरआई पनि गराएँ तर सञ्चो भएन । आयुर्वेद कार्यालय पुगेर थेरापी गर्न थालेपछि सञ्चो हुँदै गएको छ ।”

गण्डकी प्रदेशको सहयोगमा कार्यालयले थेरापी मेसिन खरिद गरेर सञ्चालनमा ल्याएपछि यस्ता समस्या भएका बिरामी आउने गरेको कार्यालय प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिनुभयो । “हाडजोर्नी, नशा च्यापिएका बिरामीको आकर्षण आयुर्वेदमा बढ्दै छ,” डा मण्डलले भन्नुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक वर्षमा १३ हजार चार सय ९९ ले सेवा लिएका छन् ।

साउन महिनामा नौ सय २६, भदौमा एक हजार पाँच सय ९५, असोजमा सात सय १२, कात्तिकमा चार सय ८६, मङ्सिरमा एक हजार चार सय ५६, पुसमा सात सय ९५, माघमा एक हजार १२, फागुनमा एक हजार दुई सय ८२, चैतमा छ सय ६७, वैशाखमा एक हजार एक सय सात, जेठमा एक हजार छ सय ११ र असारमा एक हजार आठ सय ५० ले सेवा लिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा नौ हजार तीन सय २० र आर्थिक वर्ष ०७६/७७ मा पाँच हजार पाँच सय ७१ जनाले सेवा लिएका थिए । कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ । पाइल्स, फिस्टुलाजस्ता रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको छ ।

गतवर्ष एक हजार दुई सय ५३ ले पञ्चकर्म सेवा लिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा तीन हजार एक सय २९ र आर्थिक वर्ष २०७६/७७ मा दुई हजार चार सय ४५ ले उक्त सेवा लिएका थिए ।

त्यस्तै गत वर्ष १२ जनाले क्षारसुत्र विधिबाट उपचार गराएका छन् । आर्थिक वर्ष २०७७/७८ मा पाँच जनाले उक्त सेवा लिएका थिए । कार्यालयले रोग अनुसारको दैनिक योग पनि सञ्चालन गर्दै आएको डा मण्डलले बताउनुभयो । “जिल्लाका स्थानीय तहलगायत अन्य सरोकारवालासँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणलीको प्रवद्र्धन गरेका छौँ”, उहाँले भन्नुभयो ।

आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जागरमा वृद्धि भएको छ । “जनमानसमा आयुर्वेदप्रति चासो, विश्वास र प्रयोगमा वृद्धि भएको छ, यसले गर्दा हामी कर्मचारीमा पनि जागर बढेको छ”, डा मण्डलले भन्नुभयो ।

आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेपनि कर्मचारी कम हुँदा सेवा प्रवाहमा समस्या भइरहेको डा मण्डल बताउनुहुन्छ । “सेवाग्राही दिनदिनै बढ्नु तर कर्मचारी सङ्ख्या कम हुँदा सोचे अनुसारको सेवा प्रवाह गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार पनि कम छ, विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा बत्ती जाँदा पनि समस्या हुने गरेको छ।”

कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक कविराज, दुई वैद्य, एक लेखापाल र दुई कार्यालय सहयोगीको दरबन्दी छ । तीमध्ये कविराज र लेखापालको दरबन्दी रिक्त छ । आयुर्वेद सेवासम्बन्धी भ्रामक विज्ञापन, कार्यक्रमको अभिमुखीकरण नहुुनु, भौगोलिक कठिनाइ, कार्यविधि एवं निर्देशिका बमोजिम न्यून बजेट, न्यून गुणस्तरीय आयुर्वेद औषधिको उत्पादन, फिजियोथेरापी सञ्चालनका लागि जनशक्ति अभाव कार्यालयको चुनौतीको रुपमा देखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker