प्रचारप्रसारमा आयोगको कडाइपछि उम्मेदवारहरु घरघरमा पुग्न थाले

भञ्ज्याङ समाचारदाता/दमौली

अघिल्ला निर्वाचनमा मनोनयन दर्ता लगत्तैका र्‍याली, माइकिङ, आमसभा र भोजभतेरले चुनावी माहोल बनाउँथ्यो । तर यसपटक मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा गर्न नपाउने निर्वाचन आचारसंहितापछि रौनक खासै देखिएको छैन । निर्वाचन आयोगको निर्णयले राजनीतिक दल र उम्मेदवार प्रचार प्रसारमा खुम्चिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु अहिले घरदैलो अभियान गरिरहेका छन । साथै प्रचारशैली बदल्दै सञ्चार प्रविधि केन्द्रित भएका छन । विभिन्नि कोठे भेला, आन्तरिक तयारी र व्यवस्थापनमा लागेका छन् । निर्वाचन आचारसंहिता अनुसार कात्तिक १८ बाट मात्रै चुनावी सभा गर्न पाइनेछ । अहिले भने २५ जनासम्मको समुहमा मतदाताको घरदैलो कार्यक्रम भने गर्न सक्ने भएकाले सोही अनुसार दल र उम्मेदवार मतदाताकोमा पुग्न थालेका छन ।

तनहुँमा चुनावी गतिविधि उल्लेख्य मात्रामा देखिएको छैन । गत २३ कात्तिकमा उम्मेदवारी दर्ता गर्ने समय सदरमुकाम दमौली र शुक्लागण्डकीको दुलेगौंडामा गठबन्धन, एमाले, अन्य दल तथा स्वतन्त्र उम्मेदवार समर्थकको सामान्य र्‍याली देखेका मतदाताले निर्वाचनको झल्को महसुस गरेका थिए । ठाउँठाउँमा आमसभा, भोजभतेर हुन्थे । बाजागाजा, र्‍याली र नाराबाजी हुन्थे । चुनावको छुट्टै रौनक हुन्थ्यो तर अहिले चुनाव आएको हो कि होइन सर्वसाधारणले सहजै भेउपाउन सकेका छैनन् ।

राजनीतिक दल र उम्मेदवारले प्रचारशैली बदलेका छन् । नाराबाजी, बिरोध र समर्थन, चुनावी सभामा सवारीसाधनको प्रयोग, शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायतलाई आचारसंहिताले रोक लगाएसंगै प्रचारको शैली बदलिएको छ । उम्मेदवारले प्रचारलाई सामाजिक सञ्चाल केन्द्रित गर्दै कोठे भेला, आन्तरिक तयारी, घरदैलो लगायतमा लागेका छन् ।

उम्मेदवार तथा समर्थकहरुले अहिले प्रचार गर्ने शैली फेरेका छन् । प्रचारप्रसारका लागि बढिमात्रमा अहिले प्रविधिको प्रयोग बढ्दै गएको छ । ‘युगसुहाउँदो शैली नअपनाए मतदाता आकर्षित गर्न सकिँदैन’, नेकपा एमाले तनहुँका उपाध्यक्ष हरि कडेल बताउँछन् । उनले भने, ‘पहिलाजस्तो भाषण गरेर, एकअर्काको बिरोध गरेर कसैले मत दिनेवाला छैनन् । आफ्ना एजेन्डा मतदातालाई जानकारी गराउने हो ।’

उनका अनुसार प्रदेश र संघका उम्मेदवार घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त सिग्देलका अनुसार आचारसंहिता पालना मात्रै नभएर युवा मतदाताले अधिक प्रयोग गर्ने सामाजिक सञ्जालको प्रयोग गरेर प्रचारमा तीव्रता दिइएको छ । ‘गठबन्धन दलका छलफल, भेला र अन्तरक्रिया भइरहेका छन्,’ उनले भने, ‘मान्छे भेला पारेर भाषण गरेर मात्रै मत बढ्ने होइन ।’ उम्मेदवारले व्यक्तिगत र आफ्ना दलका पालामा भएका विकासनिर्माणका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्दै मतदाता प्रभावित पार्न लागिपरेका छन् ।

तनहुँका उम्मेदवारहरू गाउँ छिर्न थालेका छन् । प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनबाट अलग्गिएर नेकपा एकीकृत समाजवादीले आफ्नै उम्मेदवार उठाएको छ । गठबन्धनमा कांग्रेस र माओवादी मात्र सहभागी छन् । उनीहरू आ-आफ्नो उम्मेदवार लिएर मतदातासँग भेटघाट सुरु गरेका छन् । अन्य राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार पनि यतिबेला मतदाताको घरदैलोमै व्यस्त छन् ।

निर्वाचन क्षेत्र नं. १ को देवघाट गाउँपालिका र भानु नगरपालिका तथा क्षेत्र नं. २ को मादीखोला पारीको केही स्थानमा मतदातासँग भेटघाट कार्यक्रम गरेको कांग्रेस तनहुँका सचिव खनालले बताए । सत्ता गठबन्धनबाट घरदैलो कार्यक्रममा तनहुँ-१ का उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, १ (१) का उम्मेदवार कांग्रेसका अशोककुमार श्रेष्ठ र १ (२) का उम्मेदवार माओवादीका हरिबहादुर चुमान लागिपरेका छन् ।

खनालले भने, ‘अहिले हामीले पालिकास्तरीय भेटघाट कार्यक्रमलाई अगाडि बढाएका छौं । अब एकदुइ दिनमै वडास्तरीय भेटघाट कार्यक्रम अगाडि बढाउनेछौं ।’ एउटा पार्टीको व्यानर र एक/एकवटा पार्टीको झन्डा लिएर जनतामाझ पुगेको उनी बताउँछन् । उनले थपे, ‘खाली हात जाँदा जनतालाई को आयो को गयो हुने भएको थियो । दुइ दिनअघि निर्वाचन कार्यालयले एउटा पार्टीको झन्डा र एउटा ब्यानर लिएर हिँड्न अनुमति दिएपछि सोहीअनुसार घरदैलो गरिएको हो ।’

मतदाता भेटघाटको कार्यक्रम तीव्रताका साथ अगाडि बढाइएको एमालेबाट तनहुँ-१ मा उम्मेदवारी दिएका एकबहादुर रानाले बताए । घरदैलो गर्दा मत मात्र नमागी मतदाताको आशा, आकांक्षा पनि सुनेको र मतदाताले सोचेको विकासलाई पूर्णरूप दिने रानाले बताए । तनहुँ-१ का स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी पनि घरदैलोमा व्यस्त छन् । यता नेकपा एस भने प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनबाट बाहिरीएर आफ्नै उम्मेदवार उठाएर मत माग्न घरदैलो गरिरहेको जिल्ला अध्यक्ष श्रीराम कार्कीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker