शुक्लागण्डकीमा “एक घर, दस कफीका बिरुवा” अभियान

तनहुँको शुक्लागण्डकीको वडा नं. १० मा ‘एक घर, दस कफीको बिरुवा’ लगाउने अभियान सञ्चालन गरिने भएको छ । वडाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै व्यवसायीक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन लागेको हो ।
१ हजार १५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा करिब १० हजार कफीका बिरुवा वितरण गर्न लागिएको छ । युवासंग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यवसायीक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट क्षेत्रका रुपमा बिकास गर्न लागिएको वडा अध्यक्ष राजेन्द्र भट्टराइ क्षेत्रीले बताए ।
स्थानीय बजारदेखि अन्तराष्ट्रिय बजारसम्म नेपाली कफीको अत्याधिक माग भएको र बादर लगायत वन्यजन्तुबाट कम क्षति हुने नगदे बाली भएकाले स्थानीय किसानहरु व्यवसायीक कफी खेती तर्फ आकर्षित गराउन यो अभियान अगाडि ल्याइएको वडा अध्यक्ष भट्टराइले बताए ।
कफीको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गरिने भएको छ। किसानलाई प्रबिधि बिस्तार सहयोग गरिने र उत्पादित उपजको बजारीकरणको जिम्मा कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासंग समन्वय गरिने भएको छ ।
शुक्लागण्डकी नगरपालिकाको युवासंग उपप्रमुख कार्यक्रम र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यस अघि व्यवसायीक अदुवा खेती अभियान समेत सञ्चालन गरिएको थियो ।
बढ्दो बसाइँसराइले गाउँ खाली हुँदै गएको, उर्वर खेती योग्य जमिन बाँझो हुँदै गएको अवस्थामा कफी खेतीबाट बाँझो जमिनको सदुपयोग हुनका साथै किसानको आयआर्जनमा समेत टेवा पुर्याउने यो अभियानको मुख्य उद्देश्य रहेको नगरप्रमुख कृष्णराज पण्डितले बताए ।










