सीपले आत्मनिर्भर बनाउँछ : अध्यक्ष श्रेष्ठ
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सीपले आत्मनिर्भर बनाउने बताएका छन् । सीप जीवनयापनको मेरुदण्ड भएको बताउँदै अध्यक्ष श्रेष्ठले सीप सिकेर व्यवसाय गर्न र उद्यमी बन्न आग्रह गरेका छन् ।
गाउँपालिकाले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) व्यवहारिक सिकाईको समापनमा गर्दै अध्यक्ष श्रेष्ठले सानो सानो लगानी गरेर सीपको व्यवहारिक सिकाईपछि प्राप्त तालिम जीवन उपयोग हुने बताए ।
‘आफुले जानेको सीपको निरन्तरतामा ध्यान दिएमा यसले अन्तत प्रतिफल दिन्छ’, अध्यक्ष श्रेष्ठले भने, ‘समाज समृद्ध बनाउनका लागि उत्पादन र आत्मनिर्भर बिना सम्भव नहुने हुँदा हरेक सीप समुहमार्फत गर्दा त्यसले सकारात्मक प्रभाव पार्ने छ ।’
गाउँपालिकाले वडा नं. ७ को स्वामीभन्ज्याङ्गमा नयाँ पशु उद्यमी तर्फ कृषि तथा पशु पालन तालिम अन्तर्गत १० जना कृषकलाई ७ दिने तालिम दिएको थियो । क्रिस्टलको गहना तथा फाईवरका माला बनाउने तालिममा १६ जना स्थानीय महिलाहरुलाई व्यवहारिक सिकाई तालिम दिएको गाउँपालिकाका मेडपाका फोकल पर्सन प्रदीप न्यौपानेले बताए ।
कार्यक्रममा क्रिस्टलको गहना तथा फाईवरका माला बनाउने तालिम लिएका विनु परियारले तालिमले आफुलाई हौसला मिलेको र चाडै नै व्यवसायिक उत्पादनमा लाग्ने बताइन । उनले भनिन्, ‘गरे हुने रहेछ, अहिले सबै तालिममा सिकेको माला बनाउन सकिन्छ ।’
प्रशिक्षार्थी कानुमाया थापाले सिप विकास तालिमले अब आफुलाई केही गर्ने जाँगर र आत्मवल मिलेको बताइन् । उनले तालिममा सबै कुरा सिकेको छु, तर त्यसलाई निरन्तरता दिन सकिदैन कि भन्ने चिन्ता लागेको बताइन् ।
म्याग्दे-७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा र पालिकाले विभिन्न जनलक्षित कार्यक्रम ल्याएको हुँदा त्यसको उपयोग गरेर स्वनिर्भर बन्न र सल्लाह सुझाव दिन आग्रह गरे । वडामा पकेट तरकारी खेतीको कार्यक्रमको लागि अन्तरक्रिया गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए ।
आठ दिनसम्म व्यवहारिक सिप सिकाई कार्यक्रममा सहभागीहरुलाई वरमाला पोते, क्रिस्टलको मोतीको चुरा, फुलमालाको पोते, क्रिस्टलको टप, फाइवरको माला, रानीहार, दुवोमाला बनाउने सीप सिकाइएको एक कुमार श्रेष्ठले बताए ।










