अण्डाले मूल्य नपाउँदा तनहुँका कुखुरापालक कृषक समस्यामा

भञ्ज्याङ न्यूज

उत्पादन गरेका अण्डाले उचित मूल्य नपाउँदा समस्यामा परेको तनहुँका व्यावसायिक कुखुरापालन कृषकले गुनासो गरेका छन् ।

उनीहरुले फार्मबाट प्रति ‘अण्डा’ रु ५.६० मा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका बताएका छन् । उत्पादन गर्दा रु १३.८१ लागत पर्ने र बजारमा रु ८.२१ मा बिक्री गर्नुपर्दा व्यवसायी चर्को मर्कामा परेका हुन् ।

व्यास नगरपालिका-११ बेल्टारीस्थित खड्का पोल्ट्री फार्मका सञ्चालक राजु खड्काले २१ रोपनी क्षेत्रफलमा २० हजार लेर्यस जातका कुखुरा पाल्दै आएका छन् । करिब रु सात करोड लगानी गरी व्यवसाय थालेका उनले करिब दश हजार कुखुरा मरेको र १० हजारमध्ये आठ हजार पाँच सय कुखुराले अण्डा दिन थालेको तनहुँ अण्डा उत्पादक संघका उपाध्यक्ष समेत रहेका खड्काले बताए ।

दैनिक आठ हजार पाँच सय कुखुराले अण्डा दिँदा प्रतिअण्डा रु ५.६० का दरले अहिले दैनिक रु ४७ हजार छ सय घाटा बेहोर्नुपरेको उनको दुखेसो छ ।

विसं २०७९ असारदेखि हालसम्म रु एक करोड ९७ लाख घाटा भइसकेको छ । उनले भने, “विचौलियका कारण कृषकले उचित मूल्य नपाएको र उपभोक्ताले पनि सस्तो मूल्यमा उपभोग गर्नबाट बञ्चित भएका छन् ।”

सरकारले उत्पादन लागतका आधारमा मूल्य कायम गर्नुपर्नेमा पशुपालन व्यवसायीको माग रहेको छ । दाना चोकरको मूल्य आकासिएको र कृषकले उत्पादन गरेका वस्तुको मूल्य यथावत नै हुँदा व्यवसायी चर्को मारमा परेको व्यवसायीको गुनासो छ ।

भानु नगरपालिका-६ स्थित नविन पोल्ट्री फार्मका सञ्चालक नरेन्द्रबहादुर चन्दले व्यवसाय घाटामा चलाउनुपर्दा कामदारलाई तलब, बैंक किस्ता र गाडीको किस्तासमेत तिर्न नसकिएको बताए। उनको फार्ममा अहिले तीन हजार कुखुरा रहेकामध्ये दुइ हजार छ सयले अण्डा दिइरहेका छन् ।

अनुदान सुकिलामुकिला र पहुँचवालाले मात्रै पाउने गरेको आरोप लगाउँदै उनले भने, “सरकारले कृषकलाई चल्ला, अण्डा र दानामा अनुदान दिनुपर्दछ ।”

जिल्लामा स्थानीय, उन्नत र लेर्यस गरी करिब रु साढे दुइ करोड बराबरको अण्डा रहेको बताइएको छ । जिल्लामा प्रतिव्यक्ति प्रतिवर्ष ४८ अण्डा आवश्यकपर्ने भए पनि उत्पादन प्रतिव्यक्ति प्रतिवर्ष८४ वटा पुगेको छ ।

तनहुँमा २५५ पशुपालन फार्म दर्ता भए पनि व्यावसायिक कुखुरा फार्म करिब ४० वटा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले बताए । जिल्लामा अण्डा, दूध र बंगुरको मासुमा आत्मनिर्भर भई बाहृय जिल्लामा निर्यात गर्न सफल हुँदै आएको छ । कृषकको लागत मूल्य अनुरुपको बजार मूल्य नपाउँदा बिक्रीवितरणमा न्यून आएको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker