दाताको सहयोगमा ज्येष्ठ नागरिक आश्रम सञ्चालन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासंघ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरी विहीनलाई सहारा दिएर पालनपोषण गरिरहेको महासंघ तनहुँका उपाध्यक्ष बलबहादुर रानाभाटले जानकारी दिनुभयो ।

“जसको घरजग्गा छैन, जसको छोराछोरी हुनुहुन्न त्यस्ता ज्येष्ठ नागरिकलाई आश्रमले आश्रय दिइरहेको छ”, उहाँले भन्नुभयो। आश्रममा रहेका ज्येष्ठ नागरिक आफैँले तरकारी उत्पादन गर्नुहुन्छ । आश्रममा आठ गाई पालिएको छ । गाईको स्याहारसुसार पनि ज्येष्ठ नागरिकले गर्दै आउनुभएको छ । “आश्रम नजिक रहेको जग्गामा आफैँले तरकारी उत्पादन गर्नुहुन्छ, तरकारी बाहिरबाट किन्न पर्दैन”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई बिहान-बेलुका नै दूधको व्यवस्था गरिएको छ ।”

आश्रमका हरेक कोठामा नुहाउनका लागि तातोपानीको व्यवस्था गरिएको छ । यसका लागि आश्रममा सोलार जडान गरिएको छ। उक्त आश्रम दाताको सहयोगमा सञ्चालित छ । सरकारी तवरबाट कुनै सहयोग नरहेको र विभिन्न व्यक्ति तथा संघसंस्थाको चन्दाबाट आश्रम सञ्चालनमा सहयोग पुगेको रानाभाट बताउनुहुन्छ । व्यास नगरपालिका-५ चापाघाटमा विसं २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो ।

आश्रममा हाल तीन जनाले आश्रय लिइरहनुभएको छ । आश्रम सञ्चालनका लागि मासिक करिब रु ३५-४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ । दाताको सहयोग विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिनुभयो ।

“व्यक्तिले जन्मदिन, पुण्यतिथिलगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगका कारण आश्रम सञ्चालनमा कठिनाइ भएको छैन”, उहाँले भन्नुभयो । विभिन्न पेसा व्यवसायमा आबद्ध महिला संगठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उहाँले बताउनुभयो ।

तीस जना महिलाबाट सुरु भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य संख्या तीन सय ३० पुगेको छ । असहाय एवं आर्थिकरूपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको जनाइएको छ । स्थापनाकालमा ३० महिलाले रु एक-एक हजार उठाएर रु ३० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो ।

आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायतका सहयोग व्यक्ति तथा संघसंस्थाले गर्दै आएको आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिनुभयो। “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न संघसंस्थामार्फ आश्रमलाई सहयोग प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।”

उहाँका अनुसार आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको छ । विसं २०७२ मा आयोजना गरिएको महायज्ञबाट संकलन भएको रकमले दुइ रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker