म्याग्देको माटोमा पोटासको मात्र कम, नाईट्रोजन र फस्फोरसको मात्र मध्यम

तनहुँको म्याग्दे गाउँपालिकाले विभिन्न १६० स्थानको माटो परीक्षण गरेको छ । नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासंगको समन्वयमा गरिएको उक्त माटो परिक्षण शिविरमा पालिकाका सातै वडाको माटो परीक्षण गरिएको छ ।
पालिकाको कृषि शाखाको आर्थिक वर्ष २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत माटो तथा मल परीक्षण प्रयोगशाला, पोखराको प्राविधिक सहयोगमा गरिएको माटो परीक्षणमा ६० वटा नमुना माटोको रिपोर्ट आईसकेको छ भने १०० माटोको नमुना भने माटो तथा मल परीक्षण प्रयोगशाला पोखरामा परिक्षण भईरहेको कृषि शाखाका प्रमुख रुक्मिता घिमिरेले बताइन् ।
प्राप्त रिपोर्टमा म्याग्देको अधिकांश माटोमा पोटासको मात्रा कम रहेको देखाइएको छ । यहाँको माटोमा खाद्य तत्व नाईट्रोजन र फस्फोरसको मात्रा भने मध्यम रहेको देखाइएको प्रमुख घिमिरेले बताइन् ।

माटो विज्ञ उमेश सापकोटा, खुवराज वराल, प्राविधिक सहायक सरास्वती वास्तोला लगायतका टोलीली म्याग्दे गाउँपालिका क्षेत्रको माटो परीक्षण गरेका थिए ।
जथाभावी रसायनिक मलको प्रयोग तथा चाहिने भन्दा कम प्रयोग गर्नाले वालीलाई नकारात्मक असर पर्न गई उत्पादकत्व पनि घट्न जाने हुँदा यसको सन्तुलित प्रयोग कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले गाउँपालिकाले कृषकको माटो निःशुल्क परीक्षण गर्ने शिविर सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।
किसानलाई आफनो खेतवारीको माटोको अवस्था कस्तो छ, आवश्यक खाद्यतत्व पुगेको छ या छैन, माटो अम्लिय वा क्षारिय के छ भनि माटोको नमुना परीक्षणबाट रिपोर्ट प्राप्त भईसकेपछि कृषकलाई जानकारी गर्राईने उनले बताए ।











