तनहुँ-१ उपनिर्वाचन : ९ जनाको उम्मेदवारी दर्ता, कांग्रेस, एमाले र रास्वपा बीच रोचक प्रतिस्पर्धा
भञ्ज्याङ न्यूज

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार विभिन्न ९ वटा दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा २०८० वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको उम्मेदवारी दर्ता गर्ने समय भित्र विभिन्न दलका ९ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, नेकपा एमालेबाट र्सर्वेन्द्र खनाल, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी -समाजवादी)बाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नेपाली कांग्रेसबाट गोविन्द भट्टराइ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवार दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यी मध्ये एक जना मात्र महिला उम्मेदवार रहेकी छन् ।
तनहुँ-१ निर्वाचन क्षेत्रको ४२ वडाका ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र कायम गरिएको छ । एक लाख २३ हजार ३०५ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा अहिले नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।
सत्ता साझेदार दलबाट उम्मेदवारी मनोनयन दर्ता गराउ“दै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले आफूलाई रामचन्द्र पौडेलको उत्तराधिकारीको रुपमा प्रस्तुत गरेका छन् । भट्टराइले सत्ता गठबन्धन र कांग्रेसभित्र व्याप्त अन्तरकलह अहिले नभएको दाबी गरेका छन् ।

साइत हेराएर दिउँसो ३:१४ बजे उम्मेदवारी दर्ता गर्न पुगेका भट्टराइको प्रस्तावकमा रघुनाथ पौडेल र र्समर्थकमा सरिता गुरुङ रहेका छन् । आफु अन्य पार्टी र अवसरको खोजीमा नहिडेको र आफ्नै पार्टी भित्र संघर्ष गरेर अगाडि बढ्ने बताउ“दै तनहुँका जनताले मेरो कामको मूल्याङ्कन गरी निर्वाचित गराउनेमा आफु विश्वास्त रहेको बताएका छन् ।
यस्तै, मुख्य प्रतिस्पर्धी रहेको नेकपा एमालेबाट र्सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् । खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन् । उम्मेदवार मनोनयन दर्तासंगै उम्मेदवार खनालले आफु देश र राष्ट्रको सेवा गर्दै आएको र आगामि दिनमा पनि सेवा गर्ने उत्कट अभिलाशा यो निर्वाचनले पुरा गरिदिनमा आफु विश्वास्त रहेको बताएका छन् ।

‘तनहुँको भूगोल, यहाँको समस्या र आवश्यकताका विषयमा आफु जानकार छु’, उनले भने, ‘मेरा विगतका योग्दान र आगामि दिनमा गर्ने कामको मूल्याङ्कन गरी मतदाताले विजयी गराउनेमा आफु विश्वास्त छु ।’
यस्तै, तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० वैशाखको उपनिर्वाचन नयाँ युगको आव्हान गर्ने दिन भएको बताएका छन् । उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरेसंगै उनले २०८० वैशाख १० नयाँ युगको आव्हान गर्ने दिनको रुपमा लिएको बताए ।

नेपालमा सुशासन नरहेको र कुशासन भएको बताउँदै उनले तनहुँ जिल्लाबाट गर्व गर्न लाइकको सांसद बन्ने मेरो दृढ विश्वास रहेको बताएका छन् । ‘अहिलेको राष्ट्रिय मुद्दा तथा अर्थतन्त्रसंग सम्बन्धित विषयले नेपाललाई अल्झाई राखेको छ’, उनले भने, ‘हाम्रो प्रणालीहरु असाध्यै भत्किएका, किनबेच र सेटिङका कुराहरु भएका तथा सार्वजनिक संस्थानहरुमा क्षयीकरण भएको छ । यी प्रणाली भत्किएकाले नेपाल उभो लाग्न कठिन भएको छ ।’ देश र जनताका हितमा केही र्सार्थक हस्तक्षेप गर्न सक्छुकी भन्ने विश्वास लागेर तनहुँमा निर्वाचन लढ्न आएको बताए ।

मंसिर ४ गतेको निर्वाचनमा यस क्षेत्रमा एक लाख २३ हजार ४९० मतदाता रहेकोमा ६६ हजार ९६५ मत खसेको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेलले २५ हजार ३१८ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी नेकपा (एमाले)का एकबहादुर रानाले १९ हजार ९४३ मत प्राप्त गरेका थिए ।










