३२औं विश्व आदिवासी दिवस : मातृभाषाको महत्वबारे वक्तृत्वकला

दमौली : ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् तनहुँले शनिबार दमौलीमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
‘सरकारी कार्यालयको कामकाजमा मातृभाषाको आवश्यकता र महत्व’ विषयमा माध्यमिक तहका विद्यार्थीबीच भएको वक्तृत्वकला प्रतियोगितामा पञ्चमुनीदेव माध्यमिक विद्यालय, दुलेगौडाकी पुनमसिंह ठकुरी प्रथम भएकी छन् । आदिकवि भानुभक्त माध्यमिक विद्यालयकी समीक्षा थापा द्वितीय र सत्यवती माध्यमिक विद्यालयकी जेसिका पाण्डे तृतीय भएका छन् ।
त्यस्तै चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयकी सुरक्षा तिमिल्सिना, मिन माध्यमिक विद्यालयकी गङ्गा बानियाँ र आदिकवि माध्यमिक विद्यालयकी ससिता केसीले सान्त्वना स्थान हासिल गरेका छन्।
प्रतियोगितामा जिल्लाका १७ विद्यालयबाट ३१ जना विद्यार्थीको सहभागिता रहेको आयोजकले बताएको छ । प्रतियोगितामार्फत मातृभाषाको संरक्षण, संवर्द्धन तथा सरकारी कामकाजमा यसको प्रयोगको आवश्यकता र महत्वबारे विद्यार्थीलाई अभिमुखीकरण गराउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
परिषद्का अध्यक्ष सनम तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, परिषद्का सल्लाहकार ताराप्रसाद श्रेष्ठ, ताराराम श्रेष्ठ, यामबहादुर आले, नन्दबहादुर थापा तथा पूर्वअध्यक्ष बसुन्धरा घर्तीलगायतको सहभागिता थियो । परिषद्का वरिष्ठ उपाध्यक्ष सिद्धान्त गर्जा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जीवन गुरुङले गरेका थिए ।










