पर्यटकीय गन्तव्य बन्दै भिमादको ‘हुक्का डाँडा लिलिङकोट’

नारायण खड्का/भञ्ज्याङ

भिमाद : तनहुँको भिमाद नगरपालिका–१ हुक्कास्थित ‘हुक्का डाँडा लिलिङकोट’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र विभिन्न भू–दृश्यको मनोरम अवलोकन गर्न सकिने भएकाले लिलिङकोट स्थानीयसँगै छिमेकी जिल्लाबाट आउने पर्यटकको रोजाइमा पर्न थालेको हो ।

लिलिङकोटबाट छिमेकी जिल्ला स्याङ्जाको हरिनास गाउँपालिकाका सुन्दर डाँडा, पाखा, खेतबारी, वनजंगल तथा खोलानालाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । हरिनासको हरियो वन क्षेत्रसँगै पाल्पाका विभिन्न पहाडी भू–भागसमेत यहाँबाट अवलोकन गर्न सकिन्छ । त्यस्तै, छिमेकी घिरिङ गाउँपालिकाअन्तर्गतका घिरिङ र गजरकोटका बस्ती तथा छिमेकी वडामा रहेको बाक्लो मगर बस्ती रघु गाउँले लिलिङकोटबाट देखिने दृश्यलाई थप आकर्षक बनाएको छ ।

प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त भएकाले पछिल्लो समय दैनिकजसो आन्तरिक पर्यटक लिलिङकोट पुग्ने गरेका छन् । छिमेकी जिल्ला तथा विभिन्न सहरबजारबाट आउने पर्यटकहरू यहाँको स्वच्छ हावापानी र शान्त वातावरणमा रमाउँदै तस्बिर खिच्ने तथा केही समय प्रकृतिसँग बिताएर फर्कने गरेका छन् । सामाजिक सञ्जालमा लिलिङकोटका दृश्य तथा भ्रमणका तस्बिरहरू सार्वजनिक हुन थालेपछि यसको चर्चा अझ बढ्दै गएको छ ।

पर्यटकको आवागमन बढेसँगै लिलिङकोटको संरक्षण तथा व्यवस्थापनमा स्थानीयको चासोसमेत बढेको छ । विशेषगरी पर्यटकीय गतिविधिसँगै फोहोर बढ्न सक्ने भएकाले स्थानीयवासीले फोहोर व्यवस्थापन, स्वच्छता कायम तथा पर्यटकीय क्षेत्रको दीर्घकालीन संरक्षणका विषयमा छलफल र सरसल्लाह गर्न थालेका छन् ।

स्थानीयस्तरमा चर्चामा आउन थालेको लिलिङकोटलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भिमाद नगरपालिकाको योजनाबद्ध पहल आवश्यक देखिएको छ । पर्यटकको आकर्षण बढ्दै गएको अवस्थामा आवश्यक पूर्वाधार निर्माण, वातावरण संरक्षण र ऐतिहासिक तथा सांस्कृतिक पक्षको प्रवर्द्धनलाई सँगसँगै अघि बढाउनुपर्ने स्थानीयको माग छ ।

तत्कालका लागि लिलिङकोटमा फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान निर्धारण गरी नियमित व्यवस्थापन गर्ने, खानेपानीको व्यवस्था गर्ने, पर्यटक तथा स्थानीयका लागि पिकनिक हल निर्माण गर्ने र पैदल यात्रालाई सहज तथा सुरक्षित बनाउन व्यवस्थित पदमार्ग निर्माण गर्नुपर्ने देखिन्छ । यस्ता आधारभूत पूर्वाधारले पर्यटकको बसाइलाई सहज बनाउनुका साथै लिलिङकोटको पर्यटकीय सम्भावनालाई थप विस्तार गर्न सहयोग पुग्नेछ ।

लिलिङकोटको अर्को महत्वपूर्ण पक्ष यसको ऐतिहासिक तथा राजनीतिक पहिचानसँग जोडिएको छ । स्थानीयका अनुसार यो क्षेत्र जनवादी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका हिमाल (मनबहादुर दवाडी) को गाउँ तथा विकास (रामभक्त सिग्देल)को छिमेकी क्षेत्रसँग जोडिएको भूगोल भएको बताइन्छ । राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका लागि जीवन बलिदान गरेका सहिदहरूको योगदानसँग जोडिएको यस क्षेत्रलाई पर्यटनसँगै इतिहास र स्मृतिको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना छ ।

यसका लागि लिलिङकोटमा सहिद हिमाल र सहिद विकासको स्मृति र सम्मानमा सहिद पार्क निर्माण गर्नुपर्ने आवाजसमेत उठेको छ । सहिदहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने तथा लिलिङकोटको पर्यटकीय पहिचानलाई थप फराकिलो बनाउने माध्यमका रूपमा सहिद पार्क निर्माण गर्न सकिने स्थानीय बताउँछन् ।

प्राकृतिक सौन्दर्य, मनोरम दृश्यावलोकन, शान्त वातावरण र ऐतिहासिक महत्वलाई एकीकृत गरी विकास गर्न सके लिलिङकोट भिमादको मात्र नभई तनहुँकै आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ । त्यसका लागि स्थानीय समुदायको सहभागिता, सहिद परिवारको सहकार्य र भिमाद नगरपालिकाको स्पष्ट योजना तथा लगानी आवश्यक हुनेछ ।

हाल सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुँदै आफैं पर्यटकीय गन्तव्यका रूपमा परिचित हुन थालेको लिलिङकोटलाई अब योजनाबद्ध रूपमा विकास र संरक्षण गर्नुपर्ने समय आएको छ । पर्यटकको आगमन बढ्दै जाँदा तत्कालीन लोकप्रियतालाई दीर्घकालीन पर्यटन विकासमा रूपान्तरण गर्न सके ‘हुक्का डाँडा लिलिङकोट’ भिमादको नयाँ पर्यटकीय पहिचान बन्न सक्ने देखिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker