राष्ट्रिय जनमोर्चाको विरोध सभा

- भञ्ज्याङ समाचारदाता (दमौली)
राष्ट्रिय जनमोर्चा तनहुँले विहीबार दमौलीमा विरोध सभा गरेको छ । ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं, भ्रष्टाचारको अन्त्य गरौं’ भन्ने मूल नाराकासाथ विरोध सभा गरिएको हो । विरोध सभा राष्ट्रिय जनमोर्चा तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठले नेकपाको सरकारले जनताको आधारभूत समस्याको हल गर्न नसक्ने, सरकारको गलत नीति तथा कार्यक्रमले जनतामा निराश छाएको र यसैको मौका छोपी राजावादीहरुले मुन्टो उठाउन खोजेको बताए ।
श्रेष्ठले भने, ‘यो नेपाली जनताको हितमा हुने छैन । तसर्थ सम्पूर्ण गणतन्त्रवादीहरु एक भएर अगाडि बढ्न जरुरी छ । संघीयताले जनतामा आर्थिक भार बढेको छ । विकास निर्माणको बजेट प्रदेश सरकारमा खर्चिएको छ । प्रदेश सरकारको कुनै औचित्य नरहेको हुँदा यसलाई तत्काल खारेज गरी प्रदेश सरकारको बजेट कोभिड-१९ को उपचार र विकास निर्माणमा खर्च गर्नुपर्दछ ।’ राष्ट्रिय जनमोर्चा तनहुँका सचिव श्रीकुमार श्रेष्ठ, सदस्य धनबहादुर परियार, सहसचिव भरत केसी लगायतले केही व्यक्तिले चाहदैमा राजतन्त्र र्फकन्छ भन्ने दीव सपना नदेख्न चेतावनी दिएका छन्।