व्यास नगरपालिकाले पराशर मार्ग निर्माण कार्यका लागि असोज मसान्तसम्म म्याद थप्यो
बैरेनी जग्गा व्यवस्थापन आयोजनामा रहेका रैतानी गुठीका रूपमा नापी भई अभिलेख कायम भएका जग्गालाई सहजिकरण गरिने

दमौली : तनहुँको व्यास नगरपालिकाको नियमित कार्यपालिका बैठकले नगरका विकास निर्माण, पर्यटन, पूर्वाधार, स्वास्थ्य तथा प्रशासनिक क्षेत्रसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ। नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले नगरको जग्गा व्यवस्थापन, पर्यटन पूर्वाधार, सडक, खेलकुद, स्वास्थ्य तथा सार्वजनिक संरचना व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।
बैठकले विश्व बैंकको सहयोगमा निर्माणाधीन पराशर मार्गको कामलाई प्रभावकारी रूपमा अघि बढाउन निर्माण व्यवसायीलाई प्रत्येक हप्ता स्वयं उपस्थित भई कार्यप्रगति विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै २०८३ असोज मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी कार्यतालिका सहितको विवरण पेस गर्नुपर्ने सर्तमा असोज मसान्तसम्म म्याद थप गर्ने निर्णय गरिएको छ ।
नगरपालिकाले वडा नं. १० स्थित बैरेनी जग्गा एकीकरण आयोजनामा रहेका केही जग्गाहरू नापीको समयमा नै रैतानी गुठीका रूपमा नापी भई अभिलेख कायम भएको देखिएकाले प्रचलित कानुनबमोजिम जग्गा विकास आयोजनाको प्रक्रियाअनुसार सम्बन्धित जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सहजीकरण गरिदिन भूमि प्रशासन कार्यालय, तनहुँलाई लेखी पठाउने निर्णय गरेको छ ।
त्यसैगरी व्यास–५ स्थित मानुङकोट पर्यटकीय ग्राममा निर्माण हुने संरचनाको दिगोपना तथा उद्यमशीलता मापनका लागि प्राविधिक सहयोग गर्न संयुक्त राज्य अमेरिका, क्यालिफोर्नियास्थित दिगो पूर्वाधारका लागि संस्था -आईएसआई)लाई अनुरोध गरिएकोमा उक्त संस्थाबाट प्रस्ताव स्वीकृत भएको जानकारी बैठकमा प्राप्त भएपछि सहयोगका लागि संस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको छ ।
व्यास–१० स्थित दुम्सीचौरमा निर्माणाधीन नोसेर तालमा तालको जग्गा मिलान गर्न केही निजी जग्गा खरिद गर्नुपर्ने देखिएकाले जग्गा प्राप्ति ऐनबमोजिम सम्बन्धित मन्त्रालयबाट अनुमतिका लागि अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नगरपालिका–३ स्थित खेलमैदानको विस्तृत निर्माण प्रतिवेदन -डीपीआर) समेत अद्यावधिक गरिने भएको छ । आर्थिक वर्ष २०७५/७६ मा तयार गरिएको डीपीआरलाई हाल प्रचलित दररेटअनुसार अद्यावधिक गर्ने निर्णय कार्यपालिकाले गरेको हो ।
यस्तै, स्वास्थ्य सेवातर्फ पोखरा, घारीपाटनस्थित हिमालय आँखा अस्पतालबाट दमौलीमा आँखा उपचार केन्द्र सञ्चालनका लागि नगरपालिकासँग सहकार्य गर्न अनुरोध भई आएकाले उक्त अस्पतालसँग सहकार्य गर्ने निर्णय भएको छ । यसबाट दमौली तथा आसपासका नागरिकलाई स्थानीयस्तरमै आँखा उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैठकले व्यास नगर युवा परिषद्को आर्थिक वर्ष २०८३/०८४ को गठनका लागि १५ दिने सूचना प्रकाशन गरी प्राप्त नामहरूलाई कार्यविधिअनुसार सिफारिस गर्ने कार्यका लागि नगर खेलकुद समितिलाई संयोजनको जिम्मेवारी दिने निर्णय गरेको छ ।
नगरपालिकाको अनुरोधमा सार्वजनिक पेटीमा रहेका संरचना हटाउन सहयोग गर्ने सम्पूर्ण घरधनीलाई धन्यवाद ज्ञापन गर्दै बाँकी रहेका संरचना हटाउने कार्यका लागि कार्यालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय पनि कार्यपालिकाले गरेको छ ।










