भूसंरक्षण दिवसमा व्यासको भादगाउँ खानेपानी क्षेत्र वरपर बिरुवा रोपियो

दमौली : ५२औँ भूसंरक्षण दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको खानेपानी संकलन ट्याङ्की क्षेत्र वरपर वृक्षारोपण गरिएको छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँ र भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजनामा तथा डिभिजन वन कार्यालय, तनहुँको सहयोगमा शनिबार वृक्षारोपण कार्यक्रम गरिएको हो । कार्यक्रममा करिब १ हजार १ सय विभिन्न प्रजातिका बिरुवा रोपिएको कार्यालयका प्रमुख दिवाकर पौडेलले जानकारी गराए ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका समन्वय प्रमुख शान्तिरमण वाग्लेले नेपालको भौगोलिक बनावट धेरै भिरालो रहेकाले भूक्षय, बाढी र पहिरोजस्ता समस्या बढ्दै गएको बताए । चुरे क्षेत्रको संरक्षण हुन नसक्दा तराई–मधेसमा समेत पानीको अभाव बढ्दै गएको उनले उल्लेख गरे ।
विकासका नाममा निर्माण गरिएका पूर्वाधारका कारण समेत भूक्षय, बाढी र पहिरोको जोखिम बढेको भन्दै वाग्लेले विकासका संरचनालाई वातावरणमैत्री र दिगो बनाउनुपर्नेमा जोड दिए । पर्यावरण संरक्षण र दिगो विकासका लागि भूसंरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विकाससँगै सिर्जना भएका पर्यावरणीय समस्याप्रति सचेत हुनुपर्ने बताए। पानीका मुहान सुक्ने, जलसञ्चिति घट्ने तथा सहरी क्षेत्रमा सिमेन्टेड संरचना र पूर्वाधार विस्तार हुँदा भल, बाढी र डुबानका समस्या बढ्दै गएको उनले बताए ।
बढ्दो गर्मी र वातावरणीय असन्तुलनले जलवायु परिवर्तनलाई समेत थप प्रभाव पारिरहेको उल्लेख गर्दै नगरप्रमुख न्यौपानेले भूसंरक्षण तथा वातावरण संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे ।
कार्यक्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँका प्रमुख दिवाकर पौडेलले सहजिकरण गर्दै भूसंरक्षण दिवसको आवश्यकता र महत्वबारे जानकारी गराएका थिए ।
भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सन्तबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, विभिन्न सरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, वन उपभोक्ता महासंघका अध्यक्ष, खानेपानी संस्थाका पदाधिकारी तथा कर्मचारी, स्थानीय उपभोक्ताको सहभागिता रहेको थियो ।
वृक्षारोपण गरिएको क्षेत्रमा अम्रिसो, नेपियर, बाबियो, निमारो, धुपी, वीरेन्द्र फूल, अमला, बेल, कल्की फूल र पारिजातलगायतका प्रजातिका बिरुवा रोपिएको छ ।
रोपिएका बिरुवाको संरक्षण तथा हुर्काउने जिम्मेवारी भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले लिएको जनाएको छ ।










