तनहुँ १ उपनिर्वाचन : १९ वडाको २५३८६ मत गणना, कस्ले कति मत पाए ?

भञ्ज्याङ न्यूज

तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मत गणना कार्य जारी छ । यस निर्वाचन क्षेत्रमा रहेका ४२ वडा मध्ये हालसम्म १९ वडाको मत गणना कार्य सम्पन्न भएको छ ।

२५ हजार ३६८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरी आफ्नो अग्रतालाई कायमनै राखेका छन् । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले ७ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २१९ मत प्राप्त गरेका छन् ।

उपनिर्वाचनका लागि यस निर्वाचन क्षेत्रमा महिलातर्फ ६३ हजार ७६५ र पुरुषतर्फ ५९ हजार ५४० गरी कूल १ लाख २३ हजार ३०५ जना मतदाता कायम भएका थिए । आइतबार सम्पन्न उपनिर्वाचनमा ३४ हजार ६७ महिला र २९ हजार ६९० पुरुष गरी ६३ हजार ७५७ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार उपनिर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ । गत मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो । मंसिर ४ को निर्वाचनमा १ लाख २३ हजार ४९० मतदाता रहेका थिए ।

गत मंसिर ४ गतेका आमनिर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन गरिएको हो ।

२ नगरपालिका र ३ गाउँपालिका रहेको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि ६९ मतदान स्थलमा १५२ मतदान केन्द्र कायम गरिएको थियो ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसका गोविन्द भट्टराइ, नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएका थिए ।

मंसिर ४ गतेको आमनिर्वाचनमा ४ स्वतन्त्र उम्मेदवार र ११ वटा दल गरी १५ जना यस क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका थिए । नेपाली कांग्रेस र नेकपा -एमाले) बिच मुख्य प्रतिस्पर्धा भएको थियो । उनीहरुलाई स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र राष्टिङय स्वतन्त्र पार्टीका बिकास सिग्देलले पछ्याएका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३६१ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले ६ हजार ८८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४८४, मंगोल नेशनल अर्गनाइजेशनले ३६०, राष्ट्रिय जनमुक्ति पार्टीले ३०१, हाम्रो नेपाल पार्टीले २८४, जनता समाजवादी पार्टीले २६० मत प्राप्त गरेका थिए ।

यस्तै, समानुपातिकतर्फनेपाली कांग्रेसले २० हजार १५८, एमालेले १६ हजार ६८३, रास्वपाले १२ हजार ७७३, माओवादी केन्द्रले ७ हजार ३२६, राप्रपाले ३ हजार ५७७, नेकपा -एकीकृत समाजवादी)ले ९५०, मंगोल नेशनल अर्गनाइजेशनले ४५७, राजपाले ३६१, जसपाले ३२३ मत प्राप्त गरेका थिए ।

तीन निर्वाचन क्षेत्र कायम हुँदा २०४८ मा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल ०५१ मा भने तनहुँ-२ बाट विजयी भए । त्यसपछि लगातार तीन पटक -०५६, ०६४ र ०७०) उनले तनहुँ-२ बाटै जिते ।

मुलुक संघीय संरचनामा गएसंगै तनहुँमा दुइवटा मात्रै निर्वाचन क्षेत्र कायम भएको छ । पाँच पटक जित हासिल गरेका पौडेल २०७४ मा तनहुँ-१ बाट उम्मेदवारी दिएका थिए । पौडेल तत्कालिन एमालेका कृष्णकुमार श्रेष्ठ -किसान)संग ६ हजार मतान्तरले पराजित भएका थिए । हाल एकीकृत समाजवादीमा रहेका श्रेष्ठ सत्ता गठबन्धनबाट बारा-४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा देवघाट, आँवुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिकाका, व्यास नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३, १४ वडा रहेका छन् । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रको व्यास नगरपालिका र भानु नगरपालिकाको प्रमुख उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष उपध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित छन् । बन्दिपुरको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै, प्रदेश सभा सदस्यमा तनहुँ निर्वाचन क्षेत्र नं. १ क मा नेपाली कांग्रेसका उम्मेदवार अशोक कुमार श्रेष्ठ र ख मा नेकपा माओवादीका उम्मेदवार हरि चुमान निर्वाचित भएका छन् ।

यस क्षेत्रमा ४२ वटा वडा छन् । जसमध्ये २६ वटा वडामा नेपाली कांग्रेस, ९ वटा वडामा नेकपा एमाले, ५ वटा वडामा माओवादी केन्द्र र २ वटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker